कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्वागी संस्कृति बन्यो महोत्सव

उब्जनीको पहिलो छाक विधिपूर्वक चाखेपछि बाली भित्र्याउने न्वागीको चलन महोत्सवको रूप 
कतिपय युवायुवतीले पर्वलाई विवाहका लागि जोडी खोज्ने अवसरका रूपमा लिँदै
प्रकाश बराल

बागलुङ — चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको इस्मा राज्य थियो । उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । 

उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको थियो । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइयो । न्वागी खानका लागि एकैदिन साइत जुराएर मात्र धान काट्ने चलन थियो । त्यसका लागि बन्दुक पड्काउने गरिन्थ्यो ।


उक्त धान सुकाएर कुटेपछि मंसिरको पहिलो साता न्वागी खाने चलन अझै छँदैछ । विसं १८८९ देखिको न्वागीको चलन मेलाका रूपमा गरिँदै आएको न्वागी मेला संरक्षण समिति अध्यक्ष कलाधर घिमिरेले बताए । ‘पहिले–पहिले खार बजार र दागाचउरमा मेला लाग्थ्यो, पछि एकै ठाउँमा केन्द्रित भएको छ,’ उनले भने, ‘अव्यवस्थित मेलालाई समिति र स्थानीय क्लबले व्यवस्थित बनाउने चलन थालिएको छ ।’


यो वर्षदेखि महोत्सवको रूप दिइएको उनले बताए । महोत्सव मंसिर पहिलो साताभरि चल्नेछ ।

तिहारको देउसीभैलोलाई समापन गर्ने मेलाका रूपमा समेत स्थापित भएकाले सांस्कृतिक झाँकी र नाचगान देखाउनेसमेत गरिएको स्थानीय हरिप्रसाद आचार्यले बताए ।


उक्त दिन मेला महोत्सव गरेर हर्षबढाइँ गर्ने पुरानो चलन अझै यहाँ जीवितै छ । ‘यो पर्वले बाहुन–क्षत्री, मगर र दलितको पुरानो चलनलाई धानेको छ,’ उनले भने, ‘हामीले भने जातीय मात्र नभई क्षेत्रकै पहिचानको मेला बनाएका छौं ।’ धेरै स्थानमा जनजातिको चाड संरक्षणमा रहेको र अन्यको लोप भएकोमा यहाँ बाहुन–क्षत्रीले पनि संरक्षण गरेको उनले बताए । चाड मनाउने क्रममा बाहुन–क्षत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।


न्वागीका लागि ‘जडन’ नामको रैथाने प्रजातिको धान थियो । तत्कालीन राज्यको सबैभन्दा धेरै धान उत्पादन हुने उपत्यका भएकाले यो क्षेत्रमा न्वागी पर्वले अहिलेसम्म महत्त्व पाएको जनविश्वास छ । ग्रामीण बस्ती भए पनि धान उत्पादनको राम्रो क्षेत्र भएकाले किसानहरूको वर्षभरिको मेहेनत थन्क्याउने समयमा गरिने खुसियालीलाई न्वागीको रूप दिइएको स्थानीय जीवलाल खरेलले बताए ।


‘खेतीपाती थन्क्याएपछि खुसियाली मनाउने, रामरमिता गर्ने पर्वको रूपमा यो बढी प्रयोगमा आउन थालेको हो,’ उनले भने, ‘कृषि र पर्यटन प्रवद्र्धनका लागि यो पर्व मनाइन्छ ।’ २०४६ को परिवर्तनपछि राजनीतिक नेता र कार्यकर्ताले पनि यो मेलालाई चासो दिन थालेको उनले बताए ।

बडिगाड गाउँपालिकाले पर्वलाई सबै जाति, धर्म र संस्कृति मान्नेहरूको साझा महत्त्वको बनाउन बडिगाड न्वागी मेलाको नामकरणसमेत गरेको छ । स्थानीय तहको पहिचानकै रूपमा लिन थालिएकाले मेलालाई पर्यटक भित्र्याउने मेलाका रूपमा लिइएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।


‘मेलामहोत्सवको पुरानो इतिहास संरक्षण गर्दै कलाकार, खेलाडी र अन्य पर्यटकको जमघट स्थल बनाउन लागेका छौं,’ उनले भने, ‘खेलकुद प्रतियोगिता, लोकगीत, संगीत र नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरूको जमघटमार्फत साताव्यापी महोत्सव मनाउन लागेका हौं ।’ न्वागी मेला भनेपछि दलका नेतृत्वले समेत चासो दिने गरेका छन् । मेलामै कराँते, भलिबललगायतका खेलकुद प्रतियोगिता, सोरठी, सरायलागयतका गीत र नृत्य प्रतियोगितासमेत राखिएको छ ।


कतिपय युवायुवतीले यो पर्वलाई विवाहका लागि जोडी खोज्ने अवसरका रूपमा पनि लिन्छन् । ‘टिप्पणी गर्नेले जेसुकै गरे पनि खेतीपाती भित्र्याएपछिको खुसियालीमा जोडिएको छ,’ खरेलले भने, ‘एकैदिन गाउँभरि न्वागी खाने भएकाले बढी रमाइलो पर्वको रूपमा स्थापित भएको हो ।’


विधिपूर्वक न्वागी खाँदा पाहुना बोलाउने, गीत गाउने र नाच्नेलगायतको संस्कार बसेको छ । यो पर्वलाई अश्लीलतासँग समेत जोडेर टिप्पणी पनि हुन्छ । पारिवारिक, सामाजिक, सांस्कृतिक र यौन कुण्ठालाई समेत मेलामा व्यक्त गर्ने र समाजमा फर्कंदा सभ्य भएर फर्कने पर्वको रूपमा समेत स्थापित भएको अग्रजहरू बताउँछन् ।

प्रकाशित : मंसिर १, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?