कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कमलरी’ मृत्युको छानबिन माग

बर्दिया — घरेलु काममा लगाइएकी ११ वर्षीया बालिका मृत फेला परेकी छन् । सरकारले मुक्त घोषणा गरेपछि पनि ‘कमलरी’ बसेकी अस्मिता थारूको मृत्युलाई परिवारले रहस्यमय बताउँदै छानबिन माग गरेको छ ।

‘कमलरी’ मृत्युको छानबिन माग

बाँसगढी नगरपालिका ४ अस्नेरीकी बालिका २०७० सालदेखि बढैयाताल गाउँपालिका ७ स्थित दुर्गा भण्डारीको घरमा कामदारका रूपमा बस्दै आएकी थिइन् ।

अस्मिता उक्त घरमा ६ वर्षको उमेरदेखि कामदारका रूपमा बस्दै आएकी हुन् । गत जेठ २९ गते सॉझ जस्तापाता भएको घरको छानामा राखिएको फलामको रडमा झुन्डिएको अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ । मृतकका बाबु मणिरामले घटना रहस्यमय भएकाले छानबिनको माग गरेका छन् । उक्त घरको छाना टेबुलमा चढेर पुग्न सक्ने अवस्थामा नभएको उनले बताए ।

‘उमेर हेर्दा पनि आत्महत्या गर्ने सोच बनाइन् भनेर पत्याउन मुस्किल छ,’ बाबुले भने, ‘मृत्यु घटना शंकास्पद छ, छानबिन गरी पाउँm ।’ घटनाको तीन घण्टापछि भण्डारीले मणिरामलाई जानकारी गराएका थिए । मणिरामका ६ मध्ये मृतक साहिँली छोरी हुन् । पढाइदिने सर्तमा भण्डारीले अस्मितालाई ल्याएका थिए । स्थानीय भगवती मावि तिलकानामा कक्षा ३ मा पढिरहेकी थिइन् ।

घटनाको दिन अस्मिताले राहिँली दिदी सीतालाई विद्यालयबाट नि:शुल्क पोसाक पाएकाले बहिनीलाई दिनु भनी फोन गरेकी थिइन् । ‘फोनमा कुरा गरेकी बहिनीको मृत्यु सुन्दा पत्याउन सकिनँ,’ सीताले भनिन्, ‘घटना रहस्यमय भएकाले छानबिन हुनुपर्छ ।’ सरकारले ०७० असार १३ गते कमलरी प्रथामा रोक लगाएको थियो ।

भण्डारीले आफू छोरी लिन मगरागाडी जयनगर जाँदा अस्मिताले झुन्डिएर ‘आत्महत्या’ गरेको थाहा पाएको बताए । छिमेकी केवलसिंह ठकुरीले भनेपछि आफू हतार–हतार घर फर्केको उनले बताए । ‘घरमा ८४ वर्षकी आमा उठ–बस गर्न सक्ने अवस्थाकी हुनुहुन्न,’ उनले भने । भण्डारीकी पत्नीले ०७४ चैत २४ गते घरमै झुन्डिएर ‘आत्महत्या’ गरेकी थिइन् ।

प्रकाशित : असार ५, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?