कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ : मुख्यमन्त्रीमा पोखरेल र सभामुखमा घर्ती नियुक्त

तीन सदस्यीय मन्त्रिमण्डल बिहीबार बन्ने
घनश्याम गौतम

काठमाडौँ — प्रदेश ५ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल बुधबार नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश ५ : मुख्यमन्त्रीमा पोखरेल र सभामुखमा घर्ती नियुक्त

उनलाई माओवादी केन्द्रका २० सांसदको समर्थन छ । प्रदेशका ८७ सांसदमध्ये एमालेका मात्र ४१ छन् ।


एकल बहुमत नभएकाले एमाले र माओवादी गठबन्धनले संयुक्त सरकार गठनका लागि आग्रह गर्दै माघ २८ गते प्रदेश प्रमुखसमक्ष पत्र दर्ता गरेका थिए । मुख्यमन्त्रीको सपथग्रहण भने बिहीबार सडक डिभिजन कार्यालय परिसरमा हुने प्रदेश प्रमुखको कार्यालय सचिव सनदकुमार दवाडीले बताए । डिभिजन कार्यालयमा आइतबारदेखि नै सुरक्षा र व्यवस्थापनको काम भइरहेको छ ।


मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै पोखरेलले बिहीबार नै ३ सदस्यीय मन्त्रिमण्डल गठन तयारी गरेका छन् । मन्त्रिमण्डलमा एमालेबाट नवलपरासीका बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसीको सम्भावना छ । चौधरीको टुंगो लागे पनि माओवादीको भने बुधबार साँझसम्म टुंगो लागेको छैन । संसदीय दलका नेता केसी आफैं जान खोजेपछि विवाद भएको छ ।


संसदीय समितिबाट टुंगो नलागेकाले प्रदेश इन्चार्ज वर्षमान पुन बुधबार नै बुटवल आउने कार्यक्रम थियो । तर आएनन् । बिहीबार बिहानसम्म मन्त्रीमा को जाने भन्ने टुंगो लगाउने केसीले बताए । ‘भोलि नै निधो हुन्छ,’ उनले भने, ‘दलकै नेता जाने सम्भावना पनि छ ।’ माओवादीले पहिलो चरणमा अर्थ र आन्तरिक मामिला मन्त्रालयमध्ये एकमा दाबी गरेको छ ।


मुख्यमन्त्रीको कार्यकक्ष चिटिक्क पारिएको छ । सपथलगत्तै ३ सदस्यीय मन्त्रिपरिषद बैठक बस्ने छ । त्यसपछि मुख्यमन्त्रीले बुटवलको दरबारमार्गस्थित ६ तले भूकम्प प्रतिरोधी भवनको पाँचौं तलामा पदबहाली गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्र काफ्लेले बताए । ‘हामीले मुख्यमन्त्रीको कार्यालय र कार्यकक्ष सबै तयारी सकेका छौं,’ उनले भने, ‘सुरुमा तीन सदस्यीय मन्त्रिमण्डलका बनाउने भन्ने तयारीअनुसार व्यवस्थापन गरिएको छ ।’


एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पहिलो चरणमा तीन सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति भए पनि मन्त्रालयको टुंगो नलागेको बताए । ‘हामी अहिले पनि छलफलमै छौं,’ उनले भने, ‘सके आजै, नभए बिहीबार बिहानसम्म टुंग्याइने छ ।’ साँझसम्म एमाले संसदीय दलको बैठक जारी छ ।


सभामुखमा घर्ती

मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । माओवादीबाट पूर्वी रुकुमको प्रदेश क बाट निर्वाचित घर्तीले बुधबार नै प्रदेश प्रमुख उमाकान्त झाबाट देश र जनताका नामबाट सपथ लिए । प्रदेश प्रमुख कार्यालयमै भएको सपथग्रहण कार्यक्रममा सांसद, सचिव, प्रदेश प्रमुखको कार्यालय, मन्त्रिपरिषद र मन्त्रालयका सचिव, जिल्लास्थित सरकारी कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति थियो । घर्तीले सपथ लिएलगत्तै संसद भवनमा पदवहाली गरेका छन् ।


घर्तीलाई बुधबार दिउसो १ बजे बसेको संसदको दोस्रो बैठकले निर्विरोध निर्वाचित गरेको थियो । सभामुखमा अन्य कसैको उम्मेदवारी नपरेकाले उनी संविधानको धारा १८२ को उपधारा २ अनुसार निर्विरोध भएका हुन् । प्रदेशसभा संचालन अन्तरिम कार्यविधि ०७४ को दफा ६ को उपदफा ३ अनुसार माओवादीको प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक ढकालको समर्थनमा बैठकका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्ती निर्वाचित भएको घोषणा गरेका थिए । बैठक १६ मिनेट चलेको थियो ।


उपसभामुखको निर्वाचन फागुन ६ मा

संसदको फागुन ६ गते आइतबार बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्ने सचिवालय सचिव सुरेन्द्र अर्यालले बताए । उपसभामुख भने नेकपा एमालेले बनाउने सहमति छ । एमालेबाट उपसभामुखमा बर्दियाकी कृष्णी थारुको चर्चा छ ।

प्रकाशित : फाल्गुन २, २०७४ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?