कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पतिविरुद्ध बलात्कार मुद्दा

बर्दिया — ठाकुरबाबा नगरपालिका १ सिंहवाहिनीकी ३६ वर्षीया महिलाले जबरजस्ती करणी आरोपमा पतिविरुद्ध आइतबार मुद्दा दायर गरेकी छन् ।

स्थानीय तारादेवी बोहोराले दिनहुँ यातना दिँदै बलात्कार गरेको भन्दै प्रहरीमा श्रीमान् कालिबहादुरविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।

पतिले मदिरा सेवन गरी दिनहुँ कुटपिट र शारीरिक यातनासँगै जबरजस्ती करणी गरेको आरोप पाँच सन्तानकी आमाले आइतबार जिल्ला प्रहरी गुलरियामा उजुरी दर्ता गराएकी छन् । लामो समयदेखि दम्पतीबीच बेमेल बढेपछि गत कात्तिकमा जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो । ‘सम्बन्धविच्छेद मुद्दा टुंगो नलाग्दै श्रीमान्ले मेरो इच्छाविपरीत जबरजस्ती गरे,’ उनले भनिन्, ‘कति पीडा सहनु भनेर बाध्य भई मुद्दा हाल्नु पर्‍यो ।’

कालीबहादुर ५२ वर्षका छन् । उनीहरूबीच ०५३ सालमा विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि घरमा तनाव सुरु भएको हो । बोहोराका ४ छोरी र १ छोरा छन् । श्रीमान्ले सन्तानमाथि पनि कुटपिट गर्दै आएको उनले बताइन् । नेपाली सेनाका पूर्वहवल्दार बोहोराले १४ वर्षअघि अवकाश लिएका थिए ।

पतिले घर खर्च नदिएका कारण फलफूलको पसल राखेर गुजारा चलाउँदै आएको उनले बताइन् । बोहोराको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको थियो । शरीरका केही संवेदनशील अंगमा चोटपटकसमेत लागेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक जनक भट्टराईले श्रीमान्बाट जबरजस्ती गरेको महलअन्तर्गत मुद्दा दायर गरिएको जनाए ।

यस्तो मुद्दा दर्ता भएको जिल्लामा पहिलो हो । पति पत्नीबीच बोलचाल बन्द भएको १८ महिना भएको छ । ‘श्रीमती बसेको कोठामा गएको हुँ,’ पतिले भने, ‘उनले कुटपिट र अभद्र व्यवहार ममाथि गर्थिन् यस्तो अवस्थामा बलात्कार हुने प्रश्नै उठ्दैन ।’

प्रकाशित : चैत्र ५, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?