कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौद्ध विश्वविद्यालय समस्यामा

बुटवल — विश्वभर बौद्ध शिक्षा फैलाउने र बौद्धमार्गीलाई अध्ययन गर्न बुद्ध जन्मस्थल ल्याउने उद्देश्यले खोलिएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनादेखि नै समस्यामा छ ।

बौद्ध विश्वविद्यालय समस्यामा

बौद्ध दर्शनको सही व्याख्या र चरित्र निर्माण गर्ने शिक्षा दिन बौद्ध मुलुकहरूको माग र दबाबले स्थापना गरिएको विश्वविद्यालयलाई राज्यले सुरुदेखि नै अपनत्व महसुस गर्न नसक्दा समस्याले गुज्रिएको हो । आवश्यक विद्यार्थी, जनशक्ति र पूर्वाधार नहुँदा विशिष्टकृत विश्वविद्यालयले समस्या झेलेको छ । यसले विश्वविद्यालयमा चलेका, विद्यार्थीले रुचाएका र वर्तमानमा आवश्यक ठानिएका प्रस्तावित धेरै शैक्षिक कार्यक्रम पनि चलेका छैनन् । ‘विशिष्टकृत विश्वविद्यालय भए पनि विद्यार्थीका टाउका गनेर शिक्षक राख्दा समस्या छ,’ रजिस्ट्रार तिलक आचार्यले भने, ‘खोजेका र रोजेका विषय राख्न सकिएको छैन ।’ केन्द्रीय कार्यालय लुम्बिनीमा रहेको यसको लुम्बिनीसहित बुटवल र काठमाडौंमा पढाइ हुन्छ । जसमा २ सय ७२ विद्यार्थी छन् । केन्द्रीय क्याम्पसमा बिहान ब्याचलर अफ बुद्धिजम इस्टडी पढाइ हुन्छ । साँझमा स्नाकोत्तर तह पढाइ हुन्छ । छोटो समयमा पाली भाषाका कक्षा चलाइएको छ । बुटवलमा भने दिउँसोमा ट्राभल एन्ड टुरिजम पढाइन्छ । यसका लागि २९ शिक्षक र २६ कर्मचारी छन् ।


क्याम्पसका पूर्वप्रमुख इन्द्रप्रसाद काफ्लेले ऐनमा राज्यबाट नभई जनस्तरबाट सञ्चालन गरिनेछ भनी उल्लेख गरिनाले पनि समस्या परेको बताए । ‘यसले गर्दा राज्य विश्वविद्यालय सञ्चालन गर्ने जिम्मेवारीबाट पन्छेको छ,’ उनले भने, ‘विश्वविद्यालयलाई पनि आर्थिक सहयोग जुटाउन र विदेशीसँग सम्झौता गरी विज्ञ ल्याउन समस्या परेको छ ।’


सुरुमै लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्र बुद्ध मावली देवदह, सिद्धार्थ हुर्केको तिलौराकोट र अष्टधातु रहेको रामग्रामसम्म एकेडेमिक सर्किट बनाउने लक्ष्य थियो । शाखा विस्तारका लागि जग्गा खोजेको एक दशक बिते पनि अझै व्यवस्थापन गर्न सकेको छैन । यसले विश्वभर बौद्ध शिक्षा फैलाउने उद्देश्यले १२ वर्षअघि स्थापना भए पनि बुद्ध जन्मस्थल लुम्बिनीमै खुम्चिएको छ । विश्वविद्यालयका रजिस्ट्रार आचार्यले जग्गा व्यवस्थापन नहुँदा अहिलेसम्म त्यो काम पूरा नभएको बताए । बौद्ध क्षेत्रमा जान नसके पनि यो वर्षबाट बुटवलमा स्नातक तहमको बौद्ध शिक्षामा ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट सुरु गरेको उनले बताए ।

पत्रकार सम्मेलनका सहभागी ।तस्बिर : अमृता


विश्वविद्यालय २ बिघा ३ कट्ठा क्षेत्रफलमा साँघुरो गरी बनाएको शैक्षिक र प्रशासनिक भवनमा थियो । अहिले मात्रै गुरुवनीयमा छात्र र शिक्षक आवास तथा लुम्बिनी विकास कोषले दिएको जग्गामा छात्रा आवास बनाइरहेको छ । यसअघि छात्रवासको व्यवस्था नहुँदा बुद्ध दर्शनमा आकर्षित विद्यार्थीले पढ्न पाएका थिएनन् । कक्षामा विद्यार्थी उपस्थिति पनि एकदमै न्यून छ । क्याम्पसका निमित्त डिन माणिकरत्न शाक्यले बौद्ध शिक्षाको महत्त्व र प्रचार बल्लबल्ल सुरु भएकाले धेरै विद्यार्थी नआएको बताए । आगामी सत्रदेखि छात्रवासकै कारण विद्यार्थी नआउने समस्या नरहने उनको दाबी छ । विश्वविद्यालयले एक आंगिक क्याम्पससहित नौ वटालाई सम्बन्धन दिएको छ । त्यसमा विद्यावारिधि, स्नाकोत्तर, स्नातक, पीजीडी र प्रमाणपत्र तह सञ्चालन गरेको छ । जसमा २ विदेशीसहित ४ सय ४७ विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये आंगिक क्याम्पसमा १ सय ७५ छन् । सम्बन्धनप्राप्त क्याम्पसमा २ सय ७२ अध्ययनरत छन् ।


विसं ०५५ मा लुम्बिनीमा सम्पन्न प्रथम विश्व बौद्ध शिखर सम्मेलनले दुई वर्षभित्र लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव पारित गरेको थियो । ६ वर्ष बेवास्ता गरेको सरकारले दोस्रो विश्व बौद्ध शिखर सम्मेलन सुरु हुन एक दिनअघि मात्रै २०६१ मा अध्यादेशमार्फत् लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको घोषणा गरेको थियो । स्थापनाको झन्डै ८ वर्षपछि लुम्बिनीमा स्नाकोत्तर, काठमाडौंमा स्नाकोत्तर र विद्यावारिधिका लागि बौद्ध दर्शन पढाउन थालेको थियो । बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय पहिचान दिँदै नेपालकै फरक शैक्षिक संस्थाका रूपमा स्थापित गर्न प्राज्ञिक गुरुयोजनाको मस्यौदा तयार गरेको छ । नयाँ गुरुयोजनाअनुसार विश्वविद्यालयमा थेरवाद, महायान, वज्रयान, बौद्ध इतिहास, बुद्धिस्ट कला र पुरातात्त्विक, हिमालयन बुद्धिजम, बुद्धिजम एन्ड मेडिसिन, टुरिजम एन्ड गाइडलगायत १४ विभाग छन् ।


पहिलोपटक दीक्षान्त
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलोपटक दीक्षान्त समारोह गर्न लागेको छ । विश्व सम्मेलनको शैक्षणिक संयोजन गरेको विश्वविद्यालयले दोस्रो दिन अर्थात् वैशाख १६ मा दीक्षान्त गर्न लागेको हो । त्यस क्रममा स्नातकोत्तर तहका ९१ र विद्यावारिधिका १६ विद्यार्थी सहभागी हुनेछन् । त्यसमा एक भारतीय विद्यार्थीसमेत छन् । विश्वविद्यालयबाट अहिलेसम्म ३ सय विद्यार्थी उत्तीर्ण गराए पनि फारम नभरेपछि छुटेका हुन् । आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी रजिस्ट्रार तिलक आचार्यले विशिष्ट विश्वविद्यालय रहेकाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर दीक्षान्त समारोह गर्न लागेको बताए । सम्मेलनमा २३ देशका बौद्ध विद्वान् सहभागी हुनेछन् । सम्मेलनमा सहभागी दीक्षान्त समारोहमा कुलपतिका हैसियतमा प्रधानमन्त्री केपी ओलीले अध्यक्षता गर्नेछन् । प्रमुख अतिथिका रूपमा भने श्रीलंकाका बौद्ध विद्वान् तथा बुद्धिस्ट एन्ड पाली युनिभर्सिटी अफ श्रीलंकाका उपकुलपति भिक्षु प्राडा गल्ल्याले सुमनसिरी थेरो आउनेछन् ।

प्रकाशित : वैशाख ३, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?