कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्नाका बेला सुनसान

शैक्षिक सत्र सकेर घर गएका शिक्षक नै बल्ल फर्किन थालेका छन्
हरि गौतम

रुकुम पूर्व — शैक्षिक सत्र सुरु भएको ११ औं दिन भयो । विद्यालय भर्ना अभियान धमाधम चलिरहेको छ । रुकुमपूर्वका भने अधिकांश विद्यालय सुनसान छन् । फाट्टफुट्ट भर्ना चलेको छ तर अभियानका रूपमा होइन ।

भर्नाका बेला सुनसान

सामुदायिक विद्यालयले घरदैलो अभियान थालेकै छैनन् । अघिल्लो शैक्षिक सत्र सकेर घर गएका शिक्षक बल्ल फर्किन थालेका छन् । बालबालिकालाई भर्ना गर्न कुनै विशेष अभियान र कार्यक्रम सञ्चालन गरेका छैनन् ।

जिल्ला शिक्षाले वैशाख १० गते विद्यार्थीलाई पुष्पगुच्छाले स्वागत गरेर नयाँ पाठयपुस्तक प्रदान गर्ने जनाएको थियो । अधिकांश विद्यालयले त्यो दिन पनि स्वागत गरेनन् । भूमे गाउँपालिका ३ सीमाको सहिद शुक्र माविमा अहिलेसम्म नयाँ शैक्षिक सत्रको रौनक देखिन्न । यसअघि पनि भर्ना अभियान सञ्चालन नभएको व्यवस्थापन समिति अध्यक्ष जोखबहादुर रोकाले बताए । ‘विद्यार्थी स्वागत गर्ने त्यस्तो काम त भएन, पाठयपुस्तक पनि आइपुगेको छैन,’ उनले भने, ‘यसअघिका वर्ष विद्यार्थी जसरी भर्ना हुन्थे त्यसरी नै अहिले पनि भइरहेको छ ।’ विद्यालयमा आफैं आएर वा अभिभावकले ल्याएर भर्ना गरिरहेको उनले बताए ।

विद्यार्थी भर्ना गर्न विद्यालय अग्रसर नदेखिएको पुथाउत्तरगंगा गाउँपालिका १० का तेजबहादुर बुढाले बताए । ‘हरेक वर्ष जिल्ला शिक्षाले भर्ना अभियान चलाउन तथा विद्यार्थीको स्वागतमा विविध कार्यक्रम गर्नु भनेकै हुन्छ तर विद्यालय आफैंले त्यस्तो कार्यक्रम राखेको देखिन्न’ उनले भने, ‘विद्यार्थी आफैं वा अभिभावकसित आएर भर्ना भयो भयो भएन भने विद्यालयले भर्ना हुनुपर्छ र गर्नुपर्छ भनेर कार्यक्रम गरेको देखेको छैन ।’ तीन स्थानीय तह रहेको जिल्लामा एक सय १६ विद्यालय छन् । सिस्नेमा ३८, भूमेमा ३३ र पुथाउत्तरगंगा गाउँपालिकामा ४५ सामुदायिक विद्यालय छन् । जिल्लाका अधिकांशले पाठ्यपुस्तक लिएका छैनन् । केही विद्यालयले मात्र पाठयपुस्तक लिएका छन् । विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छैन ।

विद्यालयबाहिरका सबै बालबालिका भर्ना भएका छैनन्, भएकाले पनि पाठ्यपुस्तक पाएका छैनन् । भूमेका स्रोत व्यक्ति नरेन्द्र दाहालले विद्यालयले पाठ्यपुस्तक ल्याउने तयारीमा रहेको बताए । कतिले ल्याइसके पनि नल्याएकाले छिटै ल्याउने तयारी गरिरहेको दाहालले जानकारी दिए । जिल्लामा आएका पाठयपुस्तक सबै विद्यालयले नलिएको कल्याण पुस्तक पसल रुकुमकोटका सञ्चालक कवीन्द्रकल्याण गौतमले बताए । ‘हामीकहाँ शैक्षिक सत्र सुरु नहुँदै पाठयपुस्तक आइसकेका थिए,’ उनले भने, ‘फाट्टफुट्ट विद्यालयले लिइरहेका छन्, धेरैचाहिँ पाठ्यपुस्तक लिन आउनै बाँकी छ ।’

सिस्ने ६ मा रहेको उक्त पसल जिल्लाको एक मात्र पाठपुस्तकको आधिकारिक बिक्रेता हो । कतिपय विद्यालयले पाठ्यपुस्तक खरिदको रकम विद्यालयको खातामा नआएका कारण लिन ढिला भएको बताए ।

स्थानीय तहले पाठ्यपुस्तक खरिदको रकम विद्यालयको खातामा नपठाउँदा खरिदमा समस्या भइरहेको एक विद्यालयका प्रध्यानाध्यापकले बताएका छन् । जिल्ला शिक्षा रुकुम पश्चिमले दुवै जिल्लामा भर्ना अभियान करिब अन्तिम चरणमा रहेको दाबी गरेको छ । पश्चिममा रहेको जिल्ला शिक्षा कार्यालयले रुकुमपूर्व पनि आफैं हेरिरहेको छ ।

प्रकाशित : वैशाख १३, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?