कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा विद्युतीकरण अलपत्र

दमौली — गाउँमा बिजुलीका पोल ठडिए । गाउँलेले घरमा बत्ती बाल्न वाइरिङ पनि गरे पनि तनहुँको घिरिङ गाउँपालिका–४ का ६ बस्तीमा दुई वर्ष बित्यो, बिजुली बलेको छैन । 

गाउँमा विद्युतीकरण अलपत्र

‘पोलमा तार टाँगे, घरघरमा हाउस वाइरिङ भयो,’ स्थानीय वीरबहादुर रानाभाट भन्छन्, ‘खै के भयो पोहोर दसैंमै दिने भनेको बिजुली अझै वितरण सुरु भएको छैन । गाउँले पर्खेको पर्खेकै भए ।’ सम्पन्न परिवारका घरमा सोलार भित्रिए पनि किन्न नसक्नेहरू टुकीको भरमा बिजुलीको पर्खाइमा रहेको उनले बताए । कुटानीपिसानीका लागि गाउँले छिमेकको पुर्कोट र साभुङ जाने गरेका छन् । बिजुली नपुगेका बस्तीमा कुटानीपिसानीको मिल सञ्चालन हुन सकेको छैन ।


घिरिङ गाउँपालिका–४ को थामडाँडा, गलकोट, फुला, जितपुर, सिफलुङ, मन्दरा, रामकोट गाउँ गरी दुई सय घरधुरीमा विद्युतीकरणका लागि पोलमा तार जडान र ५० केभीएको ट्रान्सफर्मर पनि राख्ने काम भइसकेको छ । परीक्षणमा पुगेका प्राविधिकले हाल जडान गरिएको ट्रान्सफर्मर लोड धान्न नसक्ने रहेकाले फेर्न सुझाव दिएयता योजना अघि बढेको छैन ।


ग्रामीण विद्युतीकरणका लागि साबिकको जिल्ला विकास समितिले योजना अगाडि बढाएको थियो । ठेकेदारलाई जिम्मा दिइएको पोल गाड्ने र तार ताग्ने जस्ता भइसकेको छ । ‘पोल गाड्ने र तान तान्ने काम हामीले बेलैमा गरेका हौं,’ ठेकेदार दामोदर सिग्देलले भने, ‘बरु जिल्ला विकासले ढुवानी खर्च र कामदारको ज्याला अहिलेसम्म दिएको छैन ।’


अघिल्लो पटकको ३ लाख ६७ हजार रूपैयाँ भुक्तानी नदिइएपछि पूरा काम हुन नसकेको उनले बताए । ‘बिजुली बाँड्न सकिने गरी बस्तीसम्म पूर्वाधार तयार भएको छ,’ उनले भने, ‘नयाँ टान्सफर्मर, पोलको पिन इन्सुलेटर, डिस इन्सुलेटर राख्ने, ढलेको पोललाई सिधा गर्ने र प्रत्येक सामानको परीक्षण बाँकी छ । भुक्तानी रोकिएपछि काम पनि रोकिएको हो ।’ पटकपटक धाए पनि भुक्तानी पाउन नसकेपछि अगाडिको काम हुन नसकेको उनले बताए ।


ग्रामीण विद्युतीकरणको योजना ठेक्कामा दिइएयता तनहुँ जिविसमा तीनजना स्थानीय विकास अधिकारी फेरिए । जिम्मेवार अधिकारी परिवर्तनले भुक्तानी हुन नसक्दा योजना प्रभावित भएको ठेकेदारको भनाइ छ ।


जिल्ला समन्वय समितिमा रूपान्तरण भएको जिविसका सूचना अधिकारी अनिल खनाल भने ठेकेदारले ढिला गरेकाले भुक्तानी हुन नसकेको बताउँछन् । ‘काम जिम्मा दिइएको आर्थिक वर्षमा सम्पन्न नभएर भुक्तानी रोकियो,’ उनले भने, ‘अब जिविसको भूमिका फेरियो, आर्थिक वर्ष अर्कै, बजेट पनि छैन ।’ विद्युतीकरण भइरहेको क्षेत्रका स्थानीय तहलाई योजना मूल्यांकन गरेर जिम्मेवारी हस्तान्तरण गर्न सकिने उनले बताए । ‘अब त्यो योजना स्थानीय तहमार्फत अघि बढाउन सकिन्छ,’ उनले भने, ‘स्थानीय तहले योजनाको जिम्मेवारी लिने हो भने काम हुन सक्छ ।’


यता विद्युत प्राधिकरणले पूर्वाधारका काम बाँकी रहेकाले विद्युत् वितरण सुरु नभएको जनाएको छ । विद्युतीकरणका लागि आवश्यक प्रबन्ध मिलाए लाइन दिन कुनै समस्या छैन,’ प्राधिकरणको वितरण केन्द्र लेखनाथ भिमाद शाखाका इन्चार्ज तुले नगरकोटीले भने, ‘सबै सेटअप तयार भएर लाइन टेस्ट गरेपछि मात्रै वितरण सुरु हुन्छ ।’

प्रकाशित : मंसिर २, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?