कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चक्रीय पदमार्गमा महोत्सव

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिकामा सोमबारदेखि मर्स्याङ्दी  महोत्सवको रमझम सुरु भएको छ । 

चक्रीय पदमार्गमा महोत्सव

संघीयता कार्यान्वयनपछि लमजुङका आठ स्थानीय तहहरूमध्ये मर्स्याङ्दी गाउँपालिकाले पहिलोपटक महोत्सवको आयोजना गरेको हो । गाउँपालिकाभरि नै होमस्टे सञ्चालनमा ल्याएको हाे ।


मर्स्याङ्दीले पर्यटन प्रवद्र्धनका लागि भन्दै वडा २ खुदीको अमर मावि प्रांगणमा महोत्सवको आयोजना गरेको हो । महोत्सव उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन, ऊर्जा, कृषि र उद्योगबाट प्रदेशको समृद्धि खोजिएको बताए । ‘हाम्रा प्रत्येक गाउँ जीवित संग्रहालय हुन् । प्राकृतिक स्रोतसाधनलाई समृद्धिको आधार बनाइनुपर्छ,’ उनले भने ।


अबको ५ वर्षभित्र प्रदेशभित्र ५० हजारलाई रोजगारी र स्वरोजगार बनाइने भन्दै उनले यसका लागि ३ सय गाउँमा होमस्टे सञ्चालन गर्ने बताए । यसको पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा ३० करोड विनियोजन गरिएको उनले बताए ।


‘नेपालको पहिलो होमस्टे सिरुबारी, घलेगाउँ गण्डकी प्रदेशका गौरव हुन् । कृषि, उद्योग र ऊर्जालाई पर्यटनसँग जोडेर प्रदेशलाई समृद्ध बनाइनेछ,’ उनले भने, ‘यसमा नागरिकको जाँगर र योजना आवश्यक छ । हामी सहयोग गर्न तयार छौं ।’ प्रदेश सरकारले निजी क्षेत्र, गाउँपालिका र नगरपालिकासँग मिलेर जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरिरहेको उनले बताए ।


‘कृषिमा बिचौलिया छ, सिन्डिकेट छ । बाँझो जमिनलाई सदुपयोग गर्ने नीति अघि बढाएका छौं,’ उनले भने, ‘प्रदेश सरकारले ऐन बनाउने तयारी गरेको छ ।’ मोडल फर्म सञ्चालन गर्न ४० करोड बजेट विनियोजन गरिएको उनले बताए । ‘५ वर्षभित्र फलफूल र अर्को ५ वर्षभित्र सबैखाले खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना छ,’ उनले भने । प्रदेशको एउटा गाउँलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा मुख्यमन्त्री वातावरणमैत्री एग्रोभिलेज बनाइने उनले बताए । ‘हामी ५ वर्षभित्र समृद्धिको पहिलो खुड्किलोमा पुग्छौं । अबको १२ वर्षभित्र गरिबी र भोकमरीको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘योजनाको छनोट त्यसरी गरेका छौं ।’


संघीयता खर्चिलो व्यवस्थाजस्तो देखिए पनि दीर्घकालमा यसबाट जनताले लाभ पाउने भनाइ उनले राखे । संघीय सरकारले दिने ढुकुटीमा अन्याय भएको पनि उनले जिकिर गरे । ‘संघलाई ७०, प्रदेश र स्थानीय तहलाई ३० प्रतिशत दिनु यो सरासर अन्याय हो,’ उनले भने, ‘रोयल्टी आफैं राख्ने, प्रदेश र स्थानीय तहलाई कम दिने कार्यको ध्यानाकर्षण गराएका छौं ।’


कार्यक्रममा सांसद मायानाथ अधिकारी, धनञ्जय दवाडी, मधु अधिकारी, पूर्वसभासद जमीन्द्रमान घले, जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डे र बेंसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले स्थानीय तहलाई बलियो बनाउन सबैको संकल्प आवश्यक रहेको बताए । उद्घाटन सत्रमा सोमबार गुरुङ, तामाङ, ब्राह्मण, क्षत्रीलगायत समुदायमा प्रचलित सांस्कृति प्रस्तुति प्रदर्शन गरिएको थियो । महोत्सवमा छेलो प्रतियोगिता र भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।


मंगलबार मस्र्याङ्दी गाउँपालिका २ घनपोखराको भीरमा भीरमहको सिकार हुने र पर्यटकलाई लगिने भएको छ । ‘सिंगो गाउँपालिकाभित्र ८ वटा गाउँमा होमस्टे सञ्चालनमा आइसकेको छ । अब ५ गाउँमा तयारी छ । पर्यटक पाहुनालाई बजारमा होइन, गाउँमा बसेर गाउँकै अर्गानिक खान लाने कार्यक्रम छ’ महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने ।


उनका अनुसार घनपोखरा, सिउरुङ, ढगैं, भुष्मे, मिप्रा, छापालगायत गाउँमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे जानका लागि पदमार्ग रहेको र मोटरमा जानेका लागि सडकको अवस्था सुधार गरिएको उनले बताए ।


हरिबोधिनी ठूलो एकादशी पर्वको अवसर पारेर आयोजना गरिएको ३ दिने महोत्सव बुधबार सकिनेछ । महोत्सवमा धार्मिक मेला, कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रदर्शन, आर्गानिक खाना, मनोरञ्जनात्मक कार्यक्रम, वडास्तरीय दोहोरी गीत प्रतियोगिता लगायत कार्यक्रम आयोजना गरिएको छ ।


‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार । कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा ३० वटा स्टल राखिएका छन् ।


बाहुनडाँडा केबल नेटवर्कले महोत्सव अवधिभर फ्रि वाईपाई उपलब्ध गराएको छ । उद्घाटन कार्यक्रममा गाउँगाउँबाट आफ्ना मौलिक पोसाकसहित स्थानीयको बाक्लो उपस्थिति थियो ।

प्रकाशित : मंसिर ४, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?