कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा कोष बढाउन अदुवा खेती

पाल्पा — गाउँघरमा युवा समूहले कोष वृद्धि गरी रचनात्मक गतिविधि गर्न सामूहिक अदुवा खेती सुरु गरेका छन् । उनीहरूले अदुवाको आम्दानीबाट युवाको सबालमा सचेतना, बौद्धिक क्रियाकलाप र चेतना अभिवृद्धिका कार्यक्रम गर्न लागेको बताए ।

युवा कोष बढाउन अदुवा खेती

बगनासकाली गाउँपालिका ८ बराङ्दीमा गठित वेद युवा समूहले जग्गा भाडामा लिएर अदुवा लगाएको छ । समूह अध्यक्ष वरुण बस्यालले युवाले पनि समुदायस्तरमा रचनात्मक काम गर्न सक्छन् भन्ने नमुना प्रदर्शनीका लागि सामूहिक खेती अभियान सुरु गरेको बताए । उनका अनुसार कक्षा ११, १२ मा पढ्ने युवाले स्थानीय सरकारसितको समन्वयमा सामूहिक खेती गरेको हो । ‘यसबाट प्राप्त आम्दानीले समूहले विभिन्न रचनात्मक अभियान सञ्चालन गर्नेछ,’ उनले भने, ‘यही कारण गाउँमा बसेका युवाले पनि केही काम गर्न सकेका छन् भन्ने देखाउन सकिन्छ ।’

समूहले गठन भएदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । युवाको क्षमता अभिवृद्धि, सामूहिक गतिविधि, सांस्कृतिक कार्यक्रमलगायत गर्दै आएका छन् । अध्यक्ष बस्यालले समूहमा आबद्ध भएर काम गर्न थालेपछि समुदायले आफूहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अनुभव सुनाए । उनीहरूले इन्सेकको पहलमा वेद माविमा अध्ययनरत युवाको सक्रियतामा समूह गठन गरेका हुन् । उनीहरूले गाउँकै न्यौपाने डाँडामा सामूहिक अदुवा लगाएका छन् । बगनासकाली गाउँपालिकाको सहयोगमा तीन रोपनी पाखो बारी भाडामा लिएका छन् । त्यसैमा अदुवा रोपेका छन् । बगनासकालीका अध्यक्ष कृष्णप्रसाद बस्यालले ग्रामीण भेगमा बसोबास गर्ने युवाले यसरी सामूहिक खेती गर्नु सराहनीय काम भएको बताए । ‘युवालाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार छ,’ उनले भने, ‘युवाको क्रियाशीलताले अन्यको पनि सिकाइ वृद्धि हुने र केही गर्ने भावना जाग्नेछ ।’

युवाको काम हेर्न पुगेकी गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीमगरले पछिल्लो समयका युवापुस्ता यसरी सामूहिक खेतीमा लाग्नु निकै राम्रो काम भएको बताइन् । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जीसीले युवाको मेहनत र जाँगर प्रशंसनीय रहेको बताए । उनले कृषिका लागि बराङ्दी क्षेत्र उर्वर भूमि रहेको बताए । ‘कृषिबाट समुदायस्तरको आयआर्जन वृद्धि हुनेमा ढुक्क हुनलाई पनि यसको विस्तार हुन जरुरी छ,’ उनले भने, ‘युवाले गरेको कामले अरूलाई सिकाइ हुनेछ ।’ बराङ्दी अदुवा रोपणका लागि महत्त्वपूर्ण र उत्पादन हुने स्थल भएकाले नमुना पकेट क्षेत्रका रूपमा अगाडि बढाइनेछ । अदुवा रोप्न युवालाई हौस्याउन गाउँपालिका अध्यक्ष बस्याल, उपाध्यक्ष चिदीमगर, बगनासकाली ८ का अध्यक्ष गणेशप्रसाद बस्याल, ७ का अध्यक्ष गुनबहादुर बुढाथोकी र सदस्यहरू बारीमा पुगेका थिए ।

प्रकाशित : वैशाख ११, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?