कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशगजाको तारबार कमसल

कान्तिपुर संवाददाता

बर्दिया — नेपाल–भारत छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा निर्माण गरिएको विद्युतीय तारबारका पोल ढल्न थालेका छन् । पोल र तार दुवै कमसल भएकाले सयभन्दा बढी पोल ढलेको स्थानीयले बताए ।

दशगजाको तारबार कमसल

बर्दियाको पश्चिम–दक्षिण गेरुवा गाउ‘पालिका र राजापुर नगरपालिकास्थित सीमा स्तम्भ नम्बर ८७ देखि ९८ सम्मको करिब २२ किमि विद्युतीय तारबार गरिएको थियो । सीमावर्ती भारतीय आरक्षबाट आउने जंगली जनावरले धनजनको क्षति गरेपछि जेठमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट करिब ६० लाख लागतमा तारबार गरिएको हो ।

तत्कालीन सांसद मानबहादुर चौधरीको निर्वाचन क्षेत्र विकासबाट उपभोक्तामार्फत तारबार गरिएको थियो । सीमावर्ती क्षेत्रका उपभोक्तालाई समितिमा सदस्य नराखी आफ्नै विश्वासपात्र कार्यकर्ता खल्ला जयपुरका बासिन्दालाई जिम्मा लगाइएपछि काम गुणस्तरहीन भएको हो । भारतीय सुरक्षा बल एसएसबीको हस्तक्षेप हुँदाहुँदै स्थानीयले गत वैशाखमा दशगजानजिक तारबार गरेका थिए । भारतीय जंगलबाट प्रवेश गर्ने जनावरबाट हुने क्षति कम गर्न तारबार लगाइएपछि स्थानीयले राहत महसुस गरेका थिए । वर्षायाम सुरु भएपछि धमाधम पोल ढल्न थालेको स्थानीयले उपभोक्ता समितिसँग गरेका थिए । उपभोक्तामार्फत विद्युतीय पोल जडान कमसल भएकाले ढलेको स्थानीयले आरोप लगाएका छन् । उनीहरूले ३० लाखभन्दा बढीको काम नभएको बताउँदै छानबिन हुनुपर्ने माग गरेका हुन् । सीमावर्ती राजापुरका विष्णु रिजालका अनुसार कमसल काम भएको र बलौटे माटोमा गाडेको कारण पोल ढलेको बताए ।

सयभन्दा बढी पोल ढलेपछि भारतबाट जंगली जनावर आएर अन्नबाली क्षति पुर्‍याउन लागेको उनले गुनासो गरे । उक्त तारबार नलगाउन एसएसबीले यस क्षेत्रका नेपाली पक्षलाई दबाब दिँदै आएको थियो ।

नेपाल–भारतको संयुक्त नापी टोली नआएसम्म सीमा नछुट्याउँदा यस क्षेत्रमा पटकपटक विवाद हुने गरेको छ । पूर्व सांसद चौधरीले मापदण्डअनुसार काम भएको र अध्यक्ष सीमा क्षेत्रको भएको बताए ।

‘पोल र तार बुझ्ने काम पनि गर्ने अनि अहिले कमसल कसरी हुन सक्छ,’ उनले भने, ‘मैले काम गरेको होइन र आर्थिक अनियमिता पनि भएको छैन ।’

सीमा क्षेत्रको अधिकांश जग्गा २०२६ सालमा राजा महेन्द्रले सत्तार मियालाई १ हजार बिघा जग्गामा जोतभोग गर्न दान दिएको स्थानीयको भनाइ छ । दान दिएको अधिकांश जग्गा भारतीय सीमासँग जोडिएको छ । मियाँको मृत्युपछि दश बिघाभन्दा बढी लामो समयसम्म जोतभोग नभएका कारण भारतले आफ्नो भन्दै हडपेको राजापुर ३ का सन्तोष चौधरीले बताए । तारबार लगाए पनि सीमाक्षेत्र जंगल भएको कारण धेरै जग्गा भारतीय भूमिमा परेको राजापुर १ का फकिरे थारूले बताए ।

भारतीय पक्षले भने जोतभोग गर्न रोक लगाएको जग्गा आफ्नो भएको दाबी गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?