कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडक बेहाल

कमल पन्थी

बर्दिया — ठेकेदार कम्पनीको लापरबाहीले आउजाउमा समस्या आएको भन्दै स्थानीयले नेपाल–भारत जोड्ने गुलरिया–मूर्तिहा सडकखण्ड शनिबार करिब दुई घण्टा ठप्प पारे । भारतीय सीमा मूर्तिहा हँुदै भुरीगाउँ जोड्ने सडक खनेर अलपत्र छोडिएपछि पानी जमेर हिलाम्मे भएको छ ।

हुलाकी सडक बेहाल

पप्पु कन्स्ट्रक्सनअन्तर्गत पेटी ठेकेदार कम्पनी गणपति निर्माण सेवाले ठेक्का लिएको उक्त सडकमा आइतबारदेखि नै ग्राभेल सुरु गर्ने वचनबद्धतापछि स्थानीयले चक्काजाम फिर्ता लिएका छन् ।

पानी पर्नासाथ सडक हिलाम्मे भई आउजाउ गर्न समस्या भएपछि ठेकेदार कम्पनीलाई कारबाही माग्दै चक्काजाम गरिएको गुलरियाका व्यवसायी मोविन अहम्मदले बताए । चक्काजामका कारण दर्जनांै सवारीसाधन अलपत्र परे । ठेकेदार कम्पनीका सञ्चालक तुलसी भण्डारीले आइतबारबाट ग्राभेल सुरु हुने जनाएपछि चक्काजाम एक दिनका लागि फिर्ता लिइएको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ठेकेदार कम्पनीले आइतबार सडक ग्राभेल गर्ने बताए । ‘सडकमा ग्राभेल नराखी लापरबाही गरे कडा कारबाही गर्नेछु,’ उनले भने, ‘ठेकेदार कम्पनीलाई नै नियन्त्रणमा लिई कारबाही गर्नुपरे पनि पछि हट्ने छैनौं ।’ ०७३ माघ ८ गते गुलरिया–भुरिगाउँ–राजापुर खण्डअन्तर्गत हुलाकी सडक शिलान्यास भएको थियो । तीन प्याकेजअन्तर्गत निर्माण भएको सडक ०७६ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य छ । बेलवा(मूर्तिहा सडक खण्डअन्तर्गत तीनवटा पुल निर्माणाधीन छन् । ती पुल वर्षातअगावै सम्पन्न हुने सम्भावना छैन । यसै गरी वेलवा–राजापुर सडक खण्डअन्तर्गत गमक्कामा दुईवटा पुल निर्माणाधीन छन । आशिषकुमार जेभीले असार पहिलो सातासम्म दुवै पुल ढलान गरिसक्ने दाबी गरेको छ ।

भुरीगाउ–वेलवा सडक खण्डमा ठेकेदार कम्पनी शर्मा राजेन्द्र जेभीले अधिकांश ठाउँ ग्राभेल गरेको छ । यसैबीच हुलाकी सडक आयोजना प्रमुख सौरभ बज्राचार्यलाई मन्त्रालयले फिर्ता बोलाएको छ । उनको ठाउ‘मा कृष्णकान्त ओझालाई सरुवा गरिए पनि अहिलेसम्म कार्यालयमा उपस्थित भएका छैनन् । हुलाकी आयोजनाको कार्यालय नेपालगन्जमा छ । कार्यालय प्रमुख नआउँदा ठेकेदार कम्पनीको लापरबाही रोक्न समस्या भएको स्थानीय प्रशासनको गुनासो छ ।

भारत सरकारले हुलाकी सडक निर्माणको जिम्मा यसअघि भारतीय कम्पनीलाई दिएको थियो । ०६५ सालदेखि काम गर्दै आएको भारतीय ठेकेदार बेपत्ता भएपछि निर्माण अलपत्र परेको थियो । उक्त सडक ०७० फागुनमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो । तर, काम अलपत्र छाडेपछि दुई वर्षअघि भारतीय ठेकेदार कम्पनीसँग सम्झौता तोडी नेपाली ठेकेदारलाई जिम्मा दिइएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?