कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बुद्ध सर्किट’ मा पाल्पालाई जोड्न माग

‘विहार, थेरवादी शिक्षाको प्रचार र अष्टधातु रहेको स्थानलाई छाड्न हुँदैन ।’
माधव अर्याल

पाल्पा — बुद्धस्थल जोड्न निर्माण गर्ने भनिएको ‘बुद्ध सर्किट’ मा तानसेनलगायत रिडी (रूरू क्षेत्र) र रानीमहललाई छोएर लैजना यहाँका सरोकारवालाले माग गरेका छन् ।

‘बुद्ध सर्किट’ मा पाल्पालाई जोड्न माग

उनीहरूले पुरानो चीनका बौद्ध धर्मालम्बी पैदल हिँड्ने बाटो तानसेनबाट कालीगण्डकी किनारैकिनार भएकाले यस क्षेत्रलाई लुम्बिनीबाट चीनको कोरला नाकासम्म पुग्नेगरी सर्किट निर्माण गर्न सुझाव दिए ।

लुम्बिनी विकास कोष, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार तानसेनमा राखेको सर्किट निर्माणमा सुझाव संकलनका लागि आयोजित कार्यक्रममा बोल्दै उनीहरूले रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई मात्र नभई पाल्पाको तानसेन र यस वरपरका धार्मिक पर्यटकीय क्षेत्र पनि समेट्न सुझाए । ‘बुद्ध सर्किट’ को खाका भने अझै बनेको छैन ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले मन्त्रालयले कन्सल्टेन्ट छनोट गरेर काम अघि बढेको र यसैका लागि छलफल कार्यक्रम राखिएको बताए । ‘शाक्य बज्राचार्यको बसोवास तानसेनमा रहेको छ,’ उनले भने, ‘बिहार, थेरवादी शिक्षाको प्रचार, अष्टधातु रहेको स्थानलाई छाड्न हुँदैन ।’ तानसेनमा आनन्द विहार, धर्मचक्र विहार, महाचैत्य विहार, सन्तोक गुम्हालगायत छन् । तानसेन, चिर्तुङधारा, बौघागुम्हालगायत स्थानमा गुम्हा निर्माण गरेर नियमित बुद्धधर्मको गतिविधि हुँदै आएका छन् ।

कोषाध्यक्ष शाक्यले विगतमा बनेका योजना कागजमै सीमित भएपछि यस क्षेत्रको एकीकृत विकास हुन नसकेको स्वीकारे । बुद्ध सर्किटमा पाल्पालाई कसरी जोड्ने, कुन–कुन ऐतिहासिक र पुराता–िवक बुद्धस्थल सर्किटमा समावेश गर्ने भन्नेबारे कन्सल्टेन्टले १५ स्थानमा छलफल गर्ने कार्यक्रम सुनाए । कन्सल्टेन्टका तर्फबाट पर्यटनविज्ञ रामचन्द्र सेढाईंले काठमाडौं, रूपन्देही, नवलपरासी र कपिलवस्तुमा यसको औपचारिक र अनौपचारिक छलफल गरिने जानकारी दिए । उनले सुर्खेत, हुम्ला हुँदै मानसरोवर, लुम्बिनी–तानसेन–मुस्ताङको दामोदरकुण्ड र चीन जोड्ने योजना बनेको बताए । यस्तै, काठमाडांै, खोटाङ, गोरखालगायत स्थानसमेत यसमा जोडिनेछ । भारतको कुशीनगर, बोधगया, सारनाथलगायत स्थानमा ७ सय ८० किलोमिटर ‘बुद्ध सर्किट’ निर्माण गरेर काम अघि बढाएको छ । नेपालमा भने अहिलेसम्म कागजमै सीमित छ ।

कन्सल्टेन्टले खाका कोरे पनि त्यसको सार्वजनिकसमेत हुन सकेको छैन । बुद्धस्थल संरक्षण गर्ने जिम्मा पाएको लुम्बिनी विकास कोषलाई ‘बुद्ध सर्किट’ को खाका बनाउने जिम्मा दिएको छ । उसले टेन्डरमार्फत् कन्सल्टेन्ट छनोट गरेर काम अघि बढाएको छ । अहिलेसम्म बुद्धस्थलका छुट्टाछुट्टै स–साना गुरुयोजना बने पनि अलग्गै खाका बनेको छैन । अहिलेसम्म बाटोलाई मात्र लक्ष्य गरी नवलपरासीमा बुद्ध सर्किट सडक बनेको छ । त्यो सडक कुन–कुन बुद्धस्थलमा कसरी पुग्छ केही थाहा छैन ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा पर्यटन मन्त्रालयले सर्किट बनाउने तयारी गरेको पर्यटन विज्ञ तथा अध्ययन टोली सदस्य सेढाईंले बताए । पर्यटनविद् रविजंग पाण्डे संयोजकत्वमा विज्ञ र प्राविधिकलाई समावेश गरी टोली बनाएको छ । टोलीको बृहत् कार्यादेश पनि बनेको छ । पूर्वको खोटाङ हलेसीदेखि पश्चिम दैलेखको दुल्लु र कालिकोट हुँदै मानसरोवरसम्म जोडेर सर्किट बनाउन लागिएको उनले बताए । गत साउनदेखि काम थालेको टोलीले आगामी असारसम्म प्रतिवेदन बनाएर सरकारलाई बुझाउने उनले बताए ।

‘लुम्बिनीलाई केन्द्रविन्दु बनाएर तानसेन, रिडी, रानीमहलसमेतलाई जोड्ने गरी खाका बनाउनुपर्छ भन्ने निर्णय गरेर दबाब दिने योजना छ,’ नेपाल एसोसिएसन आफ टुर्स एन्ड ट्राभल्स एजेन्टस (नाटा) पाल्पा च्याप्टरका अध्यक्ष प्रदीप उदयले भने, ‘तानसेन बुद्धधर्मको गतिविधिमात्र होइन, यहाँ थेरवादी शिक्षाको थलो पनि हो ।’ लुम्बिनीबाहेक बुद्धको मावली देवदह, अस्तुधातु रहेको रामग्राम, जन्मस्थल लुम्बिनीलाई समावेश गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । उनले रूपन्देही, नवलपरासी र कपिलवस्तुका मह–वपूर्ण स्थल नछुटाउन आग्रह गरे । तिलौराकोट, गोटिहवा, निग्लिहवा, सगरहवा, अरौराकोट, निग्रोधाराम र सिहनिया महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

‘चीनका नागरिकको ओहोरदोहोर गर्ने सडक कालीगण्डकी तीरैतीर नै हो,’ प्रजिअ ढकालले भने, ‘यो सडकलाई रेशम मार्गसमेत भनिन्थ्यो ।’ बौद्ध पर्यटकलाई ६५ किलोमिटर टाढाको तानसेनमा शीतल हावापानीमा राख्न सके उनीहरूको बसाइँ लम्ब्याउन सकिने पर्यटन व्यवसायी सागरमान महर्जनले दाबी गरे । देशभरका बौद्धस्थल जोड्न गेट वे लुम्बिनी बनाउन काम भइरहे पनि अहिलेसम्म पाल्पा नपरेको उनले बताए । अमृतानन्द महास्थवीर, शाक्यानन्द महास्थवीर, विमलानन्द महास्थवीर तानसेनमा बसेर लामो समय बौद्ध शिक्षा प्रदान गरेर बसेका हुन् । बौद्ध धर्मका जानकार तथा लुम्बिनी विकास कोषका पूर्व कोषाध्यक्ष छत्रराज शाक्यले ‘बुद्ध सर्किट’ को योजना बन्दै गरेको र तानसेनलगायत वरपरका धार्मिक क्षेत्रलाई जोड्न सक्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति संयोजक दयाराज बस्याल, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले शाक्य, वज्राचार्यको बसोबास रहेको तानसेन र यहाँका विहार साथै बुद्धधर्मका गतिविधिले गर्दा पनि सर्किट नजोड्दा अन्याय हुने बताए । लुम्बिनी–पाल्पा बौद्ध समन्वय समिति अध्यक्ष सर्जुलाल वज्राचार्यले तराईको गर्मी छल्नलाई ध्यानकेन्द्र वा अन्य संग्रहालय बनाएर भए पनि बुद्ध सर्किटसँग जोडिनुपर्नेमा जोड दिए ।

प्रकाशित : वैशाख ३१, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?