जग्गा सस्तिने डरले बाँझो

उद्योग व्यवसाय, जागिर र वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदा धान फल्ने खेत खेर गए
कान्तिपुर संवाददाता

परासी — स्थानीय तहले बढ्दो प्लटिङ रोक्न भूमि नीति ल्याउने र कढाइ गर्ने भने पनि जिल्लामा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो छ ।

ग्रामीण क्षेत्र र पहाडबाट बसाइँ सर्ने क्रम बढेपछि तराईको खेतीयोग्य जमिन बाँझिँदै गएको हो । धमाधम बाटो खोल्ने र प्लटिङ गर्ने क्रम बढेपछि उर्वरभूमि प्रयोगविहीन बनेको छ । जिल्लाका मुख्य व्यापारिक केन्द्र बर्दघाट, सुनवल, परासी र आसपासमा धमाधम प्लटिङ हुन थालेको छ । बजारमा बस्तीका लागि घडेरी सकिएको भन्दै घरजग्गा कारोबारीले अहिले गाउँगाउँ पुगेर बिजुलीको पोल गाड्ने र बाटो खन्ने गरिरहेका छन् । हकुहीका भुवन यादवका अनुसार बढ्दो औद्योगिकीकरण, बस्ती विकास र काम गर्ने युवा विदेशिएकाले खेती गर्न छाडिएको छ ।

‘सर्वसाधारणले समेत खेती गर्‍यो भने जग्गाको मूल्य सस्तो हुने भन्दै बाँझै राखेर ग्राहक खोज्न थाले,’ उनले भने, ‘मेहनत नगरी छिट्टै पैसा कमाउन चाहनेका कारण जग्गाको मूल्यसमेत अस्वाभाविक रूपमा बढेको छ ।’ सडकलाई छोएको जग्गा उद्योग र घडेरीका लागि भन्दै बाँझो राख्दा छिट्टै बिक्री हुने भएकाले खेती नगर्ने क्रम बढेको उनले बताए । कृषिले परिश्रम पनि नउठ्ने, बजार नपाउने तथा मजदुरसमेत पाउन छाडेपछि यस क्षेत्रका अधिकांशले व्यवसाय, जागिर र वैदेशिक रोजगारीलाई प्राथमिकता दिएकाले जग्गा बाँझो रहेको हो । रामग्राम नगरपालिकाले बढ्दो प्लटिङ तथा अव्यविस्थत बसोबास रोक्न नगरभित्र विभिन्न खेतीको ब्लक छुट्टाउने तथा बसोबासका लागि पनि दीर्घकालीन योजना बनाएको छ ।

नगर प्रमुख नरेन्द्र गुप्ताका अनुसार कृषिमा पनि आलु, मकै, धान, माछापालन, बदामजस्ता खेतीलाई प्रोत्साहन गरेर किसानले कृषिबाटै आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाउने गरी काम भइरहेको उनले बताए । ‘हामीले भूउपयोग नीतिबारे औद्योगिक, कृषि क्षेत्र, बसोबास र व्यावसायिक क्षेत्र गरेर दीर्घकालीन योजना बनाउँदैछौं,’ उनले भने, ‘कृषि बजार सुनिश्चितता र अनुदान वृद्धि गरेर बाँझो राख्नेलाई खबरदारी गर्न सकियो भने धमाधम खेती सुरु हुन्छ ।’

खेतीयोग्य जमिन त्यसै छाडेर सुविधाका लागि बजार आउनेले प्राय: प्लटिङ जग्गा किन्ने गर्छन् । जसले गर्दा पहाडी क्षेत्रमा खाली रहने तथा बजारमा खेतीयोग्य सकिँदै गएको छ । ग्रामीण क्षेत्रमा अधियाँ कमाउने, अर्मपर्म गर्ने प्रचलन हट्नु, सिँचाइ प्रबन्ध नहुनु तथा युवा जनशक्ति विदेश पलाएन हुनुले पनि स्थानीयले खेती गर्न छाडेका हुन् । खेती गर्न छाडेपछि जमिनको उर्वराशक्ति घट्दै गएको र बाँझो बढेको कृषि कार्यालयले बताएको छ ।

मालपोत परासीमा मात्र दिनकै ५० भन्दा बढी जग्गा पासका लागि आउने गर्छन् । पश्चिम नवलपरासीको मुख्य राजमार्ग आसपासमा अहिले जग्गा निकै महँगो भएको छ । कृषिमा भन्दा पढेलेखेका युवा विदेश पलायन वा स्वदेशमै भए पनि जागिर र व्यवसायमा लागेपछि सयौं हेक्टर जमिन प्रयोगविहीन भएको हो । कृषि विकास कार्यालयका अनुसार ७९ हजार १ सय ४९ हेक्टर खेतीयोग्य जमिनमध्ये ७० हजार १ सय ४९ मा खेती गरिन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ १०:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘गाउँलाई नमुना बस्ती बनाउँछु’

कान्तिपुर संवाददाता

काठमाडौँ — २०४५ सालमा विद्यार्थी राजनीति थालेका लेखनाथ पोखरेल हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष छन् । लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका पोखरेलले स्थानीय तहको नेतृत्वमा रहेर गाउँलाई नमुना बस्ती बनाउने प्रण गरेका छन् । आफ्नो पालिकालाई समृद्ध बनाउन के–के योजना छन् ? यसबारे कान्तिपुरकर्मी वीरेन्द्र केसीले गरेको कुराकानी :

निर्वाचन सकिएको ८ महिनाको उपलब्धि ?
शून्यबाट विकास निर्माणका काम गर्नुपर्ने, ऐन, नियम, विनियम र कार्यविधि तयार गरी स्थानीय सरकारको जनअपेक्षाअनुसार आशालाई निराशामा परिणत हुन नदिने गरी कार्यसम्पादन गर्नुपर्ने दायित्व मैले महसुस गरेको छु । यसमा जनताका अपेक्षा, सीमित साधन स्रोत, राज्य संयन्त्रको राष्ट्रसेवक कर्मचारी खटनपटनको समस्या जटिलताकै रूपमा देखिए पनि सबै चुनौतीलाई अवसरमा परिणत गरी जिम्मेवारी बोधसाथ विकास निर्माणका गतिविधि भइरहेका छन् ।

गाउँपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था के छ ?
नयाँ संरचनाअनुसार स्वास्थ्यचौकीमा औषधिको अभाव हुन नदिने, अकाल मृत्युबाट आमजनताले मृत्युवरण गर्न नपरोस् भनेरै प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट र अर्घातोष स्वास्थ्यचौकीमा दुईवटा एम्बुलेन्स व्यवस्था गरिएको छ । यो पालिकाको सबै भूगोललाई समेट्ने गरी सञ्चालनमा ल्याइएको छ । चिदिका र छत्रगञ्जमा दुई स्वास्थ्यचौकीका भवन करिब ५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेका, ठूलापोखरा र भगवतीमा स्वास्थ्य चौकी भवन निर्माण गर्न सम्झौता हुँदैछ ।

कृषि र पशुपालनमा कस्ता योजना छन् ?
कृषिमा विनियोजन गरेको रकमलाई वडागत रूपमा कहाँ के उत्पादन हुन्छ, माटो परीक्षण गर्ने र उत्पादनमूलक खाद्य, तरकारी, फलफूल अनि मसलाबाली खेतीमा लगानी गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत ८ वटै वडालाई तरकारी जोनका रूपमा विकास गर्न थालिएको छ । गाउँपालिका ७ मा एक घर एक करेसाबारी कार्यक्रम अघि सारिएको छ । सबै जग्गामा माटो परीक्षण ल्याब स्थापना गर्ने काम सुरु भएको छ । पशुपालनको क्षेत्रमा नि:शुल्क तथा अनुदानमा राँगा वितरण, बोयर जातका बाख्रा वितरण र कखुरा तथा मौरीपालनका लागि विशेष कार्यक्रम ल्याई ‘मेरो घर रोजगारीको भर’ नारासाथ कृषि र पशुपालन क्षेत्रलाई अत्यधिक महत्त्व दिएर अघि बढाएको छ ।

पूर्वाधार विकासका काम ?
सन्धिखर्क–तम्घास मोटरबाटो यही असार १५ भित्र एसएनआरटीपी प्रोजेक्टमार्फत सन्धिखर्क–बल्कोट पिच, बल्कोट–देउराली–नेटा ग्राभल हुँदैछ । रिडी–खज्र्याङ मोटरबाटोअन्तर्गत पर्ने खज्र्याङ–बल्कोट विस्तार एवै स्तरोन्नति र सबै वडाभित्रका अन्य सडकलाई स्तरोन्नति गरिएको छ । पाटी–ठूलापोखरा मोटरबाटो ग्राभेलका लागि आव ०७४/७५ को बजेटमा ४५ लाख रुपैयाँ विनियोजन भई टेन्डरसमेत आह्वान भयो । मठ, मन्दिर, मदरसा मस्जिद सम्बद्धका योजना अगाडि बढाएका छौं । काठे पोलमुक्त बनाउने अभियानस्वरूप यसै आवमा ९ सय ६७ फलामे पोल टेन्डर स्वीकृत भई सम्झौताको चरणमा छ ।

गाउँपालिकालाई कसरी समृद्ध बनाउनुहुन्छ ?
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन एवै भौतिक पूर्वाधारका विकासलाई गुरुयोजनाकै प्रारूप दिई आधुनिक प्रविधियुक्त शिक्षा, चुस्त स्वास्थ्य व्यवस्था, आधुनिक कृषि प्रणाली एवं नगदेबालीको उत्पादनलाई प्रोत्साहन दिइनेछ । यस्तै अण्डा, मासु र दूध उत्पादन, पशुपालनबाट आत्मनिर्भर बनाउँदै भौतिक संरचना वृद्धि र विकास गरी स्वस्थ खानेपानी तथा सरसफाइयुक्त सभ्य समाजको निर्माणमा दीर्घकालीन सोचसाथ योजनाबद्ध ढंगबाट अगाडि बढ्दै पालिकाभित्रका अदक्ष जनशक्तिलाई अर्धदक्ष र दक्ष जनशक्तिमा रूपान्तरण गर्न विभिन्न संघसंस्थासँग समन्वय गरी सीपमूलक तालिम सञ्चालन गरी स्वस्थ, समुन्नत र समृद्ध पालिका बनाउने लक्ष्य छ ।

सिँचाइ समस्या कसरी समाधान गर्ने योजना छ ?
पालिकाभित्रका खेतीयोग्य भूमिमा विभिन्न सिँचाइ योजना सञ्चालन गरी अगाडि बढ्ने क्रममा चौवाटार सिँचाइको डीपीआर तयार गरी अघि बढेको छ । अन्य वडाका ठूलाबगर सिँचाइ, दाम्जिङटार सिँचाइ, म्याले सिँचाइ, बौआ सिँचाइ, जुम्लिकुलो सिँचाइलगायत योजना पालिकास्तरबाटै अगाडि बढेका छन् । वन्यजन्तुबाट बालिनाली संरक्षण गर्नका लागि आव ०७४/७५ को गाउँसभाबाट बजेट विनियोजन गरी जोगाउने उपाय भइरहेको छ ।

खानेपानीका समस्या छन् नि ?
भौगोलिक हिसाबले असाध्यै सुन्दर भए पनि खानेपानीको अभावका कारण यस क्षेत्रका बासिन्दा काकाकुलको जीवन जिउनुपर्ने अवस्थादेखि निर्वाचनका बेला जनतासँग वाचा गरेअनुरूप सुख्खा क्षेत्र घोषणासँगै ६० लाख रुपैयाँ विनियोजन भई डीपीआरसमेत तयार भइरहेको छ । करिब दुई दर्जन लिफ्टिङ खानेपानी योजना सञ्चालनका क्रममा छन् । अन्य सानातिना योजनालाई व्यवस्थित गर्दै पानीका मुहान संरक्षण गर्ने अभियान सुरु भएको छ ।

बसाइँसराइ कसरी रोक्नुहुन्छ ?
विभिन्न खाले विकास निर्माण एवं मानवीय आवश्यकताको सुविधायुक्त आशलाग्दा केही विकासका नमुना काम गरी छत्रदेवलाई नै सहरमा परिणत गर्न सकिन्छ, जन्मभूमिप्रति आशा पलाउने खालका विकास निर्माणका कामले दक्ष जनशक्तिलाई गाउँमै रहने वातावरण सिर्जना गरी बसाइँ सरेर पलायन हुने क्रमको अन्त्य गर्ने योजनासाथ अगाडि बढेका छाैं। यो समस्यालाई आशलाग्दा कार्यबाट छत्रदेवलाई नमुना गाउँपालिका बनाई समस्याको समाधान गर्न सकिन्छ ।

पाँच वर्षभित्र गाउँपालिकाको अवस्था कस्तो देखिएला ?
पालिकाभित्र देखिएका विकासका पूर्वाधार विविध खाले समस्यालाई समाधान गर्दै स्थानीय तहको निर्वाचनका बेला बाँडिएको प्रतिज्ञालाई शपथका रूपमा लिई अक्षरस कार्यान्वयन गरी बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने कुराको एक नमुनाको रूपमा चिनाउने संकल्प गरेका छाैं ।

प्रकाशित : वैशाख ४, २०७५ १०:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT