कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पा संग्रहालय प्रदेशस्तरीय बनाउन माग

कुनै पनि सामान संग्रहित नहुँदा यहाँ आउने पर्यटक खिन्न भएर फर्कन्छन्
माधव अर्याल

पाल्पा — तानसेनस्थित पाल्पा दरबार संग्रहालयलाई प्रदेशस्तरीय बनाउन माग गर्ने निर्णय भएको छ । जिल्लास्थित सरोकारवालाको बैठकले प्रदेश ५ का मुख्यमन्त्री, मन्त्री र सांसदलाई माग गर्ने निर्णय गरेको हो । यसका लागि राजनीतिक दल, पूर्वसांसद, स्थानीय तहका प्रमुख, नागरिक समाजसँग जिल्ला प्रशासनमा बसेको भेला तथा अन्तरक्रियाबाट प्रदेशस्तरीय संग्रहालय बनाउन पहल गर्ने निष्कर्ष निकालेको छ ।

पाल्पा संग्रहालय प्रदेशस्तरीय बनाउन माग

बैठकले जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेर आफ्नो घरमा रहेका विभिन्न पुराना सामग्री संकलन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । प्रशासनमा भएको बैठक माइन्यूट र निर्णय भने सार्वजनिक गरिएको छैन । ‘बैठकका निर्णय फोटोकपी दिन मिल्दैन,’ प्रजिअ ढकालले टेलिफोनमा भने, ‘मैले भन्छु त्यही टिप्नु ।’ बैठकबाट पाल्पा दरबार संग्रहालय वरपरका कार्यालय हटाउने/राख्ने सम्बन्धमा समेत छलफल गरेको छ । जिल्ला प्रशासन भने नजिक बनेको नयाँ भवनमा रहनेछ । प्रहरी, विद्युत्, जिसस, बालमन्दिरलगायत नजिकमा छन् ।


दुई वर्षअघि नै पाल्पा दरबार संग्रहालय खुले पनि यहाँ हेर्ने सामग्री केही छैनन् । ‘पाल्पा दरबार संग्रहालय’ को बोर्ड देखेर भित्र जाँदा रित्तै देख्दा अमिलो मन बनाएर दर्शक फर्कन्छन् । सप्तरीबाट आएकी विद्यार्थी सीता यादव साथीसँग गफिँदै भित्र घुम्दा भने निरास हुनुपरेको बताउँछिन् । गोरखा दरबार संग्रहालयजस्तै होला भन्दै भित्र पुग्ने निरास हुने गरेको अनुभव सुनाए । ‘पाल्पा दरबार संग्रहालयको बोर्ड झुन्ड्याएपछि केही सामान नराख्दा झुक्काउने काम मात्र भयोजस्तो लाग्यो,’ यादवले गुनासो गरिन् ।


यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बोर्डमा ‘पाल्पा दरबार संग्रहालय’ देखेपछि उत्सुक भएर भित्र पस्छन् । तर बाहिर निस्कँदा निरास हुन्छन् । दैनिक कम्तीमा २ देखि ३ सयसम्म दर्शक यहाँ आउँछन् । आउनेहरू दरबारलाई पृष्ठभूमिमा राखेर फोटो खिच्दै फर्किने गरेको उनीहरूले बताए । रित्तो भवन हेरेर फर्किनुबाहेक केही हेर्न नपाएको आगन्तुकले बताए । हाङ्तै कोठामा ४२ इन्चको विद्युत् नजोडेको टेलिभिजन देखिन्छ । यहाँ गाउँघरबाट ल्याएको ठेकी दराजमाथि छ । केही सामग्री छन् । बन्द कोठाभित्र नारायणस्थान मर्मतका क्रममा झिकिएको एउटा गजुर छ । यो पनि सर्वसाधारणको पहुँच बाहिर छ । जिल्लाका केही तस्बिर र मगरी संस्कृतिका सोकेसमा केही सामान देखिन्छन् । यीबाहेक केही छैन । पुरातात्त्विक महत्त्वको दरबार ०६२ माघ १८ मा तत्कालीन विद्रोही माओवादी आक्रमणमा ध्वस्त भएपछि अहिले पुन:निर्माण भएको हो ।


यसअघि कार्यालय रहे पनि यसपटक दरबारलाई संग्रहालय बनाउने दल, नागरिक समाजले निर्णय गरेका छन् । पुनर्निर्माण सकिएको दुई वर्षसम्म अलमलमै बित्यो । त्यसपछि ‘पाल्पा दरबार संग्रहालय’ स्थापना भएको हो । स्थापनाको नौ महिनासम्म एक ठेकी र मन्दिरको गजुर मात्र रहनु पर्यटकलाई धोका भएको रामपुरबाट आएका कमल न्यौपानेले बताए । ‘बाहिर बोर्ड टाँसेपछि संग्रहालय हेर्न भित्र जाने रित्तै देखेपछि भर्‍याङबाटै फर्कन बाध्य हुनुपरेको छ,’ उनले भने, ‘यस विषयमा हिजो जसरी संग्रहालय बनाउन आवाज उठाए अब सामान जोड्नुपर्छ ।’


मन्त्रिपरिषद् बैठकले राजपत्रांकित तृतीय श्रेणीका अधिकृत प्रमुख रहने गरी ७ कर्मचारी व्यवस्था गरेको छ । पथप्रदर्शक, ग्यालरी सहायक, सहलेखापाल, खरिदार एक/एक साथै कार्यालय सहयोगी दुईको दरबन्दी छ । दरबार प्रशासन कार्यालयको नाममा रहेको जग्गामा भवन बनेको छ ।


भवन डिभिजन विभाग, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच समन्वय हुन नसक्दा पुनर्निर्माण सकिएको दुई वर्षसम्म के गर्ने भन्नेमै थियो । रङ्गरोगनले चिटिक्क भवन हेर्नेबाहेक केही नदेखिएको स्याङ्जाबाट आएका दीपेन्द्र अर्यालले बताए । दरबारलाई पृष्ठभूमिमा राखेर दैनिक सयौंले फोटो खिचेर फर्किन्छन् । काठैकाठ र इँट्टाबाट बनेको दरबारलाई पुरानै स्वरूपमा ढालिएको छ । चुना, सुर्की, र गिट्टी मिसाएर ढलान भएको हो । बुर्जाको बाहिरी भागको केही जस्ताले बारेको भर्‍याङ हटाइएको छ । अरू पुरानै स्वरूपमा निर्माण भएको छ ।

प्रकाशित : वैशाख १२, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?