कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाइटेक टनेल विधि उपयोगी

तरकारी र फूल उत्पादनका लागि सिँचाइ र औषधि पाइपबाटै
चिसो मौसममा तुसारोबाट बचाउन सकिने, छिटो हुर्कने र थोरै सिँचाइबाट धेरै कमाइ हुने
प्रकाश बराल

बागलुङ — गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्रीको बारीमा सिंचाइ र औषधि पाइपबाट पठाउने विधिबाट तरकारी फलाएका छन् । सामान्य टनेलभन्दा ठूलो प्लास्टिकका घरभित्रको ‘हाइटेक’ विधिबाट उत्पादन गर्दा दोब्बर फाइदा पनि भएको छ । 

हाइटेक टनेल विधि उपयोगी

उनका अनुसार यो विधि यसअघिको प्रचलित प्लास्टिक टनेलभन्दा फरक, ठूलो र नयाँ हो । बलियो प्लास्टिकको टहराभित्र तापक्रमको अनुपात मिलाएर तरकारीको उत्पादन बढाउन इजरायलबाट यो विधि भित्र्याइएको कृषि प्राविधिकले बताए ।


‘मान्छेभित्र छिर्दा रोग किराको संक्रमण हुन सक्छ,’ खत्रीले भने, ‘हाइटेक भनेको बाहिरबाटै मात्रा मिलाएर सिँचाइ पुर्‍याउने र औषधि उपचार गर्ने विधि हो ।’ रोप्ने र फल टिप्ने बेलामा मात्र टनेलभित्र छिर्ने, अरू समय बाहिरबाटै अनुगमन गर्ने र उपचार गर्ने विधि भित्र्याएर उनले खेती थालेका हुन् ।


बागलुङ नगरपालिकाका अगुवा किसान गंगाबहादुर थापासहित ५ जनाले यस्तो विधिबाट तरकारी खेती गरिरहेका छन् । रहर र सुनेका भरमा थालेका किसानले फाइदा लिएको देखे पनि उनीहरू जसरी कृषि उद्यम गर्न स्थानीय तहले अरूलाई हौस्याउन सकेको छैन ।


दुई वर्षअघि सुरु भएको यो विधिबाट खत्रीले खर्च कटाएर वार्षिक १० लाख रुपैयाँ कमाएका छन् । अहिले उनको ५ वटा हाइटेक टहरा छन् । खत्री ती टहरालाई ‘दरबार’ भन्छन् । ‘सानो प्लास्टिकका घरबाट ठूलो लगानी र ठूलै आकारका घर बनेपछि दरबार भन्न थालेका हौं,’ उनले भने, ‘एउटै हाइटेकभित्र धेरै बाली लगाउन सकिन्छ ।’


त्यहाँ उनले गोलभेंडा, काउली, मुला, साग, खुर्सानी, बन्दाकोपी र काँक्रोलगायतका तरकारी लगाएका छन् । सयपत्री फूल लगाएर पनि उनले यो वर्ष राम्रै आम्दानी हात पारे । बाँस गाडेर प्लास्टिकका टनेल बनाउँदा वार्षिक ५ लाख रुपैयाँ मात्र कमाउने उनको यो विधिबाट दोब्बर आम्दानी भएको हो ।


तीन गुणा आम्दानी बढाउने उनको लक्ष्यमा केही प्राविधिक कमजोरी भएको छ । तातो र चिसो वातावरणको अनुपात मिलाउनका लागि भने नेपालमा प्राप्त विधि पर्याप्त नभएको उनले गुनासो गरे ।


‘विदेशमा तापक्रमको अनुपात मिलाइएकाले उत्पादन अत्यधिक हुन्छ । हामीले त्यो गर्न सकेनौं,’ उनले भने, ‘रोगकिराबाट बचाउन भने यो विधि धेरै उपयोगी छ ।’ जाडो मौसममा राम्रो उत्पादन हुने हाइटेकमा गर्मी मौसम अनुपयुक्त भएको उनले बताए । ‘१७ देखि ३५ डिग्रीमा सबै तरकारी फल्छ । गर्मी मौसममा यहाँ तापक्रम घटाउने विधि पाइएन,’ उनले भने, ‘यो विधि पाएमा अहिलेको भन्दा राम्रो कमाइ हुन्छ ।’


डेढ वर्षदेखि जिल्ला कृषि विकास कार्यालयको कार्यक्रम अभाव र स्थानीय तहमा प्राविधिक समेत नहुँदा सोचेजस्तो विधि र प्रक्रिया पुर्‍याउन नसकेको उनको गुनासो छ ।


‘अर्गानिक तरकारी खुवाउन र मनग्य कमाइ गर्न हाइटेक टनेल विधि उपयोगी छ,’ थापाले भने, ‘आफ्नै पौरख बाहेक सरकारी क्षेत्रबाट प्राविधिक सहयोग पाउनै मुस्किल भयो ।’ बजार खोज्न पनि आफंै दौडिन बाध्य भएको उनले बताए ।


वार्षिक १ लाख रुपैयाँ भाडा तिर्नेगरी लिएको १५ रोपनी जमिनमा खत्रीले जामुने कृषि फर्म सञ्चालन गरेका छन् । खत्रीकी पत्नी मैयाले फर्ममा नियमित साथ दिएकी छन् । अन्य दुई युवालाई नियमित र ७ जनालाई आंशिक रोजगारी पनि दिएका छन् ।


फर्ममा उनले २० लाख रुपैयाँ लगानी गरेका छन् भने सरकारको ‘प्याक्ट’ कार्यक्रममार्फत १० लाख अनुदान पाएका छन् । एकपटक निर्माण गरेको हाइटेक टनेल विधिको सदुपयोग गर्दा १० वर्ष ढुक्क हुने वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए ।


फर्ममा प्लास्टिकका घर मात्र छैनन्, पानी पोखरी, कुखुरापालन, थोपा सिंचाइ र औषधिको व्यवस्था समेत छ । प्लास्टिक घरमा गोलभेंडा मात्र लगाउने परम्परा उनले तोडे । ‘मैले प्लास्टिक घरमै सबै तरकारी फलाएको छु,’ खत्रीले भने, ‘चिसो मौसममा तुसारोबाट बचाउन सकिने, छिटो हुर्कने र थोरै सिंचाइबाट धेरै कमाइन्छ ।’


झन्डै १२ वर्षको व्यावसायिक तरकारी खेतीको अनुभवपछि उनी हाइटेकमा लागेका हुन् । वार्षिक १५ टन तरकारी फलाउन सके अझै बजार पाइने उनले बताए ।

प्रकाशित : मंसिर २३, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?