कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

प्रदेश ५ मा कर बृद्धि हुदैन : मन्त्री केसी

जनताको चाहना बमोजिम विकासका काम गर्न जनप्रतिनिधिलाई निर्देशन
काशीराम डाँगी

रोल्पा — प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकारलाई आर्थिक स्रोतको खाँचो भएपनि तत्कालै कर बृद्धि गर्ने योजना नभएको बताएका छन् ।

प्रदेश ५ मा कर बृद्धि हुदैन : मन्त्री केसी

आन्तरिक स्रोत बढाउन कर बृद्धि गर्नुपर्ने चर्चा भइरहेका बेला मन्त्री केसीले कर बढाउने योजना नभएको बताए । उनले कर बढाएर जनतामाथि अन्याय नगर्ने प्रतिबद्धता समेत जनाए ।


‘कर बृद्धि गर्नु भन्दा करको दायरा फराकिलो पार्ने योजना छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ,’ रोल्पा उद्योग वाणिज्य संघको रजत वर्ष मनाउन सोमबार लिबाङमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले भने, ‘जनतालाई भार नपर्ने गरी कानुन बनाउने कार्यमा सरकार लागिपरेको छ ।’


मन्त्री केसीले प्रदेशभित्र अपराध, विकास, अन्याय, सामाजिक न्याय स्थापना लगायतका विषयमा कानुन बनाउने योजना रहेको बताए । उनले प्रदेश सरकारले स्थिति पत्र सार्वजनिक गरेकाले त्यसको आधारमा सबै क्षेत्रको विकास गर्ने योजना रहेको बताए ।


मन्त्री केसीले दोहोरो कर भए समाजमा असमानता बृद्धि हुने भन्दै अब दोहोरो कर नहुने बताए । उनले दुई महिनाभित्र कर लगायतका कानुन पारित गर्ने योजना रहेको सुनाए । ‘अन्तरप्रदेशीय कर निर्धारण संघीय सरकारले गर्ने भएकाले हामीले त्यसबाहेक कानुन बनाउनुपर्छ,’ मन्त्री केसीले भने । सदनमा कर पुनरावलोकन, सुरक्षा व्यवस्था, जनचाहना, विकास लगायतका बारेमा छलफल सुरु भइसकेको उनले बताए ।


प्रादेशिक बित्त आयोग र योजना आयोग गठन गरिएको बताउदै मन्त्री केसीले कानुन आयोग निर्माणबारे छलफल सुरु भएको बताए । उनले रोल्पा, रुकुम र प्युठानलाई अर्गानिक जोनका रुपमा विकास गरिने योजना सुनाए ।


अधिकार विकेन्द्रीकरण भएकाले स्थानीय तहमा विकासको गति बढाउनु पर्ने समय आएको मन्त्री केसीले जनप्रतिनिधिलाई सुझाव दिए । ‘प्रदेशभित्रका सबै जिल्ला बीच समन्वय गरेर समग्र विकास गर्नु पर्नेछ,×’ उनले भने ।


उनले स्थानीय तहलाई जनताको पक्षमा काम गर्न निर्देशन दिदै जनप्रतिनिधिलाई जनताको सहयोगी भएर काम गर्न आव्हान गरे । ‘गास, बास र कपास लगायतको समस्याबारे गम्भीर भएर त्यसको पूर्ति गर्ने तर्फ लाग्न स्थानीय तहका प्रतिनिधिलाई आग्रह छ,’ उनले भने, ‘जनताको विकासलाई नै मुख्य प्राथमिकतामा पार्नु पर्छ ।’


कार्यक्रममा प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिका ढकाल, केन्द्रीय सदस्यहरु किशोर आचार्य, धु्रव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महरा, जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढामगर लगायतले शुभकामना दिए । रोल्पा उद्योग वाणिज्य संघको सातौं कार्यसमितिका अध्यक्षमा विश्वकुमार चन्द निर्बिरोध निर्वाचत भएका छन् ।

प्रकाशित : वैशाख ३, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?