कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटल व्यवसायमा बढ्दै लगानी

घनश्याम खड्का

म्याग्दी — जिल्लामा होटल व्यवसायमा लगानी बढ्दो छ । पर्यटकीय गन्तव्यमा नयाँ होटल खुल्ने र पुरानाले सेवा विस्तार गर्ने क्रम तीव्र छ ।

होटल व्यवसायमा बढ्दै लगानी

टोडेमा अहिले ३ करोड रुपैयाँ लागतमा सभाहलसहितको सुविधा सम्पन्न टोडे हिल रिसोर्ट निर्माणाधीन छ । रिसोर्टले पहिलो चरणमा सुविस्तासहित ३० र एड्जस्ट गरी ४५ पाहुना राख्न मिल्ने क्षमताको पूर्वाधार तयार गरेको छ ।


रिसोर्टमा सिंगापुर पुलिसका सेवानिवृत्त मीनबहादुर पाइजा, गार्मेन्ट व्यवसायी भीम शेरचनसहित ९ जनाको लगानी छ ।


त्यसैगरी प्रख्यात पर्यटकीय बस्ती घोडेपानीमा परम्परागत घर विस्थापित गर्दै सुविधासम्पन्न आधुनिक आरसीसी भवन निर्माण गर्ने होडबाजी नै चलेको छ । अन्नपूर्ण चक्रीय पदमार्गका मुख्य बस्तीका होटलको क्षमता वृद्धि अभियान नै चलेको छ ।


‘परम्परागत होटलमा पाहुना बस्न छाडे । पैसा तिरेपछि सबैले सुविधा खोज्छन्, युग सुहाउँदो बन्नुपर्ने बाध्यता छ,’ घोडेपानीमा ५ करोड रुपैयाँ लगानीमा होटल निर्माण गरिरहेका व्यवसायी सुशील गर्बुजाले भने, ‘पहाडको टुप्पोमा बस्ती भएकाले निर्माण सामग्री ढुवानीले लागत महँगो छ । प्रतिस्पर्धाले घोडेपानीमा नयाँ र आधुनिक होटल बनाउने बढेका छन् ।’


पर्यटकीय बस्तीमा मात्र होइन, गाउँपालिका केन्द्रमा नव सहरीकरण हुने क्रमसँगै होटल तथा रेस्टुरेन्ट थपिने क्रम बढेको छ । जिल्लाका विभिन्न स्थानमा होटल रेस्टुरेन्टमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लगानी पुगेको व्यवसायीले बताएका छन् ।


म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अनुसार थपिएका १५ रेस्टुरेन्टसहित १ सय ४६ होटल छन् । जिल्लामा ५ करोड रुपैयाँभन्दा बढीको लगानीमा खुलेका स्तरीय होटलको संख्या मात्र २७ पुगेको छ । सबैजसो रेस्टुरेन्टसहितका होटलहरू छन् ।


‘मोटरबाटोले मुस्ताङ र मुक्तिनाथ जोडिएपछि बढेका पर्यटक लक्षित होटलमा लगानी थपिएको छ,’ होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति अध्यक्ष गोपाल शर्माले भने, ‘पूर्वाधारसँगै सुविधाहरू समेत थपिएका छन् ।’


जिल्लाको पर्यटकीय बस्ती घोडेपानी पुनहिलका ३४ पर्यटकीय होटलमा मात्र लगानी ७० करोड रुपैयाँ हाराहारी पुगेको छ । तातोपानीका ७ पर्यटकीय ठूला होटलमा २० करोड रुपैयाँभन्दा बढी लगानी रहेको व्यवसायीले बताएका छन् । सदरमुकाम बेनीमा पनि बर्सेनि दुई/तीन करोड भन्दा बढी लगानीका ठूला र सुविधायुक्त होटल थपिएका छन् ।

प्रकाशित : मंसिर ९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?