कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यासमा आफूखुसी मूल्य

प्यूठान — खाना पकाउने एलपी ग्यासमा यहाँका व्यवसायीले आफूखुसी मूल्य असुल्दा उपभोक्ता मारमा परेका छन् ।

ग्यासमा आफूखुसी मूल्य

ग्यास बिक्री गर्दै आएका व्यापारीले सरकारी दररेटको उल्लंघन गर्दै वर्षौदेखि व्यापार गरिरहेका हुन् । ग्यास कम्पनीले जिल्लामा धुवानीको व्यवस्था नमिलाउँदा सरकारी दररेटमा ग्यास बिक्री गर्ने नसक्ने व्यपारीले बहाना बनाइरहेका छन । कम्पनीले भने प्रतिसिलिन्डर प्यूठानमा ३५ रुपैयाँ धुवानीबापतको भुक्तानी दिँदै आएको बताउँछन् ।

नेपाल आयल निगमले तोकेको दररेटभन्दा व्यपारीले प्रतिसिलिन्डर १ सय ५० देखि २ सय रुपैयाँसम्म बढी असुल्ने गरेका छन् । ग्यासको दर १ हजार ३ सय ४३ रुपैयाँ सरकारले तोकेको भए पनि यहाँ १ हजार ४ सय २५ देखि १ हजार ५ सय ७५ रुपैयाँसम्ममा बिक्री हुन्छ । कम्पनीका डिलर (आधिकारिक बिक्रेता) को भाउमा समेत एकरुपता छैन । राप्ती ग्यासको डिलर लिएका बाग्दुलाका केदारमान कक्षपतिले सब–डिलरलाई १ हजार ३ सय ८० मा बिक्री गर्छन् ।

कम्पनीका सतबरीया म्यानेजर राजन भट्टराईले प्यूठानको डिलरले १३ सय ७५ भन्दा बढी लिन नहुने बताए । ‘ढुवानीबापत प्रतिसिलिन्डर ३५ रुपैयाँ हामीले डिलरलाई दिने गरेका छाैं,’ भट्टराईले भने, ‘ढुवानी लिएर उपभोक्ता ठग्न पाइँदैन ।’ डिलरबाट लिएकाले सब–डिलरमा गाडी भाडा, लोड, अनलोड र नाफा राखेर बिक्री गर्दा उपभोक्ता प्रतिसिलिन्डर २ देखि ३ सय रुपैयाँसम्म ठगिने गरेको खलंगाका दिनेश श्रेष्ठले बताए । ‘प्यूठानमा राप्ती डिलरले एकाधिकार गर्दा धेरै उपभोक्ता मारमा परेका छन्,’ श्रेष्ठले भने, ‘हेर्ने कस्ले हो ?’ उनले उपभोक्ता सोझै ठगिँदा सरोकारवाला मौन बसेको बताए ।

राप्ती ग्यासले एउटामात्र डिलर दिँदा प्रतिस्पर्धा नभएकाले उपभोक्ता मारमा परेको उनको भनाइ छ । तोकेको मूल्यभन्दा डिलरले उपभोक्ताबाट बढी असुल्न नपाउने नेपाल आयल निगमका मध्यपश्चिम क्षेत्रीय प्रमुख विनितमणि उपाध्यालले बताए । ‘ग्यास बिक्री गर्ने कम्पनीले डिलरसम्म ढुवानी गरिदिनुपर्छ,’ उनले टेलिफोनमा भने, ‘राप्ती ग्यासमा भएको गुनासोबारे कम्पनीमा बुझ्नेछु ।’

प्यूठानमा भेरी, मनकामना र राप्तीले ग्यास वितरण गर्दै आएका छन् । सबै कम्पनीका जल्लामा झन्डै ७ हजार सिलिन्डर उपभोग गर्ने ग्राहक छन् । डिलर लिएकाले सिन्डिकेट लगाएका छन्,’ बिजुवारका एक व्यापारीले भने, ‘डिलरले बिक्रीका लागि एउटालाई मात्र राख्दा मनपरी भएको हो ।’ उनका अनुसार कम्पनी, डिलर र केही सीमित व्यक्तिले प्रतिस्पर्धा हुन नदिने वातावरण बनाएर उपभोक्ताको ढाड सेकिरहेका छन् ।

आफूहरूले दिने सबडिलरका मूल्यमा एकरुपता ल्याउने कोसिस गर्ने राप्तीको आधिकारिक डिलर प्रतिनिधि कक्षपतिले बताए । ‘जिल्लाको ग्रामीण क्षेत्रमा एकरुपता दिन सकिँदैन,’ उनले भने, ‘अब बाग्दुलादेखि दाखाक्वाडीसम्म एकरूपता गर्नेछौं ।’ उनले १ हजार ४ सय २० भन्दा बढी नलिन सबै सबडिलरलाई आग्रह गर्ने बताए । बढी मूल्य लिएर बेचे सब–डिलरलाई ग्यास नै नदिने बताएका छन् ।

प्रकाशित : चैत्र ३, २०७४ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?