१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बसाइ लम्ब्याउन पूर्वाधार अभाव

प्राकृतिक सुन्दरले भरिएको श्रीनगर, रानीमहल, रिडीको महत्त्व, प्रचार बढ्दै जाँदा घुम्न आउने पर्यटकको संख्या बर्सेनि बढ्यो
माधव अर्याल

पाल्पा — बास बस्न मिल्ने होटल नहुँदा रानीमहल घुम्न रुचाउने पर्यटकलाई बसाउन सकिएको छैन । सबैको रोजाइको रमणीय स्थल रानीमहलमा देश तथा विदेशबाट पर्यटक जान रुचाए पनि पूर्वाधार अभाव छ ।

बसाइ लम्ब्याउन पूर्वाधार अभाव

यहाँसम्म पुग्न गतिलो सडक छैन । रङरोगन गर्न ३ करोड खर्चियो । मर्मत अलिकति भएको छ । तत्कालीन पाल्पा गौडाका तैनाथवाला जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं. १९४९ मा सुरु गरी १९५४ मा रानीमहल निर्माण पूरा भएको हो । प्रेम जोडीहरूको प्रमुख गन्तव्यका रूपमा लिइए पनि अहिले यो अलपत्र छ । ‘वरपरको फोहोर वातावरण, भौतिक पूर्वाधार केही देखिएन,’ काठमाडौंबाट आएका सुरेशराज न्यौपानेले भने, ‘यसको महत्त्व यहाँका नेताहरूले बुझेको जस्तो लागेन ।’

विदेशी पाहुना, काठमाडौं, पूर्वका जिल्लाका साथै तराईमा बसोबास गर्ने, भारतीय नागरिक र पहाडी जिल्लाका धेरैजसोको रोजाइमा रानीमहल पर्छ । त्यहाँ पुग्न पैदल २ घण्टा र सवारीसाधनमा ४५ मिनेट लाग्छ । तानसेन आउने जो कोहीलाई एकपटक रानीमहल पुग्ने रहर जाग्छ । ‘प्रमुख पर्यटकीय रानीमहलसम्म पुगेर बास बस्ने प्रयास गर्दैन,’ पाल्पाको पर्यटन प्रवद्र्धन : सम्भावना र चुनौती विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाटा) पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रममा उनले रिडी, रानीमहल, तानसेन दरबार, अर्गली दरबार, मूलढोका, खड्ग स्तम्भ, विजयस्तम्भका विषयमा सर्वसाधारणलाई जानकारी गराउने र यहाँ आएपछि बसाइ लम्ब्याउने प्रयत्नै नभएको बताए । उनले भने, ‘जिल्लाका गढी, मठमन्दिर, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको विषयवस्तुबारे जानकारी गराउन सकेको देखिएन ।’ मुलुकका साथै मुलुकबाहिरबाट तानसेनमा दैनिक २ सय बढी पर्यटक भित्रिन्छन् । यहाँको प्राकृतिक सुन्दरता, नयाँ पर्यटकीय स्थल र उपजहरूको पहचिान तथा पूर्वधार विकास गर्न सकेको नदेखिएको उनको भनाइ छ ।

९० प्रतिशत आन्तरिक, बाहय तथा भारतीय पर्यटक एकैछिन घुमेर फर्कने गरेका छन् । प्राकृतिक सुन्दरले भरिएको श्रीनगर, रानीमहल, रिडीको महत्त्व, प्रचारप्रसार बढ्दै जाँदा घुम्न आउनेको संख्या बर्सेनि बढेको हो । यद्यपि यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन । शीतल हुने भएकाले गर्मीका बेला त पर्यटकको ओइरै लाग्छ । ‘वैशाखभर भैरवस्थानमा ५० हजार बढी आन्तरिक पर्यटक आउने गरेको पाइन्छ,’ नाटाका जिल्ला सचिव सागरमान महर्जनले भने, ‘उनीहरूको बसाइ लम्ब्याउन सकियो भने पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने थियो ।’ जिल्लामा भैरवस्थानबाहेक अमरनारायण, रणउजिरेश्वरी भगवती, सिद्धबाबा, ऋषिकेश, शिवालय, रम्भादेवी, बगनासकाली, राधाकृष्ण माण्डव्य, गणेशलगायत मन्दिर प्रसिद्ध छन् । बौद्ध पर्यटनका हिसाबले पनि आनन्द विहार, महाबोधी विहार, महाचैत्य विहार, धर्मचक्र विहार छन् । ढाका, करुवा, अम्लिसो, कफी, वैकल्पिक इन्धन, कृषि, वन, खनिज पर्यटन पनि विकास गर्न सकिने प्रजिअ ढकालले सुझाव दिए । ‘पर्यटकलाई बसाइँ लम्ब्याउने कुनै आधार भने पाइएन,’ उनले भने, ‘आउने र फर्कने खालका भए ।’

जिल्लामा आउने पर्यटकलाई एक दिन भए पनि सोही क्षेत्रमा बास बसाल्न सके गाउँमा ग्रामीण पर्यटन र सहरमा होटल व्यवसाय फस्टाउने थियो । अहिले बौघागुम्हाका होमस्टेले समेत फाइदा लिन सकेका छैनन् । ‘तानसेन आउने, रानीमहल, भैरवस्थान वा श्रीनगरडाँडा जाने र फर्किहाल्ने गरेको देखिएको छ,’ नाटाका जिल्ला अध्यक्ष प्रदीप उदयले भने, ‘भुलाउने संरचना बन्ने हो भने खाना, खाजा यहीँ नै खान्थे र बस्थे । पर्यटन व्यवसाय पनि फस्टाउने थियो ।’ उनका अनुसार पर्यटक बसाइ लम्ब्याउने हो भने युवालाई विदेश जानसमेत पर्ने थिएन ।

पर्यटकीय पूर्वाधार बनाउन अहिलेसम्म कसैको पहल भएको छैन । सरकारी स्तरबाट विगतमा साबिकको जिल्ला विकास समिति, नगरपालिकामा आएका बजेटसमेत दुरुपयोग भए । चुनावका बेला उम्मेदवार र नेताले पूर्वाधार निर्माण गरिदिने र बजेट पारिदिने आश्वासन सधैं दिन्छन् । ‘सिद्धबाबाको बाटो होस् वा अन्य पर्यटकीय पूर्वाधारमा लगानी नेताहरूबाट व्यवहारमा लागू हुन सकेन,’ पर्यटन व्यवसायी मीना प्रधानले भनिन्, ‘बाटो निर्माण र अन्य पर्यटकीय पूर्वाधारका कुरा अहिलेसम्म चुनावी मुद्दा मात्रै बने ।’ पर्यटकीय स्थल बनेर पर्यटक भित्रिएपछि गाउँमा स्वरोजगार र आम्दानीको बाटो खुल्ने भएकाले नगरपालिकाले केही योजना अघि सारेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए । उनका अनुसार प्रकृतिले दिएको तानसेन र श्रीनगरडाँडाको भूगोल नै पर्यटकीय हिसाबले हेर्नलायक छ । पूर्वाधार बनाउन सकियो भने राम्रो गन्तव्यस्थल पाल्पो भन्नेमा कुनै दुईमत नभएको उनले बताए ।

यहाँका स्थानीयले तानसेन आउने पर्यटकबाट केही लाभ लिन सकेका छैनन् । जिल्लामा मगर बस्तीको बाहुल्य छ । पहाड उक्लिने पदयात्रा, गाउँमा घुमाउने, स्थानीय उत्पादन खुवाउन र विभिन्न जातजातिका नृत्य झाँकी देखाउन सके गाउँमै आम्दानी भित्रन सक्ने पर्यटनसम्बन्धी छलफलमा सहभागी प्रदेश ५ का पर्यटनमन्त्री लीला गिरीको भनाइ छ । उनले अग्लो लेक, डाँडा र जंगल भएका ठाउँका खालीमा रिसोर्ट र बाँकी जग्गामा टिमुर र जडीबुटी खेती गरी आयआर्जनमा पनि ध्यान दिन आग्रह गरे । उनले भौतिक संरचना बनाएर पर्यटकीय स्थलका रूपमा विकास गर्न ५ नम्बर प्रदेश सधै सहयोग गर्न तयार रहेको बताए । ‘अब लुम्बिनी आउने विदेशी पर्यटकलाई पनि पाल्पासम्म भित्र्याउने योजना बनाउनुस्,’ उनले भने, ‘समग्र रिडी, रानीमहल, केलादी हुँदै देवघाटसम्म र मुक्तिनाथसम्म जोडेर काम गर्नुपर्छ ।’

‘अब आर्थिक समृद्धि’
सोही कार्यक्रममा पर्यटनमन्त्री लीला गिरीले राजनीतिक परिवर्तन सकिएकाले अब आर्थिक समृद्धितर्फ मुलुक अघि बढेको बताएका छन् । उनले जनताका धेरै इच्छा, आकांक्षा र अपेक्षा धेरै भएकाले बिस्तारै अब मुलुकलाई कसरी समृद्ध बनाउने भन्नेतर्फ संघ, प्रदेश र स्थानीय सरकार लाग्ने बताए । उनले बोल्ने भन्दा पनि काम गरेर देखाउने बेला आएको बताए ।

‘जनताका अपेक्षा धेरै छन तर पूरा हुन सकेको छैन,’ उनले भने, ‘योजनाबद्ध ढंगले आर्थिक समृद्धिको बाटोमा हामी सबैले काम गर्न जरुरी छ ।’ उनले राजनीतिक परिवर्तन अब जरुरी नभएकाले जनताको इच्छा, आकांक्षा र अपेक्षा अनुसारको आर्थिक समृद्धितर्फ ध्यान दिएर सबै सरकारले काम गर्नुपर्ने बताए ।

संघ, प्रदेश र स्थानीय सरकार निर्माण भएपनि केही कानुनी अड्चन भएकाले चालू आर्थिक वर्षमा केही देखिने काम हुन नसक्ने उनले बताए । ‘आगामी आवमा देखिने गरी काम सुरु हुन्छ,’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारले तल्लो तहमा पुगेर काम गर्नेछ र जनताको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ ।’

उनले जनप्रतिनिधिहरू अब परिवर्तन उन्मुख हुनुपर्ने बताउँदै खिचातानी र स्वार्थमा नरुमलिन आग्रह गरे । राजनीतिक परिवर्तनको उद्देश्य आर्थिक समृद्धिका लागि भएको उनले बताए । ‘कृषि, वन, वातावरण, पर्यटन, घरेलु उद्योगबाट आर्थिक समृद्धि सम्भव छ,’ उनले भने, ‘नभएका कानुन बनाउने र भएकालाई संशोधन गरी जनताको जीवनस्तर उकास्न टेवा पुर्‍याउनुपर्छ ।’ उनले कृषि, पर्यटनमा आधारित नीति बनाएर जनताको आयस्तर, रोजगारका विषयमा ध्यान दिन सकियो भने आर्थिक समृद्धि हुने बताए ।

विगतमा राजनीतिक अस्थिरताले गर्दा जनताले राजनीति बुझ्न नपाएको बताउँदै उनले भने, ‘अब स्थिर सरकार निर्माण भएकाले जनताको अपेक्षा अझ धेरै छ ।’

प्रकाशित : वैशाख ३०, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?