प्यूठान — गौमुखी गाउँपालिका ५ खुङकी डल्ली सुनार शरीरमा बमका छर्रा बोकेर भौंतारिन थालेको १६ वर्ष भयो । २०५९ भदौ १७ गते अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमण गरेर फर्कंदा माओवादीले खसालेको बम फेला पारेर खेलाउँदा उनी घाइते भएकी हुन् ।
बम खेलाउने क्रममा हिमे सुनारकी छोरी डल्लीका अतिरिक्त दुई वर्षकी अर्की छोरी मुना र तीन वर्षका छोरा पुर्से पनि घाइते थिए । आफूहरू कामका लागि घरबाहिर गएको समयमा केटाकेटीले पानी भरेर फर्कंदा भेट्टाएको वस्तु खेलाउँदा पड्केर घटना घटेको आमा टेम्कीले बताइन् ।
उनका अनुसार बम पड्किँदा एउटा कुकुर पनि मरेको र घरको बार्दली भत्किएको थियो । ‘घरमा आउँदा छोराछोरी रगतमा लत्पतिएका थिए,’ उनले भनिन्, ‘तत्कालै उपचार गर्न लगेकाले तीनै छोराछोरीलाई बचाउन त सकियो । तर, जेठी छोरीको शरीरबाट बमका छर्रा पूरै निकाल्न सकिएन ।’
‘साना छोराछोरी त उपचार गरेर गरिखाने भए,’ डल्लीका बुबा हिमेले भने, ‘पैसाको अभावमा जेठीको पूर्ण उपचार गर्न सकिनँ ।’ पुर्से र मुनाका भन्दा डल्लीका शरीरमा धेरै छर्रा रहेकाले उपचारमा समस्या भएको उनले बताए । ‘गाउँलेसँग चन्दा मागेर काठमाडौंसम्म उपचार गर्न पुर्याएँ,’ उनले भने, ‘२६ वटा छर्रा निकालियो । अझै तीनवटा बाँकी छन् ।’ मासुमा रहेका छर्रा निकालिए पनि हड्डीभित्र रहेका निकाल्न समय लाग्ने चिकित्सकको भनाइ छ । तर, उपचार गराउने रकम अभावमा आफू काठमाडौंबाट फर्केको सुनारले सुनाए ।
छर्रा निकाल्न बाँकी रहेको ठाउँमा अहिले चस्कने, झमझमाउने र सुन्निएर दुखाइ बढेको डल्लीले बताइन् । ‘पहिले धेरै दुख्दैनथ्यो,’ उनले भनिन्, ‘हिजोआज बढी नै दुख्न थालेको छ ।’ देब्रे गाला सुन्निएर धेरै पीडा भएपछि बुबाआमालाई लिएर उपचारका लागि बिजुवार झरेको उनले बताइन् । ‘अहिले त बोल्नसमेत नसक्ने भएकी छु,’ उनले भनिन्, ‘चिकित्सकले काठमाडौं गएर छर्रा निकाल्न भनेका छन् । उपचार गराउने रकम अभावले कसरी जाने भन्ने चिन्तामा छौं ।’
घाइते हुँदा १० वर्षकी उनी अहिले २६ की पुगिन् । उमेर बढदै गएकाले दुखाइसमेत बढेको उनले बताइन् । ‘गालामा मासुबाहिरैबाट छर्रा देखिन्छन्,’ उनले भनिन्, ‘पहिले सानो डल्लो थियो । मासु जेलिएर होला, अहिले ठूलो हुँदै गएको छ ।’ गालाबाट विस्तारै घाँटीको तलतिर दुख्ने र सुन्निने क्रम बढ्दै गएकाले बोल्नसमेत अप्ठ्यारो भएको उनले बताइन् ।
गुल्मीको मदाने गाउँपालिका ५ अग्लुङफेदीमा विवाह गरेर गएकी डल्ली दुखाइ बढ्दै गएपछि अचेल माइतीमा बस्न थालेको आमा टेम्कीले बताइन् । स्थानीय शान्ति समितिको सिफारिसमा जिल्ला प्रशासनमार्फत राहत मिल्छ भनेर निवेदन दिए पनि हालसम्म कुनै राहत नपाएको उनले बताइन् । ‘चिकित्सकले चाँडै शल्यक्रिया गरेर छर्रा निकाल्नुपर्छ भनेका छन्,’ उनले भनिन्, ‘काठमाडौं गएर उपचार गराउने हाम्रो औकात छैन ।’
चोया–चित्राको काम गरेर बल्लतल्ल आफ्नो परिवार पालेका हिमे सुनार भन्छन्, ‘पीडाले छट्पटिएर छोरी रुँदा टुलुटुलु हेरेर आँसु चुहाउनुबाहेक विकल्पै छैन ।’