कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नपूर्ण पदमार्ग : पर्यटक आगमनमा नयाँ रेकर्ड

आश गुरुङ

लमजुङ — विश्व प्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गमा यस वर्ष सर्वाधिक पर्यटकको आगमन भएको छ । गत वर्षको १२ महिनामा आएको भन्दा यसपटक ११ महिनामै बढी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण पदमार्ग : पर्यटक आगमनमा नयाँ रेकर्ड

तथ्यांक लिन थालिएको २२ वर्षको अवधिमा सबैभन्दा बढी चालु वर्ष सन् २०१८ मा २८ हजार ५ सय ३४ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनाङअन्तर्गतको धारापानी चेकपोस्टले जनाएको छ । सन् २०१७ मा २७ हजार ६८ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमणमा आएका थिए ।


जाडो सिजन डिसेम्बरमा समेत कम्तीमा दैनिक ५० जना पर्यटक भित्रिएको धारापानी चेकपोस्टकी पर्यटन सहायक सोमी गुरुङले बताइन् । चिसोले पर्यटक आगमन घट्दै गएकाले कम्तीमा पनि १ हजार पर्यटक आगमन हुनसक्ने आँकलन गरिएको छ । उनका अनुसार यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा ७ हजार १ सय ६३ जना भित्रिएका थिए ।


नोभेम्बरमा ४ हजार ३ सय ८० र सेप्टेम्बरमा २ हजार ८ सय ५६ जना पर्यटक भित्रिएका थिए । पर्यटकीय सिजनमा दैनिक ३ सय ६० भन्दा बढी पर्यटक आएका थिए । गत वर्षको अक्टोबरमा ६ हजार ६ सय ७४ पर्यटक भित्रिएका थिए ।


नोभेम्बरमा ४ हजार ३ सय ३८ र सेप्टेम्बरमा २ हजार ६ सय २० पर्यटक भित्रिएका थिए । गत वर्ष डिसेम्बरबाहेक ११ महिनामा २६ हजार २ सय ५ जना पर्यटक भित्रिएका थिए । गत वर्षको ११ महिनाको तुलनामा यो वर्षको ११ महिनामा २ हजार ३ सय २९ अर्थात् ८ दशमलव ८८ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ ।


यो वर्ष जनवरीमा ४ सय ७९, फेब्रअरीमा ८ सय ८०, मार्चमा ३ हजार ८ सय ३, अप्रिलमा ५ हजार ४१, मेमा २ हजार ८५, जुनमा ५ सय २७, जुलाईमा ६ सय १८ र अगस्टमा ७ सय २ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका छन् । पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर साथै मार्च, अप्रिल र मे महिना सिजनको रूपमा लिइन्छ । अन्य महिनामा पर्यटक कम आउने गरेका छन् ।


सन् २०१६ को तुलनामा गत वर्ष २२ दशमलव ४७ प्रतिशतले पर्यटक वृद्धि भएको थियो । एक्याप मनाङको तथ्यांकअनुसार ०१६ मा २२ हजार १ सय २ पर्यटक यस पदमार्गमा भित्रिएका थिए । भारतीय नाकाबन्दी र भूकम्पको वर्ष सन् २०१५ मा अघिल्लो वर्ष सन् २०१४ को तुलनामा ३४ प्रतिशत पर्यटक आगमन घटेको थियो ।


सशस्त्र द्वन्द्वको समय २९ प्रतिशतसम्म पर्यटक आगमन घटेको थियो । पछिल्लो ३ वर्षमा भने पर्यटक आगमन दर बढ्दै गएको एक्यापले जनाएको छ । सन् २०१५ को तुलनामा २०१६ मा ३८ दशमलव ४२ प्रतिशतले पर्यटक बढेका थिए । भूकम्प र नाकाबन्दीको वर्ष सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।


चक्रीय अन्नपूर्ण पदमार्गमा लमजुङ हुँदै मनाङतर्फ जाने पर्यटकको रेकर्ड एक्यापले राख्ने गरेको छ । एक्यापले सन् १९९६ देखि पर्यटकको तथ्यांक लिन थालेको हो । काठमाडौं, पोखरा र बेंसीसहरमा अनुमति लिएर गएका विदेशी पर्यटकले मनाङको नासोङ गाउँपालिकास्थित धारापानी चेकपोस्ट (पर्यटक चेकजाँच केन्द्र) मा अनिवार्य आफ्नो विवरण बुझाउनुपर्छ ।


लमजुङकै मस्र्याङ्दी गाउँपालिकाको सिम्पानीस्थित बगैंचामा पनि चेकपोस्ट राखेर पर्यटकको तथ्यांक लिन थालिएको छ ।


चक्रीय अन्नपूर्ण पदमार्ग आधा दशकअघिसम्म विश्वकै उत्कृष्ट १० पदमार्गमा गनिन्थ्यो । चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य संसारकै अग्लो हिमाली भञ्ज्याङ ५ हजार ४ सय १६ मिटरको थोराङ्ला र संसारकै उच्च स्थानमा रहेको ताल ४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो हो ।


लमजुङको बेंसीसहरबाट सुरु भएर मनाङ, मुस्ताङ हुँदै म्याग्दीको तातोपानी, म्याग्दी भएर पोखरा वा तातोपानीबाट घोरेपानी हुँदै पोखरा पुग्नलाई २१ दिन लाग्थ्यो । अहिले मुस्ताङको मुक्तिनाथ र मनाङको मनाङ गाउँसम्म मोटर चलेपछि पदयात्रा एक सातादेखि १० दिनसम्म खुम्चिएको छ ।


पदमार्ग भएर जानुपर्ने ठाउँमा सडक निर्माण भएपछि उक्त पदमार्ग विश्वकै उत्कृष्ट १० को सूचीबाट समेत हटिसकेको छ । तर, शान्ति तथा अमनचयनले पर्यटक आगमन भने बढदै गएको स्थानीयले बताएका छन् । बन्द हड्ताल नभए पर्यटक आगमन अझै बढ्दै जाने पर्यटन व्यवसायीको भनाइ छ ।

प्रकाशित : पुस ३, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?