कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांग दाजुबहिनीको जीवन कष्टकर

सामाजिक सुरक्षा भत्ता नै जीवनयापनको मुख्य माध्यम बनेको छ
माधव अर्याल

पाल्पा — फुसको छानाको घर पनि भत्केको छ । त्यसमै खाना पकाउने र सुत्थे । यस्तो समस्या देखेपछि जनता आवास कार्यक्रमले एक कोठाको नयाँ भवन बनाइदियो ।

अपांग दाजुबहिनीको जीवन कष्टकर

हावाहुरी, पानी, हिउँद, वर्षामा समेत भत्केकै घरमा बिताउनुपथ्र्यो । तिनै बोटे माझी दाजुबहिनीले पछिल्लो एक वर्षयता ओत पाए तर भवनमा राख्ने सामान छैन । भवनलाई स्याहार सुसार गरेर राम्रो बनाउने अवस्थासमेत उनीहरूमा छैन ।

अपांगता भएका बगनासकाली गाउँपालिका ६ यम्घा दरपुकका ३७ वर्षीय सोमबहादुर र ३५ वर्षीय बहिनी फूलमाया बोटे माझी भत्केकै घरमा बसिरहेका छन् । उनीहरू विपन्नताकै कारण नयाँ घर सर्ने कुनै उपाय छैन । दुवैको खुट्टा साना छन् । शरीर पनि राम्रोसँग हिँड्डुल गर्न मिल्दैन । उनीहरूको आम्दानी र अन्न उब्जनी केही छैन । सरकारले दिने मासिक २/२ हजार सामाजिक सुरक्षा भत्ता नै उनीहरूको जीवनयापनको माध्यम बनेको छिमेकी वेदप्रसाद न्यौपानेले बताए । उनका अनुसार सानीआमाले उनीहरूलाई खाना पकाइदिने र स्याहारसुसार गर्छिन् ।

उनीहरूका बुबाआमा दुवैको मृत्यु भइसक्यो । थोरै पाखो बारी भए पनि त्यहाँ उब्जने अन्नले दुई महिना पनि खान पुग्दैन । आफैं गर्न सक्ने क्षमताका छैनन् । उनीहरूका अन्य दाजुभाइ पनि छैनन् । सानीआमाले नै पकाएर खान दिने गर्छिन् । ‘सानोमा यस्ता अपांग थिएनन्,’ छिमेकी न्यौपानेले भने, ‘पछि अचम्मसँग बोल्न पनि समस्या, हात खुट्टा साना हुँदै गए ।’ उनीहरूलाई क्याल्सियमको कमी भएको हुनसक्ने स्वास्थ्यकर्मीको राय छ ।

खानपिन वा बिरामी भएपछि उपचार नगर्दा यस्तो समस्या आएको हुन सक्ने छिमेकी सन्तवीर बोटेले बताए । सरकारले प्रदान गर्ने सुरक्षा भत्ता खाना र वार्षिक लत्ताकपडामा पनि जेनतेन पुग्ने भए पनि अन्य सामान किन्न कुनै उपाय छैन । ३ लाख खर्चेर बनाएको घर अलपत्र नै छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयको लापरबाहीले २५ हजारबापतको शौचालय रकम पनि सदुपयोग भएको छैन । घरमा कपडा, खाना खाने भाँडा कुनै गतिला छैनन् ।

उनीहरू जेनतेन बाँचिरहेकाले नयाँ घरमा सार्नलाई केही उपाय नभएकाले भत्केको घरमै भान्सा चलाउनु परेको हो । जनता आवासले बनाइदिएको घर पूर्णरूपमा पूरा भएको छैन । बनेको घर वरपर पनि लथालिंग छ । नयाँ बनेको घर भत्किन लागे पनि कोही कसैले उनीहरूलाई सहयोग गरेका छैनन् । त्यसैले उनीहरू भत्किएकै घरमा बस्न बाध्य छन् । वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले अन्य उपाय नभएकाले जाडोमा सिरक दिएको बताए ।

उनले भवन डिभिजन कार्यालयले वडा कार्यालयसँग कुनै सरोकार नराख्ने भएकाले कति पैसा आउने र पाउने भन्ने जानकारी नभएको बताए । ‘अब नयाँ घरमा सार्ने योजनामा छौं,’ उनले भने, ‘उपयुक्त समय मिलाएर सार्छौं ।’ भवन डिभिजन कार्यालयका सूचना अधिकारी हरिभक्त श्रेष्ठका अनुसार पैसा व्यक्तिलाई नदिने र सेवाग्राहीले नै घर बनाउनुपर्छ । यहाँका अपांगता भएका बोटे माझीको भने आफैं बनाउने उपाय नै भएन । ‘जसलाई परेको छ, उसैले बनाउनुपर्छ,’ उनले भने, ‘पहिलो, दोस्रो र तेस्रो किस्ता गरेर दिइन्छ ।’

प्रकाशित : वैशाख १३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?