कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नो बिहे आफैंले रोके

विवाह रोकिएपछि पढाइलाई निरन्तरता दिएका बालबालिका राम्रोसित पढ्दै छन्

बुटवल — बालविवाहविरुद्ध रूपन्देहीमा धेरै अभियान भए । सरकारी र गैरसरकारी निकायबाट धेरै रकम खर्च गरिए पनि । अभियानले विवाह नै रोक्ने भूमिका भने खेलेन । पछिल्लो समय भने किशोरकिशोरी जुटेर आफ्नो विवाह आफैं रोक्न थालेका छन् ।

आफ्नो बिहे आफैंले रोके

यसको उदाहरण हुन्, मर्चवारी गाउँपालिका २ बगौलीकी उर्मिला अग्रहरी । उनले १४ वर्षमा हुन लागेको आफ्नो बिहे आफैंले रोकिन् । ‘सुरुमा बाआमाले मान्नुभएन,’ उर्मिलाले भनिन्, ‘साथीहरूलाई समेत बोलाएर सम्झाएपछि उहाँहरूले मान्नुभयो ।’ अहिले उर्मिला १७ वर्षकी भइन् । बगौली माविबाट एसईई दिएर बसेकी छन् । उर्मिलाको भनाइमा ३ वर्षअघि फागुनमा घरमा नचिनेका ६–७ जना मान्छे आए । कुरा गर्दागर्दै आमा रुन थालिन् । उनी छक्क परेर आमालाई सोधिन् ।

आमाले मेरो बिहे गरिदिन लागेको बताइन् । सुरुमा उनलाई पनि क्वाँ–क्वाँ रुन मन लाग्यो तर रोइनन् । बरु बाबा र आमालाई एक ठाउँ बोलाएर सम्झाइन् । उनीहरूले नमानेपछि गाउँमा गठन भएको बालक्लब तथा किशोरकिशोरी सञ्जालका साथी बोलाइन् । उनीहरूले सानैमा बिहे गर्दा हुने नोक्सानीबारे बुझाएपछि बिहे होइन पढाइमा खर्च गर्न आग्रह गरे । उनीहरूको कुरा माने, बिहे रोकियो । ‘हामी २७ जना साथी मिलेर अरू पनि ४ साथीको बिहे रोक्यौं,’ उनले भनिन्, ‘संघसंस्थाले भन्दा हाम्रा कुरा बाआमाले खानु हुँदोरहेछ ।’

मर्चवारी गाउँपालिका ७ मञ्जरियाकी तमन्ना खातुनले पनि आफ्नो विवाह आफैंले रोकिन् । १३ वर्षमा बाआमाले विवाह गरिदिन खोजेपछि उनले साथी गुहारिन् ।

‘बिहे गरिदिन लागेको थाहा पाएपछि सबै साथी मिलेर घर गयौं,’ तमन्नाले भनिन्, ‘१२ पास गर्दासम्म बिहे नगरिदिनुस् भनेर आग्रह गर्‍यौं ।’ केहीबेर आनाकानीपछि बाबु मकसुद अहमदले बिहे रोके ।

‘मैले पढाइ अझ राम्रो बनाउने, कुनै गलत काम नगर्ने र भागेर बिहे नगर्ने विश्वास दिलाएँ ।’ तमन्नाले भनिन्, ‘यसपछि पापाममी खुसी हुनुभयो ।’ सीमा क्षेत्रकी उनी अहिले भारतको रामप्रभन्स बालिका इन्टर कलेज कोलहीमा कक्षा १२ पढै छिन् ।

बालिकामात्रै होइन, रुपन्देहीका बालकको पनि विवाह हुने गरेको छ । समूहमा आबद्ध हुन र क्लब गठन गर्न थालेपछि बालकले पनि सानो उमेरमा हुने आफ्नै बिहे रोक्न थालेका छन् । त्यसमध्येका हुन्, समरीमाई गाउँपालिका १ पिपरीका राममणि पासवान ।

उनले १५ वर्षमा हुन लागेको विवाह आफ्नै पहलमा रोके । सुरुमा सञ्जालका साथीसहित भएर बाआमालाई सम्झाए । निधो गरिसकेको विवाह रोक्दा बालिका पक्षले दु:ख माने । यसपछि शिक्षकको सहयोगमा उनीहरूलाई घरमै बोलाए । ‘आफन्त भएकाले सम्झौता तोडिएन तर विवाह २० वर्ष पुगेपछि गर्ने सहमति भयो ।’ राममणिले भने, ‘साथीहरूको सञ्जाल नभएको भए यो सम्भव थिएन ।’ अहिले १६ वर्षे राममणिले मुडिला माविमा कक्षा ९ पढै छन् । उनले विवाह गर्न निधो गरेकी पश्चिम अमुवाकी पूजा पासवान कक्षा ८ मा पढै छिन् ।

समूहमा आबद्ध भएकै कारण ओमसतिया गाउँपालिका ६ छोटकी रामनगरका रामगुलाव यादवले पनि आफ्नो बालविवाह रोक्न सफल भए । कक्षा १० मा पढ्दा उनलाई बिहे गर्न घरबाट निकै दबाब आयो । १५ वर्षे उनले बाआमालाई निकै सम्झाए । बालविवाहले हुने हानिबारे समूहमा छलफल भएका सबै विषय सुनाए ।

बाआमाको मन पग्लियो । विवाह रोकियो । अहिले रामगुलाव १८ वर्षका भए । जेटिए पढिरहेका छन् । ‘पढाइ सिध्याएपछि जागिर खाएरमात्रै बिहे गर्ने सोचेको छु,’ रामगुलाबले भने, ‘बाआमाले पनि हुन्छ भन्नुभएको छ ।’ नेपालको कानुनमा २० वर्षमुनिको विवाहलाई अवैध मानिन्छ तर रूपन्देहीका दक्षिण भेगका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारूलगायतमा अझै बालविवाह चलन कायमै छ ।

पछिल्लो समय शिक्षित र सम्पन्न परिवारमा यस्तो चलन केही घटे पनि अधिकांशमा उस्तै छ । अरूको पहलमा मात्रै यो सम्भव नभएपछि बालबालिका आपंैm सञ्जाल बनाएर अघि बढेका हुन् । बालविवाह बढी हुने साबिकका १५ गाविसमा यस्ता समूह छन् ।

उनीहरूलाई अभियान सञ्चालन गर्न ती गाउँपालिकाले सहयोग गरेका छन् । ‘सञ्जालमा आबद्ध भएपछि निकै फाइदा भएको छ,’ रायपुरकी किशोरी संवाद केन्द्रकी सुशीला पासीले भनिन्, ‘बालविवाह रोक्नमात्रै होइन, किशोरावस्थामा देखिने समस्यासम्बन्धी कुरा राख्न र समाधान गर्न पनि निकै सजिलो भएको छ ।’

रूपन्देहीको सबैभन्दा बढी बालविवाह हुने क्षेत्र हो मर्चवार । जसमा ४ गाउँपालिका छन् । किशोरकिशोरी आफंैले विवाह रोक्न र यसविरुद्ध वकालत गर्न थालेपछि केही कमी हुँदै गएको कोटहीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?