कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय परिचयपत्र वितरण तयारी

स्याङ्जा — राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणका कार्यक्रम तोकिएका १५ जिल्लामध्ये स्याङ्जा पनि एउटा हो । सरकारले पहिलो चरणमा मंसिर ३ देखि पाँचथरबाट वितरण सुरु गरेको हो ।

दोस्रो चरणमा गण्डकी प्रदेशका स्याङ्जा र तनहुँमा पनि वितरण हुनेछ । वितरण थाल्नुअघि गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागले स्याङ्जामा अन्तरक्रिया आयोजना गरेको छ ।


कार्यक्रममा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले परिचयपत्र लिने प्रक्रिया र उपयोगिताका बारेमा प्रस्ट्याए । सरकारको गत असोज २८ को निर्णयअनुसार सुरु गरिएको तयारीअनुसार जिल्लाका सबै स्थानीय तहका ९७ वटै वडासम्म पुर्‍याइने जानकारी उनले दिए ।


‘वितरणका लागि जिल्ला प्रशासन कार्यालयभित्र ६ वटा इकाइ रहनेछन् । त्यसपछि प्रत्येक वडामा इकाइ राखिने छ,’ उनले भने, ‘इकाइबाट विवरण संकलनको काम हुनेछ । आफ्नो वडा कार्यालय पुग्न असमर्थ भएकाहरूले विवरण जिल्ला प्रशासनमा पनि बुझाउन सक्नेछन् ।’ विवतरण संकलनको तीन महिनापछि परिचयपत्र वितरण थालिने उनले बताए ।


‘कार्ड छाप्नेदेखि उपलब्ध गराउनेसम्मको काम सहज तरिकाले गर्न सुरु–सुरुमा नागरिकता पाएकालाई मात्र दिने योजना छ,’ उनले भने । जनगणना २०६८ अनुसार स्याङ्जामा २ लाख ८९ हजार १ सय ४८ जनसंख्या छ । यिनमा १ लाख ७४ हजारले नागरिकता लिएका छन् ।


पहिलो चरणमा नागरिकता लिएकाहरूको विवरण संकलन र अद्यावधिक गरिनेछ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागमा पुग्ने विवरणमा सफ्टवेयरमार्फत ‘भेरिफिकेसन’ गरेपछि राष्ट्रिय परिचयपत्र छापिनेछन् ।


नागरिकता नम्बर नमिले तथा आवश्यक विवरण पूरा नभएर सफ्टवेयरले रिजेक्ट गर्ने परिचयनपत्रमा सुधारका लागि सम्बद्ध व्यक्तिलाई मोबाइलमा एसएमएस आउँछ । एमएमएस पाएको १५ दिनभित्र पुन: दर्ताका लागि पुगेर विवरण सच्याउन सकिनेछ ।


प्रमुख जिल्ला अधिकरी कोशहरि निरौलाले नागरिकता प्रमाणपत्रको पुरानो विधिलाई विस्थापन गरी आधुनिक तरिकाको परिचयपत्रको व्यवस्था सबैका लागि सहज हुने बताए । ‘परिचयपत्रले पारदर्शिता कायम गराउँछ,’ उनले भने, ‘झूटो विवरण लिने वञ्चित हुन्छन् । कर छली नियन्त्रणमा ठूलो मद्धत पुग्छ । आर्थिक र प्रशासनिक क्षेत्रमा अनियमितता रोकिन्छ ।’


मुलुकमा सुशासन कायम गर्न मद्धत पुग्ने उनले बताए । छलफलमा प्रदेश सांसद, जिल्लाका ११ वटै स्थानीय तहका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न संघ–संगठनका प्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारी सहभागी भए । कार्यक्रममा प्रदेश सांसद दीपक थापामगरले व्यक्तिको एकीकृत तथ्यांक रहने भएकाले परिचयपत्रको महत्त्व धेरै रहेको बताए ।

प्रकाशित : पुस ३, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?