कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्तिपछि फेरिए गाउँ

दाङ — शान्तिप्रक्रियासँगै द्वन्द्वबाट पीडित रुकुम, रोल्पा र दाङका गाउँमा विकासको लहर सुरु भएको छ । नमुना शान्ति गाउँ, होमस्टे, गुरिल्ला ट्रेकिङ, सहिद मार्ग जस्ता विकासका कार्यक्रम गाउँगाउँ पुगेका छन् ।

शान्तिपछि फेरिए गाउँ

माओवादी विनाश मात्रै गर्दैनन्, विकास पनि गर्छन् भन्ने सन्देश दिने गरी गाउँसम्मै विकासका काम सुरु भएका छन् । जनयुद्धकै बेला थालिएका योजनामा अहिले सरकारले साथ दिन थालेको छ । माओवादी नेतृत्वमा सुरु भएको सहिद मार्गले दाङ–रोल्पालाई जोडिदिएको छ । शान्तिप्रक्रियापछि सरकारी तहबाटै निरन्तरता पाएपछि अहिले द्वन्द्व प्रभावित गाउँ थबाङलाई पनि जोडिसकिएको छ ।

सुलिचौर–फूलिवन हुँदै थबाङ जोड्ने सडक समयमा पूरा हुन नसकेका बेला सहिद मार्गले थबाङलाई जोड्यो । पूर्वी रुकुमको रुकुमकोट, महत हुँदै थबाङसम्म पनि सडक जोडिएको छ । वर्षौंंदेखि यातायात सञ्जालमा जोडिन नसकेका थबाङबासी अहिले यातायातको सहज पहुँचमा छन् । गाउँको उत्पादन बजार पुर्‍याउन र किनमेल गर्न सहिद मार्गले सुविधा थपेको छ । सेनाको सहयोगमा पूर्वी रोल्पाको फूलिवनस्थित सिरक्याङ भिरको विशाल चट्टान फोडिएपछि पूर्वी रोल्पाबाट पनि थबाङसम्म सडक मार्ग जोडिएको छ ।

थबाङको नयाँ रूप
द्वन्द्वकालमा थबाङ निकै चर्चामा रह्यो । लामो समयदेखि कम्युनिस्ट राजनीतिको केन्द्रका रुपमा परिचित थबाङ द्वन्द्वबाट धेरै पीडित पनि भयो । थबाङबासी गाउँबाटै विस्थापित हुनुपर्‍यो, गाउँ नै जल्यो । कति मारिए, कति घाइते, अपांग भए । अहिले थबाङ नमुना बनेको छ । नमुना शान्ति गाउँको कार्यक्रम चलाएर थबाङ गाउँभित्रका सडकमा ढुंगा बिछ्याइएको छ । पुराना कम्युनिस्ट नेता तथा लेखक पूर्णबहादुर रोका मगरका अनुसार उति बेला राज्यले थबाङलाई दमन गरी कम्युनिस्ट बन्न बाध्य तुल्याएको थियो । थबाङका कम्युनिस्टहरू सधैं विद्रोही जस्ता भए । सधै राज्यको प्रतिपक्षी जस्ता । जसले गर्दा यहाँको विकासमा राज्यको नजर पुग्न सकेन । वर्षौंदेखि विकासमा पछि पर्‍यो । ‘अहिले गाउँमा धेरै विकास भएको छ,’ उनले भने, ‘द्वन्द्वपछि गाउँको मुहार फेरिएको छ ।’

स्थानीय तहले पनि विकासमा जोड दिएको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगर बताउँछन् । ‘थबाङलाई मुख्य आधार क्षेत्र बनाएर सशस्त्र द्वन्द्व भयो । अब थबाङबाटै शान्ति र विकासको नमुना काम गर्नुछ,’ उनले भने, ‘विकासप्रति स्थानीयको चासो देखेर हौसला मिलेको छ । अबको युग विकासको युग हो ।’ विभिन्न चुनौतीबीच पनि भौतिक विकास गरी गाउँको मुहार फेर्ने सपना बुनेको अध्यक्ष घर्ती मगरले बताए । चालू आवमा मात्रै ४१ प्रतिशत बजेट अर्थात ३ करोड ९१ लाख ३४ हजार रुपैयाँ भौतिक विकासमा विनियोजन गरेको उनले बताए ।

सेना पनि विकासमा
नेपाली सेनाले पनि थबाङप्रति विशेष चासो दिंँदै आएको छ । थबाङमा सेनाले दुईपटक नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्‍यो । पुरानोमध्येकै एक विद्यालय बलभद्र माध्यमिक विद्यालय बनाउन श्रमदान गरेको छ । त्यसका लागि सेना थबाङमै महिनौंसम्म बस्यो । त्यसबाहेक थबाङलाई केन्द्र विन्दु बनाएर शैक्षिक, सामाजिक, चेतनामूलक कार्यमा सेना जुटेको छ ।पञ्चायतकालदेखि स्थानीयको चासो रहेको सुलीचौर–थबाङ सडक निर्माणमा सेनाले अघिल्लो वर्षदेखि हात हाल्यो । दशकअघिदेखि निर्माण थालिएको उक्त सडकअन्तर्गत सिरक्याङ भीरको विशाल चट्टान फोड्न नसक्दा सडक अपूरो थियो । उक्त चट्टान सेनाले फोडिदिएपछि मात्रै सडकको निर्माण अघि बढ्यो । पूर्व सांसद बर्मन बुढाले थबाङमा सडक पुर्‍याइदिन तत्कालीन राजा, प्रधानमन्त्री र सेनाका उच्च अधिकारीलाई पटकपटक आग्रह गरेका थिए । तर केही प्रगति भएन । अहिले भएको विकासले उनी पनि सन्तुष्ट छन् । ‘कहिले पैसा छैन भने, कैले सुरक्षा छैन । अहिले सडक गाउँमै आएको छ,’ उनले भने, ‘राज्यले लामो समय हामीलाई सौतेनी व्यवहार गर्‍यो ।’

युद्धको पीडा भुल्दै जेलबाङ
युद्धकालमा जेलबाङमा बारुद, बन्दुक र गोलीको गन्ध मात्र आउँथ्यो । मगरहरूको बस्ती रहेको जेलबाङलाई विगतमा राज्य र माओवादी दुवैले युद्धभूमि बनाए । माओवादीको आश्रय स्थल बन्यो भने राज्य पक्षको आक्रमणको निशाना ।

माओवादी विरुद्धका सबै प्रकारका अपरेसन यहीं भए । युद्धमा जिल्लामै सबैभन्दा बढी मानिस यहीं मारिए । युद्धमा ७३ जना जेलबाङका बासिन्दाले ज्यान गुमाए । राज्य पक्षबाट माओवादी भएको आरोपमा ६२ जना मारिए भने माओवादीबाट सुराकी गरेको आरोपमा ११ जना मारिए । एकजना अझै बेपत्ताको सूचीमा छन् । ५० भन्दा बढीले अपांगता जीवन बिताइरहेका छन् ।

तत्कालीन जिविस, शान्ति मन्त्रालय, सहकारी, गैससहरू र साबिकको जेलबाङ गाविसको पहलमा सुलिचौरबाट जेलबाङको तल्लो गाउँ हुँदै ठूलो गाउँसम्म मोटरबाटो पुगेको छ । गाउँमा विद्युत् सुविधासँगै घरघरमा खानेपानीका धारा जोडिएका छन् । पर्यटन विकासका लागि होमस्टेको तयारी गरिएको छ । युद्धमा जेजस्तो पीडा भए पनि अहिले सबै मिलेर विकास गर्न थालेको जेलबाङका ७९ वर्षीय बृजलाल रोका बताउँछन् ।

खाराको परिवर्तन
द्वन्द्वका क्रममा दुवैतर्फबाट चेपुवामा परेको खाराले अहिले भने शान्ति र मेलमिलापको सन्देश दिँदैछ । विगतमा एक अर्कालाई देखी नसहनेहरू अहिले विकास र समृद्धिका लागि सँगसँगै काम गरिरहेका छन् । नेपाली सेनाले सिङ्गो खाराबासीलाई स्वास्थ्य सेवा दिन अस्पताल भवन बनाइदिएको छ । नेपाली सेनाको देवीदल गणले त्रिवेणी गाउँपालिका–३, खारानेटामा १५ शय्याको अस्पताल भवन बनाइसकेको छ । नेपाली सेनाको देवी दल गणका गणपति प्रमुख सेनानी पंकज रावलले सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन तथा भैरहेको सम्बन्ध दिगो बनाउन अस्पताल निर्माण गरेको बताए । उनका अनुसार ११ लाख नगद र बाँकी सबै श्रमदान नेपाली सेनाकै जनशक्तिले गरेको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले ५ वर्षसम्म निरन्तर खारा नमुना बस्ती विकासका लागि रकम खर्चेको छ । ४ करोड बढी बजेट खारामा मात्रै खर्च भएको छ । सडक र अन्य भौतिक पूर्वाधारमा क्रमागत रूपमा रकम खर्च भएको थियो । साबिकका खारा गाविसका सबै वडा जोड्ने गरी मुख्य तीन वडा सडक निर्माण भएका छन् । झुल्नेटा–खुम्चेरी सडक, सिम्रुतु–जिवाङ–लाइत सडक र ३ किलोमिटर लम्बाइ रहेको जिवाङ–तमाक्छरे सडक निर्माण खारा नमूना बस्ती विकासअन्तर्गत नै भएका हुन् ।


खारामा स्थापित सहिद पार्क ।

प्रकाशित : जेष्ठ १३, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?