कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुस्त

‘२०१९ भित्र परीक्षण उडान’
अमृता अनमोल

बुटवल — तेस्रो मुलुकबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सीधै ल्याउने उद्देश्यसहित भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण थालिएको छ । सम्झौताअनुसार काम हुन्थ्यो भने यहाँ दैनिक १६ आन्तरिक र ६ अन्तर्राष्ट्रिय विमानले उडान भर्थे ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुस्त

सन् २०१७ को डिसेम्बरमा सक्ने लक्ष्यसहित २०१५ को जनवरीमा तामझामसाथ थालिएको आयोजनाको बल्ल ३५ प्रतिशत काम भएको छ ।

ठेकेदार कम्पनीको गैरजिम्मेवारीपन र सरकारी बेवास्ताले ढिलाइ भएको हो । सन् २०१८ देखि उडान भर्ने लक्ष्य लिएको विमानस्थलमा ६५ प्रतिशत काम अझै बाँकी छ । काम कहिले सकिने हो टुंगो छैन । काम गर्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनले बेला–बेला सहयोगी कम्पनी फेर्ने, स्थानीयको रकम नदिने र आवश्यक उपकरण नल्याएर काम लम्बाइराखेको छ । आयोजनाले कम्पनीलाई कडाइ वा कारबाही गर्नु साटो पक्षपोषण गर्ने र सरकारमा पुगेका दलले आफूखुसी स्वार्थमा उपयोग गर्ने गरेकाले विमानस्थल निर्माणको काम लम्बिएको हो ।

आयोजना प्रमुख ओम शर्मा भदौयता काममा सुधार आएको दाबी गर्छन् । ‘चिनियाँ व्यवस्थापक फेरेपछि काम लयमा फर्केको छ,’ उनले भने, ‘सन् २०१९ भित्र परीक्षण उडान गराउने लक्ष्यसहित अघि बढाएका छौँ ।’ यसका लागि यस वर्षभर निर्माण र अर्को वर्ष उपकरण जडान गर्ने योजना छ । भदौयताको ५ महिनामा ७ प्रतिशतमात्रै प्रगति भयो ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोग ६ अर्ब २२ करोड ५१ लाख लागतमा विमानस्थल निर्माण थालिएको हो । अहिलेसम्म करिब २ अर्बमात्रै खर्च भएको छ । मधेश आन्दोलन, नाकाबन्दी, भूकम्पजस्ता कारण देखाउँदै आगामी जुनसम्म म्याद थपिएको छ ।

विमानस्थलमा अहिले ३५ चिनियाँसहित २ सय मजदुर कार्यरत छन् । यही गतिमा काम भए त्यतिबेलासम्म ५० प्रतिशत काम पनि सकिने छैन । यो बुझेको एडिबीले चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माणमा सन्तोषजनक नगरेको भन्दै अनुदान र ऋण रोक्ने चेतावनीपत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । ठेक्का रद्द गर्ने चेतावनीपछि भने नयाँ चिनियाँ व्यवस्थापक ल्याएर कम्पनीले थप गति लिएको आयोजनाको तर्क छ । ‘कामको गति बढेकाले सम्भवत एडीबी पनि सम्झौता रद्ध गर्नु साटो आयोजना हेर्न आउने योजनामा रहेको बुझिएको छ,’ आयोजना प्रमुख शर्माले भने ।

अहिले विमानस्थलमा धावन मार्गको तयारीका लागि सव ‘बेस’ को काम भइरहेको छ । ‘सव वेश’ लगत्तै बेस निर्माणका लागि पक्की गर्ने काम हुन्छ । यसका लागि मसिनो गिटी र बालुवा रुपन्देहीको तिनाउ नदीबाट ल्याइएको छ । धावन मार्गको बेस पिचका लागि ठूला ढुंगा र गिटी भने दाङको भालुवाङ र नवलपरासीको चोरमाराबाट ल्याइएको छ । ‘अहिले धमाधम निर्माण सामग्री जुटाइँदै छ,’ शर्माले भने, ‘सम्भवत वर्षाअघि धावनमार्ग निर्माणमा वेसको काम सकिने छ ।’

ठेकेदार कम्पनीले आशालाग्दो काम गरे आगामी जुनपछि पनि ६ महिना समय थप्न सकिने प्रावधान छ । यद्यपि ठेकेदारले स्थानीय व्यवसायी तथा सहयोगी कम्पनीको रकम भुक्तानीमा गरेको बेवास्था र आयोजनाले जग्गा अधिग्रहणको मुआब्जा वितरणमा गरेको ढिलाइले विमानस्थल निर्माणमा पुन: समस्या आउने हो कि भन्ने चिन्ता छ । ‘यो अन्योलता हटाउन सरकारले ठेकेदारलाई सहयोगीबीचको सबै विवाद मिलाउन र कामको गति बढाउन दबाब दिनुपर्छ,’ नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले भने, ‘आयोजनामार्फत स्थानीयको मुआब्जा छिटो र पारदर्शी किसिमले उपलब्ध गराउन सहजीकरण गर्नुपर्छ ।’

गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन १८ वर्षअघिदेखि प्रक्रिया थालिए पनि विभिन्न अवरोधले रोकिएको थियो । यसपटक पनि ठेकेदार कम्पनी, जग्गा अधिग्रहण, परियोजना कर्मचारीको कामलगायत विवाद अझै सल्टेको छैन । ५ हजार कित्ता जग्गा अधिग्रहण गरेको परियोजनाले अहिलेसम्म ५ सयलाई मात्रै मुआब्जा दिएको छ । आयोजनाले भने पछिल्लो समयमा ठेकेदार कम्पनी र सहयोगीको विवाद मिलाउन तथा मुआब्जा दिन सहजीकरण गरिरहेको बताएको छ । रकमका हिसाबले २३ अर्ब अनुमान गरिएकोमा अहिलेसम्म ६ अर्ब बाडिएको शर्माले जानकारी दिए । मुआब्जा पाएकाको १ सय ७० बिगाह जग्गा सरकारको नाममा आइसकेको छ । २०२१ सालमा स्थापित यो विमास्थल सुरुमा ७९ बिघामा फैलिएको थियो । क्षेत्रीय स्तरको बनाउन भन्दै त्यसपछि २ सय बिघा थपिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल बनाउन यो पालि ५ सय बिघा अधिग्रहण गरियो । अब विमानस्थलको जग्गा ७ सय ८७ बिघा भएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?