कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासले फेरिँदै उदयपुरको सिरुबारी

प्यूठान — विकास निर्माणका पूर्वाधार बनेपछि माण्डवी गाउँपालिका ४ उदयपुरकोटको सिरुबारी गाउँले मुहार फेरेको छ ।

विकासले फेरिँदै उदयपुरको सिरुबारी

गाउँलेको सक्रियता र विभिन्न निकाएको सहयोगमा गाउँ बदलिएको हो । चार वर्षअघि पूर्ण सरसफाइ घोषणा भएको सिरुबारीमा हिजोआज मोटरबाटो, विद्युत्, खानेपानी, सिँचाइ पोखरी, विद्यालय भवन निर्माण पूरा भएको स्थानीय ठाकुर वलीले बताए । ‘वर्षौंदेखि निर्माणाधीन सडक पूरा भएर साना सवारी सरर गुड्ने भएको छ,’ उनले भने, ‘विकासको न्यूनतम मापदण्ड पूरा भएकाले हाम्रो गाउँ फेरिएको हो ।’


प्यूठान–रोल्पा पक्की सडकअन्तर्गत नयाँ गाउँको स्याउँलीघारीबाट सिरुबारीसम्म बाटो बनेको छ । सडकले गाउँमा उत्पादन भएको तरकारी बजार पठाउन र खाद्यान्न गाउँ ल्याउन सजिलो भएको वली बताउँछन् । ‘सडक नहुँदा पहिले निकै दु:ख थियो,’ उनले भने, ‘माडी खोलाबाट पहिले २२ पाथी बालुवा बोकर ल्याइयो । अहिले सबै कुरामा सहजता भएको छ ।’


पक्की सिँचाइ पोखरी निर्माण गर्दा सबै गाउँलेले झारा गरी माडी खोलाबाट बालुवा बोकेका थिए् । गाउँले विकासको काममा एक हुने भएकाले परिवर्तन हुनेगरी विकास निर्माणका पूर्वाधार बन्दै गएको स्थानीय तथा वडाध्यक्ष हेमराज वलीले बताए । नियमित सरसफाइ, गाउँको माथि निर्माण गरिएको सिँचाइ पोखरी, नमुना करेसाबारी र सिँचाइ कुलोले गाउँ बदलिएको उनले बताए ।


गाउँले सबैले घरघरमा शौचालय, फोहोर फाल्ने खाडल, भाडा माँझ्ने जुठेल्नो बनाएका छन् । सबैले फिल्टरको सफा पानी पिउँछन् । झन्डै ७० परिवारको बसोबास रहेको गाउँमा कक्षा ५ सम्मको विद्यालय सञ्चालन भएको छ । विद्यालय भवन पनि राम्रो निर्माण भएको छ । ‘गाउँको माथिल्लो भागमा बनाएको पोखरीमा पानी जम्मा गरेर सिँचाइ गर्ने गरेका छौं,’ वलीले भने, ‘जताततै हिजोआज पानीको हाहाकार भो भन्ने सुनिन्छ । हाम्रोमा डुबल्की मार्ने गरी पोखरी बनाएका छौं, पानीको कुनै दु:ख छैन ।’


गर्मीको समयमा पोखरीमा पौडी खेल्दै नुहाउँदा आनन्द नै फरक हुने उनले बताए । ‘सिरुबारीमा विकासका धेरै कुरा पूरा भए,’ वलीले भने, ‘सिँचाइ कुलोसमेत पक्की बनेको छ ।’ भिरालो जमिनमा कुलोमार्फत सिँचाइ गर्दा माटो बगाउने भएकाले स्प्रिङकलमार्फत सिँचाइ गर्ने व्यवस्था मिलाउन पहल गर्न स्थानीयले माग गरेको वलीले बताए ।


‘गाउँलेको मागअनुसार सहयोगी निकायसंँग निर्माणका लागि कुरा भइरहेको छ,’ वलीले भने, ‘नमुना गाउँमा सिँचाइ पनि नमुना हुने गरी बनाउने योजना छ ।’ यस वर्ष जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय प्यूठानमार्फत सञ्चालन भएको लुंग्रीमाडी सिँचाइ करिडोर परियोजनामा व्यवस्थित गर्न माग गरेको उनले जनाए । सरसफाइलगायत कुरामा नमुना बनेको गाउँ हेर्न अन्यत्रबाट पनि मान्छेहरू सिरुबारी आउने गरेको उनले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?