कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘डरलाग्दा मोड’ काटेपछि यात्रा सहज

व्यवसायी भन्छन्– सडक डिभिजनको काम प्रभावकारी भएन
वीरेन्द्र केसी

अर्घाखाँची — पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँची सदरमुकाम ६८ किमि पर्छ । बर्सेनि थपिँदै गएका साना तथा ठूला सवारीसाधनको चापले भीडभाड हुन्छ ।

‘डरलाग्दा मोड’ काटेपछि यात्रा सहज

सन्धिखर्क–गोरुसिंगे खण्डमा धेरै साँघुरा मोड, डरलाग्दा बाटो र ठूला पहरामा छेलिएका घुम्ती मोडले यात्रा कहालीलाग्दो थियो । सबैभन्दा डर सुपादेउराली मन्दिर आसपासको सडक यात्रामा । ढुंगासहितको पहाडबीच बाट सडक छ । साँघुरो र डरलाग्दो भएकाले धेरै यात्रु र चालक यहाँ त्रसित हुन्थे । अब भने यो सडकमा यात्रा भने सहज हुने भएको छ । जिल्ला सदरमुकाम र सुपादेउराली मन्दिर पुग्ने तीर्थयात्रुलाई अब यात्रा सहज हुने भएको छ । २ वर्षदेखि सडकका साँघुरा मोड फराकिलो पारिएपछि यात्रा सजिलो भएको हो ।

महिना दिनयता सुपादेउरालीका मोड काटिँदै छ । ‘पहिला सन्धिखर्कबाट हिँडेपछि पथ्थरकोट नपुग्दासम्म गाडी चलाउन डरै थियो,’ चालक विष्णु बेल्वासेले भने, ‘दुर्घटनाबाट जोगाउन होसियार हुनुपथ्र्याे । मोड फराकिला पारिएकाले अहिले सजिलै पार गर्छौं ।’ डरलाग्दा मोडमध्ये केही फराकिला भए । धेरै अझै बाँकी छन । ‘वर्ष दिनअघि सन्धिखर्कबाट बुटवल जाँदा मोड साँघुरा थिए, कतै गाडी ठोक्किने हो कि भन्ने डर लागेको थियो,’ यात्रु अम्बिका थापाले भनिन्, ‘अहिले त त्यस्तो डर लागेन । केही सुधार भएछन् । सबै मोड फराकिलो पार्नुपर्छ ।’ तराई, भारत र अन्य जिल्लाबाट सुपादेउराली दर्शन गर्न आउने तीर्थालुको भीड पनि उत्तिकै हुन्छ । गोरुसिंगे–देउराली खण्डमा सवारीसाधानको चाप धेरै छ । मन्दिरदेखि लाहुरे टाँसेको सम्म करिब १ किमि सडकमा जो केही पनि डराउँथे ।

‘यो आव सुपादेउरालीको मोड काटियो,’ सडक डिभिजन कार्यालय शिवपुरका इन्जिनियर मनीषकुमार सिंहले भने, ‘अब खतरा छैन । यो खण्डको सबैभन्दा अप्ठयारो मोड काटिएकाले यात्रा सहज छ ।’ मोड काटन २ करोड १९ लाख रुपैयाँको लगानी भएको छ । पत्थरकोटदेखि अगाडिको सडकमा डबल रोड कटिङ, कल्भट, कालोपत्रेसहित फराकिलो पार्न
११ करोड रुपैयाँ बजेट छुट्टयाएर काम भइरहेको छ । ३ वर्षभित्र सक्ने गरी काम सुरु भएको उनले बताए ।

सन्धिखर्क–गोरुसिंगे पूरै सडक डबल कटिङ गर्न आवश्यक छ । तर, बजेट छैन । सडक डबल कटिङ गर्न मन्त्रालयमा बजेट माग गरेको उनले बताए । यही सडकमा बर्सेनि १५ देखि ३० यात्रुको अकालमा ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी नरपानी–फुदवाङ खण्डभित्र दुर्घटना हुन्छन् । बस, जिप, माइक्रो, ट्रिपर, ट्रक, मिनी बस र मोटरसाइकल घुम्तीमा जुध्दा दुर्घटना हुने गरेका छन् । पीच उप्किएर खल्डाखुल्डी परेको ठाउँमा टालटुल गरिए पनि सरर गाडी गुडने खालको छैन । अघिल्ला २ वर्षमा सडक मर्मत, नाली काट्ने, खाल्डा पुर्ने, मोड फराकिलो पार्नेलगायत काममा ४ करोड रुपैयाँ खर्च गरिएको थियो । तर, प्रभावकारी काम भएन । वर्ष दिन नपुग्दै खल्डा उक्किएका छन् । यो वर्ष सुपादेउरालीमा फराकिलो पारिदै गरेको मोडमा बजेट अनियमितता नगरी सहज यात्रा हुने गरी काम हुनुपर्ने आवतजावत गर्ने यात्रुको माग छ ।

सडक डिभिजन कार्यालयको कामप्रति व्यवसायी सन्तुष्ट छैनन् । मोड फराकिलो पर्दा थोरै मात्रै सहज भएको पश्चिम नेपाल बस व्यवसायी संघका सन्धिखर्क प्रमुख कमल भट्टराई बताउँछन् । ‘मोड काटेको माटो ढुंगा सडकमै छन्, वर्षामा हिलो र हिउँदमा धूलो भइरहेको छ,’ उनले भने, ‘नाली पुरिएका छन् । खाल्डाखुल्डी वर्ष दिन नपुग्दै उक्किएर उस्तै छन् ।’ धेरै मोड फराकिलो पार्न बाँकी रहेको उनले बताए । घुम्ती, राताटारी, केन्द्रखोला, बसेरी जंगललगायत ठाउँमा सडक अप्ठयारो रहेको उनले बताए । ‘मोड काटने तर, नाली र सडक सफा नगरेकाले अझै जोखिम छ,’ उनले भने, ‘माटो ढुंगा सडकमै छाडिदिएपछि यात्रा अझै असहज बन्यो ।’ देउराली यातायात व्यवसायी समिति अध्यक्ष योगेन्द्र खडकाले सडक डिभिजनले गरेको काम प्रभावकारी हुनुपर्ने बताए । ‘पहिलेभन्दा केही सहज भए पनि मोड फराकिलो, नाली व्यवस्थापन, खाल्डाखुल्डी सम्याउने काम जति गर्नुपर्ने हो त्यति भएको छैन,’ उनले भने ।

सन्धिखर्कबाट बुटवल, काठमाडौं, पोखरा, दाङ, कृष्णनगर र दिल्लीसम्म दैनिक बस र माइक्रो छुटछन् । देउराली यातायात व्यवसायी समितिका जिप र माइक्रो, पश्चिम नेपाल बस व्यवसायी संघका बस र लंका यातायातका गाडी चल्छन् । मालवाहक गाडी, निजी सरकारी, कम्पनी र मोटरसाइकलले सडकको चाप बर्सेनि बढ्दै छ ।

प्रकाशित : वैशाख ६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?