कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल्लोका सामान बुनेर दैनिकी

कान्तिपुर संवाददाता

बागलुङ — ताराखोला गाउँपालिका ५ की वडा सदस्य सपनादेवी बुढा उमेरले ५५ वर्ष पुगिन् । बुढ्यौली लागे पनि वडा सदस्यका रूपमा गर्ने जनप्रतिनिधिको कामसँगै उनको व्यस्तता व्यवसायमा पनि छ । तन्नेरीझैं उनले दैनिक धेरै काम भ्याउँछिन् ।

अल्लोका सामान बुनेर दैनिकी

जंगलमा पुगेर चाल्ने सिस्नो (अल्लो) ल्याउने, प्रशोधन गर्ने र धागो कात्ने काममा उनको दैनिकी बित्छ । २० वर्षदेखि उनी यो पेसामा रमाइरहेकी छन् । जंगलमा प्रशस्त पाइने अल्लो संकलन गरेर ल्याएपछि त्यसलाई कातेर बनाइने धागोको माग बढेकाले कामलाई निरन्तरता दिएको बताइन् । अल्लोका कपडा झट्ट हेर्दा आकर्षक नदेखिए पनि बलियो र गुणस्तरीय हुने भएकाले धेरैले रुचाउँछन् । सिस्नोको लोक्ता निकालेपछि पिठो मिसाएर पकाउने, खोलामा लगेर पखाल्ने, कुटेर धुलो पार्ने र सुकाएपछि कातेर धागो निकाल्ने चरण पूरा भएपछि मात्र अल्लोका कपडा बुन्न मिल्छ । ‘काम सजिलो छैन तर, जंगलको सिस्नोलाई कपडा बनाएर बजारमा बेच्दा राम्रो कमाइ हुन्छ,’ बुढाले भनिन्, ‘जैविक उत्पादनको कपडाबाट आम्दानी र रोजगारी पनि मिलेको छ ।’


ताराखोला ४ लेबाङस्थित जुनतारा साना लघु उद्यम समूहमा बुढा सहितका १४ उद्यमी महिला सहभागी छन् । हरेकले वर्षेनी अल्लोका धागो कातेर २ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउँछन् । ‘घरघरमा उद्यमी बनाउने अभियानमा अल्लोका समूहले पनि साथ दिएका छन्,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउने अभियानमा वडा र टोलटोलमा नयाँ प्रकारका उद्यम सञ्चालनमा पहल गरेका छौं ।’ लेवाङ जस्तै सोनाम अल्लो कपडा उत्पादन समूहमा पनि १५ जना भन्दा धेरै महिला उद्यमी आबद्ध छन् । उनीहरूले धागो कात्ने मात्र नभई कपडा बुन्ने काम गर्छन् । पछ्यौरा, स्वेटर, कोट, झोला र सल बनाइरहेका उद्यमीले अल्लोकै जुत्ता पनि बनाउन थालेका छन् ।


बजारमा अल्लोको जुत्ताले निकै चर्चा पनि पाएको छ । अल्लो कपडा मात्र प्रयोग गरेर जुत्ता बनाएर बिक्री गरेको समेत देशमै पहिलो भएको उनीहरूले दाबी गरेका छन् । यहाँ पुरुषलाई प्रयोग हुने वस्तु पनि उत्पादन सुरु भएको हो । ‘नयाँ उत्पादन र पुरुषहरूले पनि प्रयोग गर्न मिल्ने अल्लो सामग्री बनाउन जुत्ता बनाउन सुरु गरेका हौं,’ सोनाम अल्लो समूहकी सदस्य भीमा रोकाले भनिन्, ‘पहिलोपटक भएकाले धेरै बनाएका छैनौं । अर्को वर्ष बढाउँदै लैजाने योजना छ ।’ उनीहरूले २५ सय रुपैयाँमा अल्लोको जुत्ता बिक्री गरिरहेका छन् । लेबाङका समूहमा आबद्ध धेरै महिलाले सोनाम समूहमा धागो दिने गरेको अध्यक्ष जसमती रोकाले बताइन् ।


ताराखोलामा मात्र अल्लोको धागो कात्ने, कपडा बुन्ने लगायतको काम गर्ने ३० महिला उद्यमी छन् । अल्लो प्रशोधनको क्रममा सघाएर रोजगारी पाउने ५० जनाभन्दा बढी छन् । परिवारका अन्य सदस्यलाई पनि काम सिकाइरहेको अर्की उद्यमी दिलमाया रोकाले बताइन् । लघुउद्यम विकास कार्यक्रममार्फत दशक अघिदेखि ताराखोलामा धागो उत्पादन र कपडा बुन्ने काममा सहयोग भएको थियो । तालिम, घरेलु मेसिन र बजारीकरणका लागि जिल्ला लघुउद्यमी समूह संघ, संगम तालिम तथा परामर्श केन्द्र र गाउँपालिकाले सहयोग गरेको हो । गाउँपालिकाले दुवै समूहमा हाते मेसिन सहयोग उपलब्ध गराएको छ ।


‘पूर्ण रूपमा विकास भएको अल्लो संकलन गर्ने उपयुक्त मौसम मंसिर र पुस हो,’ समूहकी अर्की सदस्य पूर्णमाया बुढाथोकीले भनिन्, ‘वार्षिक हरेकले दुई/तीन लाख रुपैयाँ कमाउने बन्नुपर्छ भन्ने मान्यता राखेका छौं ।’ केही महिलाले घरधन्दामा लागेकोले सोचेजस्तो कमाइ गर्न सकेका छैनन् । समय दिएर काम गर्दा सबैले राम्रो कमाइ गर्न सक्छन् । बजारमा अल्लो कपडा प्रति मिटर ५ सय रुपैयाँ सम्म बिक्री हुन्छ । पर्यटकीय स्थानमा लैजाँदा त्यो भन्दा धेरै कमाइ गर्न सकिने सोनाम अल्लो उद्यमी समूहकी अध्यक्ष बिष्णु रोकाले बताइन् ।


सदरमुकाममा पनि अल्लो बिक्री केन्द्र स्थापना भएको छ । भकुण्डेकी यामकुमारी थापाले सञ्चालन गरेको सौगात गृहमा पाइने व्यवस्था भएपछि कर्मचारी र पाहुनाहरूले छानेर किन्ने गरेका छन् । सौगात गृहमा अल्लो सँगै ढाकाका सामग्री पनि पाइन्छन् । दिनभर काम गर्नेले ३ मिटरसम्म कपडा बुन्न सक्छन् ।


प्रकाशित : कार्तिक २८, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?