धार्मिक गन्तव्य बनाउँदै

कान्तिपुर संवाददाता

पर्वत — कुश्मा ८ चुवाका बासिन्दाले धार्मिक पर्यटन गुरुयोजना बनाएर पूर्वाधार विकास गर्न पहल थालेका छन् । धार्मिक अगुवाहरूको भेला गरेर समिति गठन गरी पूर्वाधार विकासको योजना अघि सारिएको हो । 

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माणाधीन धार्मिक पर्यटीकय पार्कका लागि जग्गा सम्याइँदै । तस्बिर: अगन्धर तिवारी/कान्तिपुर 

भेलाले कुलप्रसाद शर्माको अध्यक्षतामा समिति गठन गरेको छ । समितिले विष्णुबाटिका अशोक्त मुक्तिमार्ग निर्माण गर्ने भएको छ । त्यस वरिपरि पार्वतीको जन्मथलोमा चौतारी बनाई १ सय ८ वरपीपलका रूख रोप्ने योजना छ ।

त्यस्तै १ सय ८ तुलसीका मठ बनाउन थालिएको छ । घारीको चौरमा जग्गा सम्याउन थालिएको छ भने मध्यपहाडी राजमार्गबाट सहजै जान मिल्ने गरी सडकको पहुँच पुर्‍याउने योजना अघि बढाइएको छ । वडाध्यक्ष राजकुमार क्षत्रीका अनुसार एक वर्षयता चुवावासीसँग पटक–पटकको छलफल र सल्लाहपछि यस्तो योजना बनाइएको हो ।

‘चाइना चोकदेखि घारीचौर हुँदै चुवाको खोल्सासम्म १५ सय मिटर लम्बाइ छ,’ वडाध्यक्ष क्षत्रीले भने, ‘खेर गएको चौरलाई व्यवस्थित गर्न सबै वडावासी उत्साहित छन् ।’ सडक फराकिलो पार्ने नाममा वरपीपलका चौतारा मासिँदै गएका बेला यहाँ निर्माण हुने १ सय ८ चौताराले महत्त्व पाउने विश्वास उनले व्यक्त गरे । चाइनाचोकदेखि देवीस्थान मन्दिरसम्मको डेढ किमि क्षेत्रमा ८ मिटर चौडा बाटो बन्दैछ ।

योजनाअनुसार बाटाको डिलतर्फ लहरै पिल्लर हुनेछन् । चिटिक्क ढलान चौतारा बनाइनेछ । दुई चौताराको बीचको जग्गा व्यवस्थापन गरी पारिजातलगायतका फूल लगाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख गरिएको निर्माण समितिका अध्यक्ष कुलप्रसाद शर्माले बताए । ‘डीपीआर तयार पारिसकेका छौं,’ उनले भने, ‘योजना अनुसारको काम सुरु भइसक्यो ।’

चौतारा बनाउन ९८ जना सहयोगीले काम सुरु गरिसकेका छन् । एउटा चौतारो निर्माण गर्न ७० हजारदेखि एक लाख रुपैयाँ लाग्ने अनुमान छ । दाताले समितिको नाममा रकम जम्मा गर्ने क्रम सुरु भएको छ । १ सय ८ चौताराको बीचमा विष्णुको भव्य मूर्ति बनाइने समितिका सचिव लक्ष्मण पौडेलले बताए ।

निर्माणाधीन विष्णु वाटिकासँगै जोडिएको मध्यपहाडी लोकमार्ग हुँदै मुक्तिनाथ, बागलुङकालिका, पञ्चकोट, गलेश्वर र ढोरपाटनलगायतमा जाने पर्यटकका गाडीका लस्कर लाग्छन् । विष्णुबाटिका निर्माणपछि यो बाटो हुँदै यात्रा गर्ने धेरै पर्यटकलाई यहाँ केहीबेर रोकिएर घुम्न मन लाग्ने बनाउने चुवावासीको योजना छ ।

कुश्मादेखि २ किमिको दूरीमा रहेको चुवामा निर्माणाधीन विष्णुबाटिकासँगै मोदीखोलाको सुसेली सुन्दै र उत्तरतर्फ लहरै मिलेका हिमाल हेर्दै रमाउनेहरूका लागि आसपासमा व्यवस्थित रिसोर्टसमेत बनाइने योजना छ ।

प्रकाशित : मंसिर १४, २०७५ १०:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ओछ्यानमै नागरिकता

उमेरले हिँडडुल गर्न नसक्ने ९५ वर्षीया सूर्यप्रसाद बस्तीलाई प्रमुख जिल्ला अधिकारीले नागरिकता घरमै दिए
कान्तिपुर संवाददाता

लमजुङ — बेंसीसहर नगरपालिका–१ पौडेलगाउँका ९५ वर्ष पुग्नै आँटेका सूर्यप्रसाद बस्तीले नागरिता प्रमाण पत्र पाएका छन् । उनले ओछ्यानमै आफू नेपाली नागरिक भएको प्रमाणपत्र पाएका हुन् ।

लमजुङको बेंसीसहर नगरपालिका–१ पौडेलगाउँका ९५ वर्षीय सूर्यपूसाद वस्तीलाई नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी । तस्बिर : कान्तिपुर

उनलाई प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले घरमै पुगेर नागरिकता दिए । उनको नागरिकतामा जन्ममिति १९८१ जेठ २० छ । नागरिकता दिइनुअघि उनलाई खादा लगाई सम्मना गरियो । हालसम्म बस्तीलाई नागरिकताको प्रमाणपत्र चाहिएको थिएन ।

अस्थायी निस्सा पेस गरेरै सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । २०३६ मा जारी अस्थायी निस्साको प्रमाणपत्र उनीसँग थियो । चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न नागरिकता अनिवार्य गरिएपछि भने उनले बनाउनैपर्ने भएको थियो ।

वृद्धभत्ताका लागि नागरिकता आवश्यक परेको कान्छो छोरा ६५ वर्षीय नारायणप्रसाद वस्तीले बताए । ‘बैंकबाट भत्ता बुझ्न परेपछि खाता खोल्न नागरिकता चाहियो । त्यसअघि बालाई नागरिकता चाहिएको थिएन,’ उनले भने, ‘घुम्ती टोलीले दिएको अस्थायी निस्साले अहिले काम गरेन ।’

अस्थायी निस्सालाई आधार मानेर बस्तीका दुई छोरा र तीन छोरीले नागरिकता बनाएका थिए । डुम्रेको भन्सारबाट १९९० मा लमजुङ बसाइँ आएका बस्ती परिवार पौडेल गाउँमा स्थायी रूपमा बस्छन् ।

सूर्यप्रसाद सुन्न र देख्न सक्छन् । तर, हिँडडुल गर्न सक्दैनन् । ‘आफ्नै नागरिकता लिन जान सकिन । सीडीओ सापले घरमै ल्याइदिनुभयो । खुसी लाग्यो मलाई,’ कामेको स्वरमा उनले भने । नागरिकताको अभावमा चालु आर्थिक वर्षको उनले पाउने भत्ता रोकिएको छ । ‘गाउँलेले नागरिकता बनाउनुपर्छ त भनेकै हुन्,’ उनले भने, ‘अहिले ओछ्यानमै नागरिकता पाउन लेख्या रैछ ।’

बेंसीसहरबाट करबि ७ किमि पर चिप्लेटी पुगेपछि ५ मिनेटको हिँडाइमा वस्तीको घर आइपुग्छ । ‘नागरिकता बनाउन उहाँ आउन सक्नुभएन । त्यसैले उहाँलाई खोजीखोजी हामी आफैं आयौं,’ प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने ।

वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका नागरिकलाई दु:ख दिन नहुने उनले तर्क गरे । ‘नागरिकता र सिफारिस पाएर राज्यबाट पाउनुपर्ने सुविधा पाइन्छ भने नेपाली नागरिकलाई प्रमाणपत्र दिन किन गाह्रो ?’उनले भने ।

प्रकाशित : मंसिर १४, २०७५ १०:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्