कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपाङ्गता भए पनि सक्रिय

शिक्षा र सीप भएका अपांग समाजमा उदाहरणीय 
प्रकाश बराल

बागलुङ — दुवै खुट्टा छन् तर त्यसको भर छैन । नभए पनि बागलुङ नगरपालिका–४ का धर्मराज आचार्य सबलांगभन्दा कम छैनन् । 

अपाङ्गता भए पनि सक्रिय

उनको सीपका लागि धेरैले समय माग्छन् । कम्प्युटरमा दख्खल राख्न उनले धेरैलाई सिकाएका छन् । उनीसँग सिकेका धेरै विद्यार्थीले राम्रो रोजगारी पनि पाएका छन् । सीप सिकेर सरकारी जागिरमा पुगेर उनलाई आदर्श मान्ने धेरै छन् । अपांगता भए पनि उनको क्षमतालाई कसैले रोक्न सकेको छैन ।


सुन्न र बोल्न नसक्ने नारायणस्थान–९ का सन्तोष पौडेलले बहिरा बालबालिकाकालाई सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका छन् । सांकेतिक भाषाको सहयोगले उनले १० वर्षदेखि तीन सयजना विद्यार्थी पढ्ने धौलागिरि बहिरा विद्यालयमा पढाइरहेका छन् ।


बागलुङ बहिरा संघका अध्यक्ष रहेका पौडेल भन्छन्, ‘सीप सिक्ने अपांग कोहीभन्दा कम छैनन् । पढ्नुपर्छ, एउटा न एउटा सीप सिक्नैपर्छ ।’


सर्कुवा २ का दृष्टिविहीन अमिट केसीले सगरमाथा चुम्ने साहस बटुलेका छन् । ६ हजार मिटर उचाइको आइसल्यान्ड पिक र सगरमाथाको ८ हजार मिटरसम्म चढिसकेका उनी यतिबेला पुन: आरोहणको तयारी गरिरहेका छन् । दुई वर्षअघि उनी सगरमाथा आरोहणमा गएका थिए । मौसम प्रतिकूल भएपछि शिखर नपुग्दै फर्कनुपरेको थियो । आगामी वैशाख–जेठमा फेरि आरोहण गर्न उनले तयारी गरिरहेका छन् ।

झन्डै ७० लाख खर्च लाग्ने भएकाले आर्थिक संकलन अभियानमा पनि उनी लागेका छन् ।


बरेङ गाउँपालिका–३ का दिदीबहिनी सुशीला र उमा बस्नेतले सामान्य विद्यार्थी पढ्ने समुदायिक विद्यालयमा पढाउँछन् । बलेवाको आधारभूत विद्यालय र जनताधन माविमा उनीहरू असल शिक्षकमा गनिन्छन् । विभिन्न संघर्ष गरेर उच्च शिक्षा पढेका अपांगहरूले सांगझंै क्षमता देखाउन सफल भएका छन् ।


चेतना अभावले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा नपठाएको भेटिँदा सम्झाएर शिक्षाको पहुँचमा ल्याउन पनि उनीहरूको अभियान सञ्चालनमा छ । अहिलेसम्म उनीहरूको अभियानले जिल्लामा रहेका कुल अपांगमध्ये ६० प्रतिशतलाई शिक्षाको पहुँचमा ल्याउन सफलता पाएको जिल्ला अपांग सञ्जालका सचिव पुरनबहादुर थापाले बताए ।


‘अभिभावकबाटै हेलामा परेका बालबालिकालाई विद्यालय ल्याउन सकेका छौं,’ उनले भने, ‘संघर्ष गरेर सफलता भित्र्याउन हाम्रा साथीहरू सक्रिय छन् ।’ जिल्लामा संकलित तथ्यांकअनुसार ४ हजार १ सय २३ अपांगमध्ये एक तिहाई अझै शिक्षाबाट वञ्चित छन् । उनीहरूले अपांगलाई दयामायाभन्दा अवसर चाहिएको बताए । ‘हामीलाई अवसर चाहिन्छ, मेहेनत हामी आफैं गरेर देखाउँछौं,’ पौडेलले भने, ‘अपांगता भएकालाई सार्वजनिक संस्थाहरूमा राख्न नचाहने प्रवृत्ति अझै छ, त्यो तोड्नुपर्छ ।’ बौद्धिक क्षमताले जागिर पाएर कार्यालयमा गएकाहरूलाई समेत अपमान गर्ने चलन फेरिनुपर्ने उनको तर्क छ ।


सोमबार सञ्जालकै अगुवाइमा अन्तर्राष्ट्रिय अपांग दिवस मनाइएको छ । सहभागीले दिवसको दिन मात्र दया देखाउने चलन हटाएर संविधानले दिएको अधिकार प्रदान गर्न सबै अगाडि बढ्नुपर्ने सञ्जाल अध्यक्ष होमनाथ शर्माले बताए । राजनीतिक दल, सामाजिक संस्था र लाभका पद लिने बेलामा अपांगलाई पाखा लगाउने संस्कृति अन्त्य नभएसम्म विभेद अन्त्य नहुने उनले टिप्पणी गरे ।

प्रकाशित : मंसिर १८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?