घरटहरा ढाक्ने रूख काटिने

घरगोठ ढाकिनेगरी बढेका रूख, झाडी र बुट्यानले जंगली जनावरको त्रास बढायो 
कान्तिपुर संवाददाता

पर्वत — बस्ती वरपर ठूल्ठूला रूख र झाडीले ढाकिएपछि वन्यजन्तु र प्राकृतिक विपत्तिको जोखिम बढेको भन्दै कुश्मा नगरपालिकाले त्यस्ता रूख काट्न सुरु गरेको छ । 

पर्वतको कुश्मा नगरपालिका–९ मा रूख काटेर अभियानको सुरु गर्दै वडाध्यक्ष ।तस्बिर : अगन्धर तिवारी/कान्तिपुर 

नगरभित्रका हरेक बस्तीदेखि २५ मिटर दूरीका रूख काट्ने नगर कार्यपालिकाको गत असोज २ को बैठकको निर्णय गरेको थियो । उक्त निर्णयअनुसार रूख कटान सुरु गरिएको हो ।

नगरका सबै वडाका रूख चालु आर्थिक वर्षभित्रै काट्न सम्बन्धित सबै वडा कार्यसमिति र सर्वसाधारणलाई सूचना जारी गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘घर वरपर करेसाबारीमा रूख रोपेर धेरैजसो मान्छे सहर पसेका छन्,’ उनले भने, ‘रूख बढेर बाँदर र चितुवाले बस्तीमा हैरान पारेपछि धेरैको गुनासो आयो । आवश्यकताअनुसार रूख कटान गर्ने योजना बनाएका हौं ।’ छिमेकीलाई दु:ख दिन कतिपयले घरवरपर जंगलै हुनेगरी रूख लगाएर छाड्नाले बस्तीको असुरक्षा बढेपछि बाध्य भएर यस्तो निर्णय गरिएको उनले बताए ।

नगरपालिकाले गरेको कदमको वडावासीले सकारात्मक भन्दै स्वागत गरेका छन् । कुश्मा–९ कटुवाचौपारीमा रूख कटान सुरु भएको छ । वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार छेउखन्नाका विष्णु अधिकारीलेआफ्नो खेतमा रहेका रूख कटान गरेपछि आइतबार अभियानको थालनी गरिएको छ ।

अधिकारीको खेतमा रहेका ठूल्ठूला रूखले आसपासको बस्तीमा जोखिम बढाएपछि त्यहींबाट अभियान सुरु गरिएको वडाध्यक्ष लामिछानेले बताए । रूख कटान थाल्न वडाध्यक्षसहित वडा सदस्यहरू पनि सहभागी भए । ‘नगरपालिकाको आदेशबमोजिम वडाले १३ गते निर्णय गरेर ४५ दिने सार्वजनिक सूचना प्रकाशित गरेका छौं,’ लामिछानेले भने, ‘सूचनाबमोजिम विष्णुजीले रूख काटेर हामीलाई सहयोग गर्नुभयो ।’

वडाका सबैजसो बस्तीमा माइकिङ गरिने उनले बताए । कटुवाचौपारीमा करिब ५ सय घरधुरी छन् । हरेक घरको आसपासमा हुने बाँस र डाले घाँस लगायत सबैजसो रूख बुट्यान र झाडी काटिने उनले बताए । वरपीपल र चौतारो जोगाउनै पर्ने भए आवश्यकताअनुसार हाँगा काटछाँट गरेर छाडिने वडाको निर्णय छ ।

कुश्माको ४, ५, ६ र ७ नम्बर वडाबाहेक सबैजसो बस्ती ग्रामीण क्षेत्रमा पर्छन् । कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले पनि निर्णय कार्यान्वयन गर्दा स्थानीयलाई फाइदा हुने बताए । ग्रामीण क्षेत्रमा पर्ने सबैजसो बस्ती ठूल्ठूला रूख र वनजंगलले ढाकेको छ । बस्तीसँगै जंगल बढ्दै गएपछि बाँदर, चितुवा, मुसा र स्याललगायतले दु:ख दिन थालेको भन्दै नगरवासीले पटक–पटक नगरपालिकामा नियन्त्रण गरिदिन माग गर्दै आएका थिए ।

बस्ती आसपासका रूख काटछाँटले खेतीयोग्य जमिनलाई फाइदा पुग्ने स्थानीयले बताएका छन् । ‘रूख बढेपछि उब्जनी हुँदो रहेनछ,’ कटुवाका विष्णु अधिकारीले भने, ‘घारी हटेपछि बस्ती पनि जोगिने, उब्जनी पनि बढ्ने ।’

प्रकाशित : मंसिर १७, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

छेकम्पारलाई तिब्बतको भर

चुमनुव्री छेकम्पारका बासिन्दालाई किनमेलका लागि छिमेकको आरूघाटको सोतीभन्दा तिब्बतको सहर सहज 
हरिराम उप्रेती

गोरखा — जाडो बढ्यो । अब हिउँ पर्न थाल्छ । हिउँ पर्दा बाहिर निस्कन सकिँदैन । हिमालको काखमा रहेको चुमनुव्री गाउँपालिका–६ छेकम्पारका बासिन्दालाई हिउँ पर्दा आगो तापेर दिन कटाउनुको विकल्प छैन । भान्सामा कुनै सामान सकिए नजिकै ठूला बजार छैनन् ।

गोरखाको चुमनुव्री गाउँपालिका–६ छेकम्पारमा चौंरीमा बोकाएर तिब्बतबाट दैनिक उपभोग्य सामग्री ल्याइँदै ।तस्बिर : हरिराम/कान्तिपुर

हिउँ परेर जाडो बढ्ने सिजनका लागि यहाँका गाउँलेले दैनिक उपभोग्य सामग्रीको जोहो गर्न थालेका छन् । सडक सञ्जाल नपुगेको, भौगोलिक हिसाबले अति दुर्गम मानिएको उक्त क्षेत्रमा ढुवानी भाडामै पैसा बढी खर्च हुँदा महँगी उत्तिकै छ । ढुवानी भाडाले स्थानीय आजित छन् ।

छिमेकको आरूघाट गाउँपालिकाको सोतीबाट भन्दा तिब्बत सिमानाको सहरबाट सामान ल्याउँदा ढुवानी कम पर्ने भएपछि उतै आकर्षण छ । तिब्बतको जोङ सहर पुगेका छेकम्पारका छिरिङ लामा कम्तीमा दुई महिनालाई पुग्ने दैनिक उपभोग्य सामग्री लिएर फर्किए । सात घोडा र ११ चौंरी लिएर जोङ पुगेर छेकम्पार फर्कन लामालाई तीन दिन लाग्यो ।

‘छेकम्पारमा आधाभन्दा बढी सामान चाइनाबाट ल्याउने हो,’ उनले भने, ‘गोरखाको सोतीबाट ल्याएको भन्दा चाइनाबाट ल्याउँदा सस्तो पर्छ ।’ आरूघाटको सोतीबाट छेकम्पारसम्म सामान पुर्‍याउन चारदेखि पाँच दिन लाग्छ । ‘चाइनाबाट सामान ल्याउँदा दुई दिन कम समय लाग्ने भयो,’ स्थानीय दोर्जे लामाले भने, ‘ढुवानी भाडा पनि तिब्बतबाट ल्याउँदा सस्तो पर्छ । एक किलोमा १६/१७ रुपैयाँ नै फरक परेकाले तिब्बत नै जाने गरेका हौं ।’

खच्चडमा बोकाएर सोतीबाट छेकम्पार कुनै सामान ढुवानी गर्दा प्रतिकेजी १ सयदेखि १ सय २० रुपैयाँसम्म पर्छ । जोङबाट छेकम्पार प्रतिकेजी ८५ रुपैयाँमा ढुवानी हुने गरेको छ ।

छेकम्पारको सीमा जोडिएको तिब्बतमा जोङ र स्या गरी दुई सहर नजिकै छन् । जोङ ठूलो र स्या सानो बजार हो । धेरैजसो स्थानीय जोङ नै जाने गरेको लामाले बताए । चिनियाँ सामानको मूल्य भने नेपालको तुलनामा महँगो हुने गाउँले बताउँछन् । आरूघाटबाट ल्याएको सस्तो परे पनि ढुवानी भाडा बढी पर्ने भएपछि छेकम्पारका बासिन्दाले तिब्बतको बजार नै रोज्ने गरेका हुन् ।

‘भाउ त चाइनाको नेपालको भन्दा महँगो छ, ढुवानी भाडाले सस्तो पर्ने हो,’ नेवाङ लामाले भने । छेकम्पारबाट एक दिनको पैदल यात्रापछि पुगिने बाँजेमा एक रात बसेपछि भोलिपल्ट सबेरै तिब्बतको सिमाना पुगिने उनले बताए । छेकम्पार र तिब्बत जोड्ने ङ्युला नाका बाह्रै महिना खुला हुँदा गाउँलेलाई सहज भएको छ ।

‘एक वर्षमा एक घरका परिवार तीनदेखि पाँच पटक त जोङ्गा सहर गएकै हुन्छ,’ नेबाङले भने, ‘चांैरी र घोडा घर–घरमै पालिएको हुन्छ । सामान ढुवानीमा त्यति गाह्रो छैन ।’ सबै गाउँलेले तिब्बती भाषा जानेकाले पनि सामानको भाउमा मोलमोलाइ गर्न सहज भएको उनले बताए । तिब्बतको सिमानासम्मको पैदल मार्ग भने जोखिमको छ ।

बर्खाको बेला भीरबाट ढुंगा झर्ने र पैदल मार्ग बगाउँदा आउजाउमा जोखिम बढेको उनले बताए । आउजाउमा सहजताका लागि पैदल मार्ग सुधार गर्न बजेटको व्यवस्था गरिदिन पनि गाउँलेले यहाँ पुग्ने जनप्रतिनिधि र सरकारी कर्मचारीहरूसँग अनुरोध गर्दै आएका छन् ।

छेकम्पारमा वर्षमा एक पटकमात्रै एक खेती हुन्छ । उत्पादित कृषि उपजले वर्षभरि पुग्दैन । यहाँ गहुँ, फापर र आलु खेती हुन्छ । चामल, नुन, तेल र चिनीलगायतका उपभोग्य सामग्री खरिदका लागि गाउँले तिब्बती बजार पुग्छन् ।

‘यार्सागुम्बा टिपेपछि धेरै मान्छे चाइना सामान किन्न जान्छ,’ नेबाङले भने । ग्यास सिलिन्डर भने यहाँका स्थानीयले सोतीबाट खच्चडमा बोकाएर गाउँ ल्याउँछन् । ‘खाली सिलिन्डर तल पठाउँदा एउटाको एक हजार लिन्छन् । तल व्यापारीलाई एक सिलिन्डरको १६ सय दिनुपर्छ,’ स्थानीय छिरिङ नोर्गेले भने, ‘यहाँ आइपुग्दा एउटै सिलिन्डरको ४५ सय पर्ने भयो । ढुवानी भाडाले नै हामी मारमा परेका हौं ।’

हेलिकप्टरमा सामान ढुवानी गर्दा झनै महँगो पर्ने भएकाले पैदलमार्गबाटै केही सहुलियत हुने नोर्गेको भनाइ छ । उक्त क्षेत्रमा आकस्मिक उपचारका लागि भने हेलिकप्टरको चार्टर गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : मंसिर १७, २०७५ १०:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT