कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ महिनादेखि शिक्षकले तलब पाएनन् 

विद्यालय बन्द गर्ने चेतावनी 
ठाकुरसिंह थारू

बाँके — नेपालगन्ज उपमहानगरपालिकामा समाहित गरिएको शिक्षा शाखाको काम फितलो देखिएको छ । समन्वय अभावमा उपमहानगरभित्रका ४४ सामुदायिक र मदरसाका ६ सय शिक्षक तथा कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका छन् । तलब नपाएको भन्दै शिक्षकले महानगरको शिक्षा शाखामा तालाबन्दीको चेतावनी दिएका हुन् । प्रधानाध्यापकहरू तलब निकासा गराउन दैनिक उपमहानगरको शिक्षा शाखा पुग्ने गरेका छन् । 

४ महिनादेखि शिक्षकले तलब पाएनन् 

उनीहरूले पारिश्रमिक नपाए विद्यालय नै बन्द गर्ने चेतावनी दिए । शिक्षाले एक उपसचिव, तीन स्रोत व्यक्तिलगायत कर्मचारी उपमहानगर पठाएको छ । तर शिक्षा अधिकारीले समन्वय नगर्दा तलब निकासा गर्न समस्या भएको उपमहानगरले जनाएको छ । नेपालगन्ज ११ कल्लुपुरस्थित नेराप्राविका प्रधानाध्यापक तथा शिक्षक परिषदका अध्यक्ष व्रिजेशबहादुर सिंहले चार महिनादेखि पारिश्रमिक नपाउँदा पढाउन मन नलागेको बताए ।

‘भोकभोकै कसले काम गर्न सक्छ ? हामीलाई धेरै कुरा थाहा छैन । काम गरेपछि पारिश्रमिक पाउनुपर्‍यो,’ उनले कान्तिपुरसँग भने, ‘पारिश्रमिकको कुरा गर्दा नगरपालिकाले दिएन भन्ने । नगरपालिकाका अधिकारीसँग कुरा गर्दा कागजात आएको छैन भनेर जवाफ दिने गरेका छन् ।’ केही दिनभित्र पारिश्रमिक निकासा नगराए सम्पूर्ण शिक्षकले विद्यालय बन्द गर्ने चेतावनी उनले दिए । शिक्षकले तलब मागेर हैरान पारेको गुनासो गरे ।

‘स्थानीय सरकारमा शिक्षा क्षेत्र गाभिएपछि सहज हुने आस थियो तर उल्टो भयो । पारिश्रमिक पनि पाउन मुस्किल छ,’ उनले भने, ‘शिक्षा र नगरपालिकाको हाकिमको लडाइँमा हामीलाई मिच्ने काम गर्नु भएन ।’

उपमहानगरका अधिकारीले शिक्षाका कर्मचारीले समन्वय नगरेको बताउँछन् । शिक्षाका लागि कोठा उपलब्ध गराएको छ । उनीहरूका अनुसार शिक्षाका कर्मचारी समन्वय नगरी बिदामा बस्ने गरेका छन् । उनीहरूले गरिरहेका कामबारे जानकारी नगराउँदा समस्या देखिएको हो ।

जिल्ला शिक्षा अधिकारी भीमबहादुर सावदले शिक्षा कर्मचारी र उपमहानगरपालिकाका अधिकारीसँग समन्वय भइरहेको बताए । ‘म आफंै गएर समन्वय प्रयास गरिरहेको छु । तर उपमहानगर कर्मचारीले केही प्राविधिक समस्या देखाइरहनु भएको छ,’ उनले भने, ‘शिक्षक, कर्मचारीलाई तलब–भत्ता खुवाउने बजेटमा केही कमी भएकाले पनि समस्या भएको हुन सक्छ ।’

नेपालगन्ज उप महानगरपालिका उपप्रमुख उमा थापा मगरले शिक्षाका अधिकारीहरूको व्यक्तिगत टकरावका कारण समस्या देखिएपछि समाधान क्रममा रहेको बताइन् । उनले शिक्षकलाई तलब खुवाउन प्रक्रिया सुरु भइसकेको जानकारी दिइन् । ‘केही प्राविधिक समस्या मात्रै हो, ठूलो केही छैन । शिक्षा शाखा पनि विस्तारै एउटा फर्मेटमा आउनेछ,’ उनले भनिन्, ‘शिक्षामा देखिएको समस्या केही दिनमै समाधान गर्छौं ।’

स्रोतव्यक्ति केशव पौडेलले नेपालगन्ज उपमहानगरकास्थित विद्यालयका शिक्षकलाई चार महिना तलब नपुग्ने गरी बजेट विनियोजन भएको दाबी गर्छन् । दसैंलगायत भत्तासमेत शिक्षकको काटिएको उनको गुनासो छ । ‘तर पनि शिक्षकलाई तलब खुवाउन १५ दिनअगाडि नै विवरण पठाइसकेका छौं । तलब निकासा भएको छैन,’ उनले भने, ‘उपमहानगरलाई भन्ने ठाउँ दिएका छैनौं तर के कारणले तलब निकासा भएन थाहा भएन ।’

नेपालगन्ज उपमहानगरभित्र गाभिएका स्वास्थ्य, कृषि, महिला तथा बालबालिकालगायत निकायले भने सहजताका साथ काम अगाडि बढाएका छन् । तर हजारौं बालबालिकाको भविष्यसँग जोडिएको शिक्षा क्षेत्रले प्रभावकारी काम गर्न नसक्दा समस्या भएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?