कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन क्षेत्रमा बनेको टहरो भत्काइयो

परासी — अतिक्रमण गरी निर्माण गरीएको भौतिक संरचना भगवती सामुदायिक वन सुनबलले भत्काएको छ । क्षत्री समाज नेपाल सुनवल वनकट्टीले वन क्षेत्र अतिक्रमण गरी मन्दिर निर्माणका लागि तयार पारिएको टहरो बिहीबार भत्काएको हो ।

वन क्षेत्रमा बनेको टहरो भत्काइयो

वन उपभोक्ता समितिका पदाधिकारीको रोहबरमा डोजरले टहरो भत्काइएको हो । करिब डेढ बिघा ओगटेर संरचना निर्माण गर्न लागेकाले भत्काइएको उपभोक्ता समिति अध्यक्ष डिलकराज डुम्रेले बताए ।

पछिल्लो समयमा उक्त वन क्षेत्रभित्र निर्माण गरिएका संरचना सेक्टर वन कार्यालय बर्दघाटले हटाउन निर्देशन दिए पनि अटेर गरेकाले संरचना भत्काइएको समितिले जनाएको छ । क्षत्री समाज वनकट्टीका अध्यक्ष कृष्णबहादुर पौडेल क्षत्रीले सामुदायिक वनले आफूलाई फरक व्यवहार गरेको गुनासो गरे । ‘हामीले वन मासेका थिएनौं,’ उनले भने । वन कार्यालयले निर्माण रोक्न निर्देशन नदिएको क्षत्री समाजको दाबी छ ।

सेक्टर वन कार्यालय बर्दघाटका अधिकृत भरत भण्डारीले विनाजानकारी भवन बनाएकाले हटाइएको बताए । वन क्षेत्रभित्र सशक्ति आमा समूह, मिलन आमा समूह, भगवती महिला केन्द्र, सम्झना आमा समूह र मिनी वनकट्टी आमा समूहले पनि अतिक्रमण गरी भवन बनाएका छन् ।

४ हजार ९ सय १७ हेक्टर अतिक्रमण
जिल्लामा विभिन्न सघंसंस्था र व्यक्तिले ४ हजार ९ सय १७ हेक्टर अतिक्रमण गरेका छन् । जिल्ला वन कार्यालयका अनुसार राजमार्ग आसपासको सुनवल, बर्दघाट, दाउन्ने, ज्यामिरे, अरुणखोला, चोरमारा, डन्डा, कावासोती, देवचली, गैंडाकोटलगायत क्षेत्रमा अतिक्रमण भएका छन् । वन क्षेत्रमा अस्पताल, विद्यालय, आमा समूहका भवन, कलेज, मन्दिर, गुम्बा, चर्च बनाइएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?