कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा बीच भलिबल प्रतियोगिता सुरु

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि बबई नदी किनारमा ‘मेयर कप बीच भलिबल प्रतियोगिता’ शुरु भएको छ । पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यका साथ खेल आयोजना गरिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । 

दाङमा बीच भलिबल प्रतियोगिता सुरु

खेल उद्घाटन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खेलले अनुशासित र सभ्य नागरिक निर्माण गर्न सघाउ पुर्‍याउने बताए । ‘खेलले अनुशासित नागरिक तयार पार्ने माध्यम हो । यसले समूहमा काम गर्न सिकाउँछ,’ उनले भने,‘नदी किनारमा खेलको शुरुवात गर्नु नौलो र उदाहरणीय काम हो ।’ राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले दाङलाई बबई बीचलार्इ खेलको केन्द्रका रुपमा बिकास गर्ने बताए ।


तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको महिला/पुरुषतर्फ विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश: नगद २५, १५ र १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पाउनेछन् ।


बुधबार नक आउटको आधारमा खेलिएका चार खेलमा चार वडाले विजयी शुरुवात गरेका छन् । जसमा वडा नं.६ लाई २१–९, २१–१२ को सोझो सेटमा पराजित गर्दै वडा नं.१८ विजयी भयो ।


यसैगरी वडा नं.८ लाई १९–२१, २१–१२ र १५–११ अर्थात दुई एकको सेटमा पराजित गरी वडा नं.१५ विजयी भएको छ । १७ नं. वडालाई २१–९ र २१–१२ को सोझो सेटमा पराजित गरी वडा नं. १२ विजयी भएको छ ।


यस्तै २ नं. वडालाई २१–११ र २१–१३ को सोझो सेटमा पराजित गरी ११ नं. वडा विजयी भएको छ । बिहिबार वडानं. १६ र १० को पहिलो तथा १ र १३ को दोस्रो खेल हुने खेलकूद पत्रकार संघका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए । खेलमा १७ पुरुष र १० महिला समूह सहभागी भएको उनले बताए । हरेक टिममा २/२ जना खेलाडी रहेका छन् ।


प्रकाशित : फाल्गुन २३, २०७४ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?