कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक सुधारको गुरुयोजना

बागलुङ — शैक्षिक गुणस्तर वृद्धिका लागि यहाँको विद्यालयले दीर्घकालीन गुरुयोजनामार्फत काम थालेको छ । काठेखोला ५ को अमर माविले गुणस्तरीय शिक्षा दिएर स्थानीय बालबालिकालाई सदरमुकाम र अन्य सहरी क्षेत्रमा जानु नपर्ने बनाएको हो । 

शैक्षिक सुधारको गुरुयोजना

शैक्षिक, व्यवस्थापकीय र सांगठनिक योजनामार्फत नमुना विद्यालयको सूचक तयार गरिएको प्रधानाध्यापक भीष्म कँडेलले बताए । विद्यार्थी आकर्षण गर्न सांस्कृतिक क्रियाकलाप र भर्ना अभियानसमेत चलाएको छ ।


गत शैक्षिक सत्रमै गण्डकी प्रदेशस्तरीय नमुना घोषित यो विद्यालयलाई दिगो बनाउन योजनाबद्ध काम थालिएको उनले बताए । ‘शैक्षिक गुणस्तर सुधार्न शिक्षण सिकाइलाई व्यवस्थित बनाइएको छ,’ उनले भने, ‘अडियो र भिडियोमार्फत विशेष शिक्षण, अंग्रेजी र नेपाली भाषाको प्रयोग र अतिरिक्त कक्षा लगायतको काम थालिएको छ ।’ कम्तीमा २ करोड लगानी गरेर आवश्यक सूचक पुरा गर्ने लक्ष्य लिइएको उनले बताए ।


भौतिक निर्माणतर्फ आवश्यक भवन थप गर्ने र प्राविधिक ज्ञानका लागि कम्प्युटर, मल्टिमिडिया र अन्य शिक्षण सिकाइका सामग्री खरिद गर्ने योजना छ । व्यवस्थापकीय सुधारका लागि कक्षा १ देखि ५ सम्मको अध्यापन र व्यवस्थापन हेर्न छुट्टै समिति गठन गरिएको छ । त्यस्तै आधारभूत, माध्यमिक र कक्षा ११ तथा १२ का लागि छुट्टै समितिले नियमित अनुगमन गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद कँडेलले बताए ।


जिल्ला भित्रका ३ विद्यालयलाई नमूना बनाउने भन्दै प्रदेश सरकारले अमर माविसहित त्रिभुवन मावि र गलकोट माविलाई कम्तिमा दुई/दुई करोड अनुदान दिने भएपछि सुधारका कार्यक्रम अघि बढाउन बल मिलेको छ । त्यसका लागि तीन चरण पार गर्नुपर्ने गरी शिक्षा विभागले सूची बनाएको छ । हाल ६ सय बालबालिका अध्ययन गर्ने अमर माविले थालेको सुधारका योजना र गुरुयोजना देखेर चालु शैक्षिक सत्रमै ५० बालबालिका विभिन्न संस्थागत विद्यालय छाडेर आएका छन् ।


विद्यालयका प्रधानाध्यापकले व्यवस्थापकीय पक्ष हेर्ने भएकाले सहायक प्रअ नियुक्त गरेर शैक्षिक सूचक हेर्ने व्यवस्थापन गरिएको छ । शिक्षक रघुपति शर्मालाई सहायक प्रअ तोकिएको कँडेलले बताए । विद्यालयको गुरुयोजना प्रदेश सरकारले स्वीकृत गरेपछि तोकिएको सबै रकम खातामा आउनेछ । हाल विद्यालयलाई ५० लाख रुपैयाँ प्राप्त भइसकेकाले प्रारम्भिक चरणका काम थालिएको व्यवस्थापन समिति अध्यक्ष कँडेलले बताए ।


वैदेशिक रोजगारीमा धेरै अभिभावक भएकाले बालबालिका लगेर सदरमुकाम र अन्य सहरी क्षेत्रमा पढाउने चलन थियो । ‘बालबालिका गाउँमै राखेर पढाउने वातावरण बनोस् भनेर यो अभियानसहित सुधारका कार्यक्रम ल्याएका छौं,’ सहायक प्रअ शर्माले भने, ‘अब प्राविधिक शिक्षाको पनि गन्तव्य बनाउने तयारी छ ।’ कृषि प्राविधिक शिक्षाका कक्षा चलाएर गाउँमै व्यावसायिक कृषिको विकासमा बल पुर्‍याउने विद्यालयको योजना रहेको उनले बताए ।


आर्थिक रूपमा विपन्न र दलितका बालबालिकालाई छात्रावासमा राखेर पढाउने व्यवस्था गर्ने, विद्यालयको आफ्नै खाजाघर बनाउने र शुद्ध खानेपानीको व्यवस्थापन समेतको काम थालिएको छ । विद्यालय हातामा हरित क्षेत्र बढाउने लगायतको योजना पनि सञ्चालनमा छ । ‘सबै विद्यालय नमुना बनून् भन्ने चाहना राखेका छौं तर, छनोटमा परेकालाई प्राथमिकता दिइएको छ,’ शिक्षा विकास तथा समन्वय प्रमुख कुश्मराज उपाध्यायले भने, ‘विद्यालयले गरेका हरेक क्रियाकलापको सुक्ष्म अध्ययन र सूचक बनाइएको छ ।’ राम्रो काम गरेका शिक्षक, अभिभावक र समितिलाई पुरस्कृत गर्ने उनले बताए ।

प्रकाशित : मंसिर २, २०७५ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?