कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ महिनामा ३ अर्ब सक्नुपर्ने

दैनिक ४ करोड ९२ लाख खर्च अनिवार्य
ठाकुरसिंह थारु

नेपालगन्ज — आर्थिक वर्ष अन्तिममा जबरजस्ती बजेट सक्नुपर्ने परम्पराले यसपालि पनि निरन्तरता पाउने भएको छ । बाँकेमा चालु वर्षको विकास बजेट बाँकी दुई महिनामा सक्नुपर्ने भएको हो । ६० दिनमा २ अर्ब ९५ करोड ३१ लाख खर्च गर्नुपर्ने देखिन्छ । बजेट सक्न दैनिक ४ करोड ९२ लाख रुपैयाँ खर्च गर्नुपर्ने छ ।

२ महिनामा ३ अर्ब सक्नुपर्ने

चालु वर्षमा पुँजीगत बजेट ६ अर्ब ४९ करोड ४० लाख छुट्टयाइएको थियो । वैशाख मसान्तसम्म ३ अर्ब ५४ करोड ९ लाख रुपैयाँ अर्थात् ५५ प्रतिशत खर्च भएको छ । बाँकी रकम असार मसान्तसम्म गर्नुपर्ने बाध्यता छ । जिल्लामा स्थानीय तहलगायत सयभन्दा बढी सरकारी कार्यालय छन् । ती कार्यालयबाट गरिने विकासका लागि पुँजीगत बजेट छुट्टयाइएको छ ।

चालु वर्ष सकिँदै गर्दा नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा (कोलेनिका) भुक्तानीका लागि भीड लाग्ने गरेको छ । असार २५ गतेसम्म चालु वर्षको बजेट खर्च गर्न नसकिए थुप्रै विकास योजना प्रभावित हुन सक्नेछन् ।

कुल बजेटको ८० प्रतिशत रकम खर्च गर्नुपर्ने सरकारी लक्ष्य छ तर वैशाख मसान्तसम्म ५५ प्रतिशत मात्रै खर्च भएको कोलेनिकाले जनाएको छ । आव सक्नुअघि केही बजेट थपघट हुन सक्नेछ । कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक ठाकुरप्रसाद पौडेलले चालु वर्षमा लक्ष्यअनुसार बजेट खर्च हुन सक्ने संकेत नदेखिएको बताए ।

उनले यही अनुपातमा खर्च हुने हो भने ८० प्रतिशत पनि खर्च नहुने जनाए । तर गत आवभन्दा बढी रकम चालु वर्षमा खर्च भएको छ । गत वर्ष वैशाख मसान्तसम्म ३८ प्रतिशत खर्च भएको थियो । यो वर्ष १७ प्रतिशतभन्दा बढी रकम खर्च भएको छ ।

‘गत आर्थिक वर्षभन्दा यो वर्ष बढी खर्च देखिए पनि लक्ष्यअनुुसार हुने संकेत देखिँदैन । तर विगत हेर्दा चालु वर्षमा राम्रै खर्च भएको देखिन्छ,’ उनले भने, ‘अझै बजेट थपघट हुनसक्छ ।’

कोलेनिकाले वैशाख २४ देखि ई–सेवामार्फत बजेट पठाउन थालेको हो । यसअघि निकासाका लागि चेक काट्नुपर्ने झन्झट थियो । तर नयाँ प्रविधिसँगै बजेट सीधै सम्बन्धित कार्यालयको खातामा पठाइन्छ । स्थानीय तहले पनि त्यही प्रविधिबाट बजेट प्राप्त गरिरहेका छन् तर सफ्टवेर नभएका कारण बजेट अनुगमनमा समस्या देखिएको कोलेनिकाले जनाएको छ । चालु वर्षमा बाँकेमा १० अर्ब १२ करोड आन्तरिक राजस्व उठेको छ । गत वर्ष ८ अर्ब १० आन्तरिक राजस्व उठेको थियो ।

चालु खर्चतर्फको बजेट भने उल्लेख्य खर्च भएको छ । तलब, भत्तामा खर्च हुने रकम भएकाले उक्त शीर्षकको बजेट लक्ष्यअनुसार खर्च भएको हो । तोकिएको समयभित्रै रकम खर्च हुन नसके चालु वर्षमा सम्पन्न गर्ने भनिएको विकास योजना प्रभावित हुन सक्नेछ । गत वर्ष बाँकेमा खानेपानी, कृषि, हुलाकी राजमार्ग, डिभिजन सडक, पर्यटन, जलप्रकोपलगायतको बजेट खर्च हुन सकेको थिएन ।


प्रकाशित : जेष्ठ २, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?