कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय धानको बीउ बिगबिगी

जिल्लामा ४० पसलले मात्र बीउबिजन बेच्ने अनुमति छ
मनोज पौडेल

कपिलवस्तु — राष्ट्रिय बीउबिजन कम्पनीले सिफारिस र सूचीकृत गरेको जातका धानको बीउ मात्र बिक्री गर्न पाउने प्रावधानविपरीत यहाँका बजारमा भारतीय धानका बीउ छ्यापछ्याप्ती भेटिएको छ । स्थानीय साप्ताहिक हाटदेखि तौलिहवा, कृष्णनगर, पकडी, बहादुरगन्ज र महराजगन्जलगायत बजारमा खुलेयाम बिक्री भइहेको छ ।

भारतीय धानको बीउ बिगबिगी

भारतबाट गैरकानुनी रूपमा भित्रिएको बीउ यहाँका पान, कपडा र साइकल पसलेले पनि बेचिरहेका छन् । आकर्षक र चम्किलो प्याकिङ हुने हुँदा कृषकले मन पराउँछन् । तर, यस्ता बीउ बिक्रीमा आए पनि नियन्त्रणमा कसैले चासो दिएको छैन । गुणस्तर कस्तो छ ? र, कति मूल्यमा बेच्ने गरेका छन् भन्नेबारे सरोकारवाला निकाय मौन छ ।


बीउबिजन ऐन र नियमावलीविपरीत यहाँ बीउ बिक्री वितरण भइरहे पनि त्यसलाई रोक्न कुनै पहल गरिएको छैन । गैरकानुनी कारोबार गर्ने व्यापारीलाई कारबाही गरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था हुँदा पनि कार्यालयले प्रक्रिया नै अघि बढाएको पाइँदैन । जिल्लामा ४० पसलले मात्र बीउ बिजन बेच्ने अनुमति लिएका छन् । तर, यहाँ अहिले जिल्लाभरि सयभन्दा बढी पसले बीउ बेचिरहेका छन् । अहिले बीउ राख्ने चटारो हँुदा कृषक बजार गएर भारतीय बीउ किनेर ल्याउने गरेका छन् । यहाँका एग्रोभेटमा बीउ किन्ने कृषकको भीड छ । ‘ब्याड राख्ने हतारोमा छन्,’ मलपरवाका कृषक अचाले पासीले भने, ‘बजारमा चिटिक्कको प्याक देखेर भारतीय धानको बीउ किनें ।’ कुन बीउ राम्रो हो भन्ने थाहा नपाएकाले जुन राम्रो भनेर दियो त्यही किनेको उनले बताए । ‘धानको बीउ कहाँ पाइन्छ र कुन राम्रो हुन्छ भन्ने थाहा नै हुँदैन,’ रामापुरका कृषक जनार्दन बारीले भने, ‘राम्रो प्याक र सिल हेरेर ल्याएँ ।’


सरकारले कृषकलाई चाहेजति बीउ पुर्‍याउन नसक्दा समस्या आएको कृषि कार्यालयका प्रमुख राकेश ओझाले बताए । ‘नेपालले अहिलेसम्म उन्नत जातको धानको बीउ नै उत्पादन गर्न सकेको छैन,’ उनले भने, ‘त्यही भएर कृषक भारतीय धान बीउमा निर्भर छन् ।’ समस्या नहँुदासम्म कृषकले पनि जुन पायो त्यही भारतीय बीउ किनेर रोप्ने गरेको उनले बताए । राम्रो उत्पादन नहुने र बाला नलाग्ने समस्या आए मात्र कृषि कार्यालय आएर गुनासो गर्ने गरेको उनले जनाए । ‘सक्दो नियन्त्रणको प्रयास गरेका छौं,’ उनले भने, ‘तर, माग बढी हुँदा गाह्रो भएको छ ।’


‘बजारमा सिफारिस नभएका उन्नत जातका बीउ बिक्री भइरहेका छन्,’ प्रमुख ओझाले भने, ‘त्यसलाई नियमन गर्न सकेका छैनौं ।’ सिफारिस गरिएका धानको बीउ मात्र प्रयोग गर्न उनले सुझाए । उनका अनुसार कृषि कार्यालयले ४० प्रतिशत अनुदानमा बीउ बिक्री गरिरहेको छ । जिल्लाका १६ एग्रोभेटले अनुदानको बीउ बेचिरहेका छन् । जिल्लाबाट १ सय २५ मेट्रिक टन अनुदानको बीउ वितरण गरिँदैछ । ७२ हजार हेक्टरमा धान खेती गर्ने गरिएको हो । त्यसका लागि ३ हजार ६ सय मेट्रिक टन बीउ आवश्यक रहेको उनले बताए । ‘सिफारिस जातका बीउ मात्र प्रयोग गर्नुपर्छ,’ कपिलवस्तु नगरपालिका कृषि इकाइ प्रमुख खुर्सेख अहमद खाँले भने, ‘नभए बालीको जोखिम बढ्ने र रोगले क्षति पुग्छ ।’

नेपाली कम्पनी मर्कामा
भारतीय बीउले बजार लिएपछि जिल्लाका ४ बीउ कम्पनी मर्कामा परेका छन् । जिल्लामा विकास, मुस्कान, इन्टरनेसनल र सिद्धार्थ सिड कम्पनीले बीउ उत्पादन गर्ने गरेका हुन् । तर, अवैध रूपमा भारतीय बीउ भित्रिएर बिक्री वितरण हँुदा समस्या भइरहेको सञ्चालकले बताए । ‘सूचीकृत नभएका बीउ बेच्न पाइँदैन,’ विकास सिडका सञ्चालक जयन्त्रीलाल श्रीवास्तवले भने, ‘बजारमा खुलेयाम उन्नत जातका भारतीय बीउ बिक्री भइरहेका छन् । तसर्थ, हामी धेरै समस्यामा छौं ।’


महुवास्थित मुस्कान सिडका वृजविहारी चौधरीले भारतीय बीउले कम्पनीलाई नोक्सान पारेको गुनासो गरे । ‘कृषकलाई सिफारिस गरिएका धानका बीउका बारेमा जानकारी छैन,’ उनले भने, ‘त्यसैले समस्या छ ।’

प्रकाशित : असार ४, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?