कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज–कर्णाली उडानमा बिचौलिया

नियमित उडान चार्टरमा परिणत हुँदा सर्वसाधारणलाई सास्ती
ठाकुरसिंह थारू

नेपालगन्ज — नेपालगन्जबाट कर्णाली प्रदेशमा हुने हवाई उडानमा बिचौलिया बढेका छन् । त्यस्ताले प्रवेश पाएपछि नियमितलाई चार्टर उडानमा रूपान्तरण गरेर महँगो भाडा असुल्ने गरिएको छ । यही कारण नियमति उडान घटेका छन् । चार्टर भने बढेका छन् ।

नेपालगन्ज–कर्णाली उडानमा बिचौलिया

नियमित उडान घटेपछि सर्वसाधारण मारमा परेका छन् । मनोमानी भाडा असुल्न नियमित उडानलाई चार्टरमा रूपान्तरण गरिएको हो ।


नेपालगन्जबाट कर्णालीका लागि नेपाल एयरलाइन्स, सीता, तारा, गोमा, मकालु समिट एयरले उडान भर्छन् । कार्गोबाहेक चार्टर उडान गर्न नदिने पक्षमा नेपालगन्जस्थित नागरिक उड्डययन कार्यालय छ । उसले नियमित उडान बढाउन विमान कम्पनीलाई आग्रह गर्दै आएको छ । तर सीता र ताराले अर्को पक्षलाई कर्णाली उडानको जिम्मा दिएका छन् ।


नागरिक उड्ययन प्रमुख प्रतापबाबु तिवारीले चार्टर उडानलाई निरुत्साहित गर्न आफू लागिपरेको दाबी गरे । नियमित उडान बढाउन एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको उनले बताए । ‘नियमितलाई चार्टरमा परिणात गर्न पूर्णरूपमा निरुत्साहित गर्न लागेको छु । उडानका लागि केन्द्रले अनुमति दिने भएका कारण त्यसबारे जानकारी गराइसकेको छु,’ उनले भने, ‘त्यसबारे छानबिन सुरु भइसकेको छ । चार्टर देखाउने परम्परालाई निरुत्साहित गरेरै छाड्छौं ।’


कर्णालीका जिल्लाअनुसार नेपालगन्जबाट एकतर्फी भाडा ४ हजार ५ सयदेखि ८ हजारसम्म पर्छ । जहाज चार्टर (भाडामा) आफूखुसी भाडा लिएर यात्रु राख्ने चलन छ तर नियमिततर्फ भने निश्चित भाडा तोकिएको छ । नियमित उडानका लागि पहिले नै टिकट लिइसकेका सर्वसाधारण चार्टरमा राखिँदैन । जसले गर्दा एक सातासम्म समय कुर्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ ।


‘एयरलाइन्स कम्पनीले चार्टर बढी देखाउन थालेपछि नियमित उडान प्रभावित भएको छ । यो राम्रो होइन । हामी रोक्छौं,’ प्रमुख तिवारीले भने । मुगुमा तारा एयरलाइन्सको जिम्मा भिजिट कर्णालीका राजु कार्कीले लिएका छन् । सीता एयरलाइन्सको जिम्मा सिम्रिका एयर कार्गो सर्भिसका मनोज भारती र भिजिट राराका होमराज भामले लिएका छन् ।


कार्कीले काठमाडौंबाट पर्यटक ल्याउने गरेका छन् । सीताको जिम्मा लिएका भारतीले तारा एयरलाइन्सले अर्को पक्षलाई जिम्मा दिएपछि बाध्य भएर आफूहरूले पनि सुरु गरेको दाबी गरे । ‘ताराले अर्कैलाई जहाज उडानको जिम्मा दिएपछि हामी पनि बाध्य भयौं,’ उनको दाबी छ, ‘तर त्यसो हुँदा पनि बढी पैसा असुली गरेका छैनौं । एयरलाइन्सबीच प्रतिस्पर्धा हुँदा सर्वसाधारणलाई फाइदा भएको छ ।’ ताराका सूचना अधिकारी भीमराज राईले आफैंले एयरलाइन्स सञ्चालन गरिरहेको दाबी गर्दै निजी कम्पनीले चार्टरमा लिन पाउने बताए । ‘निजीले हाम्रो जहाज चार्टर गर्नु स्वाभाविक हो,’ उनी भन्छन् ।


विमान कम्पनीको मनपरी उडानले कर्णाली आउजाउ गर्ने सर्वसाधारण र पर्यटकले सास्ती खेप्नु परेको हो । टिकट किनेपछि कयौं सातासम्म जहाज पखाइमा नेपालगन्ज र सुर्खेत विमानस्थलमा सर्वसाधारण बस्छन् । सातामा एक दिन मात्रै उडान गर्ने नेपाल एयरलाइन्सको उडान अनियमित छ ।


जसका कारण कर्णालीका पर्यटकीय स्थलहरू राराताल, से–फोक्सुन्डो, हुम्ला हुँदै कैलाश मानसरोवर जाने उडान कम्पनीको मार झेलिरहेका छन् । त्यससँगै बिरामी, अत्यावश्यक काम परेका र स्थानीय सर्वसाधारण जहाज कुर्नुभन्दा तीन दिनसम्मको गाडीको यात्रा गर्न बाध्य छन् ।

प्रकाशित : वैशाख ९, २०७५ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?