कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशेष विद्यार्थीका लागि छात्रावास योजना

लमजुङ — विशेष विद्यार्थीका विद्यार्थीका लागि लमजुङको सुन्दरबजार–८ बगैंचा नजिकै छात्रावास भवन निर्माण हुने भएको छ ।

विशेष विद्यार्थीका लागि छात्रावास योजना

सुन्दरबजार–९ भोटेओडारको भक्ति नमुना माद्यमिक विद्यालयको विशेष कक्षामा अध्ययरत सुस्त श्रवण तथा कान नसुन्ने बालबालिकाका लागि ४० लाख रुपैयाँको लागतमा छात्रावास निर्माण गरिने भएको हो ।

सुरुमा छात्रावास र त्यसपछि उनीहरूका लागि छुट्टै कक्षाकोठासमेत निर्माण गर्ने योजना छ । योजनाका लागि बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले डेफ नेपाल एस्क्पेडिसन–२०१८ समूह गठन गरी चन्दा संकलन थालेको छ ।


बेलायती संस्थाले पहार ट्रस्ट नेपाल पोखराको समन्वयमा भवन निर्माण गर्ने योजना रहेको विद्यालयले जनाएको छ । विद्यालयको ४ रोपनी १३ आना जग्गामा छात्रावास र विद्यालय निर्माण गर्ने योजना हो ।

योजनामा बल पुर्‍याउन समूहका टोली प्रमुख डेभिड लवटनसहितको टोलीले निर्माणस्थल अवलोकन गर्दै सन् २०२० सम्ममा भवन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ‘हामीले पोहोर तनहुँमा यस्तै खालका विद्यार्थीका लागि भवन निर्माण गर्‍यौं । यसपटकको योजना लमजुङका लागि हो,’ उनले भने, ‘निर्माण सम्पन्न भएपछि बोल्न–सुन्न नसक्ने बालबालिकाले शिक्षा आर्जनको राम्रो वातावरण पाउनेछन् ।’


पढाइ राम्रो हुँदै गएमा वा विद्यार्थी पुगेमा १० कक्षा खोल्नका लागिसमेत सहयोग गरिने उनले बताए । उनका अनुसार बहिरा र अन्य बालबालिकामा भेदभाव हुने गरेको छ । भक्ति नमुना मावि विशेष कक्षाका स्रोत शिक्षक प्रेमनिधि सापकोटाले कोठाको अभावले एउटैमा दुईवटा कक्षाका विद्यार्थीलाई पढाउनुपरेको बताए । फरक क्षमताका विद्यार्थीलाई आवासीय सुविधा दिलाउन निकै समस्या छ । ‘विद्यार्थी संख्या बढ्दै गइरहेको छ ।


भवन अभावमा पठनपाठन निकै समस्या छ,’ उनले भने, ‘सँगै विद्यालयमा सांग पनि पढ्ने र खेल्ने भएकाले बहिरा तथा देख्न नसक्ने विद्यार्थीलाई असहज छ ।’ आरामदायी कक्षाकोठा, भूकम्प प्रतिरोधी तथा अपांगतामैत्री पूर्वाधार निर्माणपछि बालबालिकाले सहज वातावरण पाउने उनले बताए ।


‘कति संघर्षपछि एक्स्पेडिसनको टोलीसँग भेट भएको छ,’ उनले भने, ‘अब बल्ल पूर्वाधार निर्माणको योजना अघि बढ्ने अवस्था आउन लागेको छ ।’ टोलीलाई साथ लिएर आएका गण्डकी बहिरा संघका कार्यक्रम अधिकृत रमेश कार्कीले पहार ट्रस्टसँगको समन्वयमा छिटै भवन निर्माण सुरु हुने बताए ।


प्रधानाध्यापक यज्ञराज घिमिरेले सबलांग र फरक क्षमताका विद्यार्थीलाई सँगै राखेर पढाउँदा समस्या हुने गरेको बताए । ‘अब छुट्टै छात्रावास र कक्षाकोठा बनाउन सक्दा उनीहरूलाई सहज हुनेछ,’ उनले भने । भवन निर्माणका लागि पूर्वप्रधानाध्यापक उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ ।


सुन्दरबजार नगर शिक्षा इकाइ प्रमुख वीरबहादुर गुरुङले समस्यामा गुज्रिएर पठनपाठन गरिरहेका बालबालिकालाई भवन निर्माणपछि सहज हुने बताए ।


विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवं वडा नम्बर ९ का अध्यक्ष मोतीप्रसाद गुरुङले राम्रो वातावरण बन्न नसक्दा फरक क्षमताका धेरै बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको बताए ।

प्रकाशित : मंसिर २४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?