कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी आयुर्वेदमा आकर्षण

सेवाग्राही नआएर बन्द गर्ने अवस्थामा पुगेकोमा अहिले भीड थामिसक्नु छैन
अमृता अनमोल

बुटवल — आयुर्वेद उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढेको छ । यो बुझेर यहाँस्थित लुम्बिनी आयुर्वेद औषधालयले योग अभ्यास र थेरापी सेवा सुरु गरेको हो । यसले बिरामीविहीन बनेको अस्पतालमा अहिले चाप देखिन्छ । बिरामी अभावले बन्द हुने अवस्थामा पुगेको औषधालयले चालु वर्षदेखि यस्तो सेवा थालेको हो ।

लुम्बिनी आयुर्वेदमा आकर्षण

योगाभ्यासका लागि छुट्टै भवन बनेको छ । हाडजोर्नी बिरामीका लागि थेरापी गर्न पनि छुट्टै कष खोलिएको छ ।

थेरापीलाई आयुर्वेद उपचारमा औषधियुक्त स्नेहन र स्पेदन वाफ भनिन्छ । सोमबार र शुक्रबार गरेर यो सेवा एक दिनमा एक सय जनालाई दिइन्छ । दैनिक ५० भन्दा बढी बिरामी आउने गरेका छन् । परामर्श लिनेको संख्या धेरै छ । प्रत्येक बिहान योगाभ्यासका लागि बिरामी आउने गरेको औषधालयका आयुर्वेद निरीक्षक डा. रमेश केसीले बताए । बिहान ५ देखि साँझ ६ बजेसम्म यस्तो अभ्यास गराइन्छ । यसका लागि करिब सय हाराहारी बिरामी आउँछन् । सोमबार र शुक्रबार हुने थेरापीका लागि त्यत्तिकै संख्यामा आउँछन् । बिरामी बढेपछि औषधालयले प्रयोगशला (ल्याब) सेवा पनि थालेको निरीक्षक केसीले बताए । यहाँ धेरैजसो एलोपेथिक औषधि खाएर निको नभएका बिरामी आउने गरेका छन् ।

रोगका हिसाबमा नसा र हाडजोर्नीसम्बन्धी बिरामी बढी छन् । योसँगै ग्यास्ट्रिक, पिनास, हेपाटाइटिस, बाथ, मधुमेह, रक्तचाप, पायल्स, महिलाका प्रजनन समस्याका बिरामी बढी आउँछन् । पछिल्लो समय दुखाइको समस्या लिएर आउनेका लागि पञ्चकर्मअन्तर्गतको पूर्वकर्म अर्थात् मसाज र वाफ दिने सेवा सञ्चालन भएको छ । स्थानीयलाई आयुर्वेद उपचारमा आकर्षित गर्न भन्दै आमा र शिशुको स्वास्थ्यका लागि दूध बढाउने आमापाई, जेष्ठ नागरिकका लागि स्वास्थ्य संरक्षण र सम्बद्र्धन कार्यक्रमअन्तर्गत नि:शुल्क रोग प्रतिरोधात्मक औषधि दिने गरेको छ ।

औषधि अभाव
बिरामी बढेसँगै वितरण गरिने औषधि अभाव भएको छ । चालु वर्षमा बुटवल उपमहानगरपालिकाले दिएको ३ लाख ४० हजारको औषधि सकिन लागेको छ । थप किन्न औषधालयले पटक–पटक आग्रह गरेको छ । यद्यपि औषधि किन्ने पैसा निकासा भएको छैन । यसले गर्दा यहाँ उपचार गर्न आउनेले निजी क्लिनिकमा औषधि किन्नुपरेको छ । उपचारार्थ आएकी देवीनगरकी शिवा रोकाले उपचार सेवा राम्रो हुँदै गए पनि औषधि नपाइने समस्या बढेको बताइन् । पायल्सको समस्या लिएर आएकी उनले भनिन्, ‘२ थरी मात्रै यहाँबाट पाएँ, अरू ३ थरी बाहिरै किन्नुपर्‍यो ।’

यसअघि आयुर्वेद विभागले अनुमानका आधारमा औषधि पठाउने गरेको थियो । वार्षिक रूपमा जडीबुटी खरिद गरेर औषधि बनाउन ४ देखि साढे ४ लाख रुपैयाँ उपलब्ध गराउँथ्यो । उक्त औषधि बुटवलसहित रूपन्देहीका क्षेत्रीय स्तरका ६ आयुर्वेद औषधालयमा पठाउने गरेको थियो । यो पटकदेखि स्थानीय तहले नै किन्ने रकम उपलब्ध गराउने गरेको छ ।

पहिलेभन्दा अहिले औषधि खरिदमा केही सहज छ । यद्यपि मागअनुसार औषधि उपलब्ध नभएको कार्यरत स्वास्थ्यकर्मीले गुनासो गरे । औषधालयमा कस्ता बिरामीको चाप छ र कुनको माग छ भन्ने अध्ययनका आधारमा औषधि र मात्रा आए मात्रै उपचारमा सहज हुने उनीहरूले बताए । ‘औषधालयमा धेरै प्रकारका बिरामी आउने भएकाले औषधि अभाव भइरहन्छ,’ प्रमुख केसीले भने, ‘अभाव मेटाउन सकभर माग गर्नासाथ स्थानीय तहबाट औषधि पाउने हुनुपर्छ ।’

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले भने आयुर्वेद उपचारतर्फ आमनागरिकको आकर्षण बढ्दै गएकाले यसको उचित व्यवस्थापनमा ध्यान दिएको बताए । ‘बिरामीको आकर्षणमा सेवा र आवश्यकताअनुसार औषधि दिन हामी तयार छौं,’ सुवेदीले भने, ‘यसका लागि पटक–पटक यहाँका समस्या र समाधानमा छलफल भएको छ ।’ आयुर्वेद चिकित्सा पद्धतिअनुरूप सेवा पुर्‍याउने उद्देश्यले सुरुमा विसं २०२९ मा पाल्पाको रामपुरमा आयुर्वेद औषधालय खोलिएको थियो । पछि केन्द्रमा राखेर सेवा प्रभाव गर्ने भन्दै अञ्चल आयुर्वेद औषधालयका रूपमा विसं २०४३ मा बुटवल सारिएको हो । यसमा उपचारका लागि खटिने एक चिकित्सक, आयुर्वेद निरीक्षक, कविराज र वैद्य छन् । कार्यालय सम्हाल्न एक लेखापाल र दुई कार्यालय सहायक पनि छन् । सेवालाई अझ चुस्त दुरुस्त पार्न कर्मचारी संख्या बढाउनुपर्ने औषधालयको माग छ ।

स्तरोन्नति योजना
आयुर्वेद औषधालयलाई समयानुकूल बनाउन र स्थानीयको आकर्षण बढाउन भन्दै स्तर वृद्धि तथा उन्नति गर्ने योजना अगाडि सारिएको छ । जसमा नि:शुल्क बहिरंग सेवा राखी १५ शय्यासहित अन्तरंग सेवा पनि सञ्चालन गर्ने प्रमुख योजना छ । यसमा अक्युपञ्चर, होमियोप्याथी, सर्जरी, ल्याब, अल्ट्रासाउन्डलगायत आधुनिक सेवा थपिनेछन् । यसका लागि २ वर्षअघि आयुर्वेद औषधालय, आयुर्वेद विभाग र बुटवल उपमहानगरसहितले स्थानीय स्तरमा छलफल चलाएका थिए । स्वास्थ्य मन्त्रालयले (एमओयू) विस्तृत अध्ययन गरेको छ । आयुर्वेद निरीक्षक केसीले त्यसयता स्रोत साधन जुटाउँदै सेवा र साधन विस्तार गर्दै गरेको बताए । ‘त्यसअघिसम्म ५ कट्ठा जग्गाभित्र जीर्ण भवनमा उपचार दिएका थियौं,’ उनले भने, ‘अहिले योगाभ्यास र बाथका लागि नयाँ भवन बनेको छ ।’

अन्य जीर्ण
साबिक अञ्चलस्तरीय यो औषधालयबाहेक जिल्लामा ६ वटा क्षेत्रीय स्तरका सरकारी सञ्चालनमा छन् । तीमध्ये मझगावाको मझगावा आयुर्वेद औषधालय, हरैयाको रुद्रपुर, मानपकडीको मानपकडी, करहियाको करहिया, हाटीवनगाईको हाटीवनगाई र सूर्यपुराको सूर्यपुरा औषधालय हुन् । यसअघि अञ्चलले ती औषधालय हेर्ने जिम्मा पाएको थियो । अहिले स्थानीय तहमा गाभिएका छन् । स्थानीय तहबाट उचित अनुगमन र संरक्षण नहुँदा ती औषधालय नाम मात्रैमा परिणत भएका छन् ।

सेवा नपाउँदा आयुर्वेद उपचारका लागि भारतीय बजारसम्म पुग्ने घर जोडिएका औषधालयमा उपचार गर्न जाँदैनन् । उपचारमा गएकाले पनि खोजेअनुसार सेवा र औषधि नपाएको गुनासो गर्छन् । ‘औषधालयमा केही छैन,’ मझगावाका रामप्रसाद हरिजनले भने, ‘२ जनाले कुर्ने मात्रै भएको छ । औषधि पाइँदैन ।’

प्रकाशित : वैशाख १०, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?