हावाबाट ६ सय वाट बिजुली

२५ किलोवाट थप निकाल्ने तयारी
माधव अर्याल

निस्दी (पाल्पा) — हावाबाट निकालिएको बिजुलीले निस्दी गाउँपालिका ४ मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र झिलीमिली बनेको छ ।

पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल, रुक्सेभञ्ज्याङमा हावाबाट बिजुली निकाल्न प्रयोग गरिएको वायुपंखा । तस्बिर : माधव

गाउँपालिका केन्द्र रहेको यहाँको ४ नम्बर वडा कार्यालयले समेत बत्ती बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन र इन्टरनेटका लागि हावाबाट निकालिएको बिजुली प्रयोग गर्दै आएको छ ।

Yamaha

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड इनर्जी र जनताका लागि ऊर्जा तथा वातावरणीय विकास संस्थाको साझेदारीमा रुक्सेभञ्ज्याङमा बिजुली निकालिएको हो ।

सदरमुकामबाट ७० किलोमिटर टाढाको मित्याल रुक्सेभञ्ज्याङमा झन्डै ४० लाख रुपैयाँ लगानी गरेर १ हजार २ सय किलोवाट बिजुली निकालिएको उक्त गाउँपालिका प्रमुख मुक्तबहादुर सारूले बताए । ६ सय वाट हावाबाट र बाँकी ६ सय वाटका लागि सोलार प्यानल जडान गरिएको उनले बताए । रुक्सेभञ्ज्याङ बजारबाट बढीमा १ सय ५० मिटरको दूरीमा डाँडामा जडान भएको वायु पंखाबाट कम्तीमा ५ वर्ष निरन्तर बिजुली उत्पादन हुन्छ ।

रुक्सेभञ्ज्याङ विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हावाको बेगको परीक्षणपश्चात् बिजुली निकालेको हो । गाउँपालिका कार्यालयमा १ हजार ५ सय वाटको सोलार जडान गरिएको छ । केन्द्रले बिजुली निकाल्नुअघि १५ महिना हावाको बेग परीक्षण गरेको थियो । सोलार शक्ति र हावा ऊर्जा जडान गरी अहिले २ दशमलव ४ डायमिटर विद्युत् उत्पादन गरेको छ । यहाँ सहयोग गरेको कम्पनीले यसअघि भारतका दुई स्थानमा हावाबाट बिजुली उत्पादन गरिसकेको थियो ।

स्थानीय बलिराम सुनारीका अनुसार अहिले बजारवासीले अँध्यारोमा हिँड्न परेको छैन । ‘यहाँ अचम्मको कुरा भएको छ,’ उनले भने, ‘धेरै मान्छे यहाँ आएर सोधपुछ र यसबारे जानकारी लिने गर्छन् ।’ स्थानीयले समेत हावाबाट बिजुली निस्कन्छ भन्ने पत्याएका थिएनन् । अहिले सबै अचम्ममा परेको उनले सुनाए । सुरुमा हावाबाट निकालेको बिजुली स्वास्थ्यचौकी र ४ नं वडा कार्यालयमा प्रयोग गरिएको थियो ।

निस्दी ३ का अध्यक्ष न्यौबहादुर सुनारीका अनुसार अहिले त्यही बिजुलीबाट रुक्सेभञ्ज्याङ बजारका ९ वटा पोलमा सडक बत्तीसमेत बालिएको छ । अहिले स्वास्थ्य चौकीले २ किलोवाट सोलार अनुदान पाएकाले हावाबाट निकालेको बिजुली प्रयोग गरेको छैन । ‘वडा कार्यालय र बजारका पोलमा बत्ती बाल्न प्रयोग गरिएको छ,’ सुनारीले भने, ‘पहिले स्वास्थ्यचौकीलाई पनि दिइएको थियो ।’

कम्प्युटर तथा फोटोकपी जतिबेला पनि चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको काममा समेत सहजता भएको उनले बताए । हावाबाट बिजुली निस्केपछि वडा अँध्यारोबाट मुक्त भएको छ । हावा र सौर्यको मिश्रित प्रणालीले बाह्रै महिना ब्याट्री चार्ज हुन सक्छ । हावा नलाग्ने समय असार, साउन, भदौ, असोजमा पनि विद्युत् उत्पादन गर्न सोलार जडान भएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले बताए ।

लगानी गर्ने संस्थाले भौतिक संरचना र प्रविधिसमेत स्थानीय वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । ‘हावाबाट ऊर्जा उत्पादन गरेर अँध्यारो गाउँलाई उज्यालो बनाउन सकिने रहेछ भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि लगानी गर्ने योजनासमेत अघि बढेको छ ।’

गाउँपालिकाअगाडिको डाँडामा चल्ने हावाबाट पंखा घुमाइएको छ । जहाँबाट उत्पादित विद्युत् सोलारको ब्याकअपपावरमा थपिन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहींबाट थप २५ किलोवाट बिजुली हावाबाट निकाल्न सकिन्छ भन्ने अध्ययन गरिसकेको छ ।

थप बिजुली निकालेपछि निस्दी गाउँपालिकाका झ्याल्टुङ, मौलाथर, घुम्सीवरका साथै छिमेकी झिरूवास र गल्धाका गाउँ पनि झिलीमिली हुनेछन् ।

गाउँपालिकाको साझेदारीमा २५ किलोवाट हावाबाट बिजुली उत्पादन गर्ने योजना अघि बढेको बस्यालले बताए । गाउँपालिकाले ४८ लाख लगानी गर्ने निर्णय गरिसकेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २ करोडभन्दा बढीको लागतमा हावाबाट थप बिजुली निकाल्न लागेको हो । गाउँपालिका प्रमुख सारूका अनुसार सम्झौता हुन बाँकी भए पनि काम हुने आश्वासन दिइएको छ ।

प्रकाशित : असार ६, २०७५ ११:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सबै वडामा प्रसूति केन्द्र

माधव अर्याल

पूर्वखोला (पाल्पा) — पूर्वखोला गाउँपालिकाको सहयोगमा सबै वडामा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालन गरिएको छ । ६ वडामा रहेको गाउँपालिकामा देवीनगर, जल्पा र हेक्लाङ स्वास्थ्यचौकीमा चालु वर्षबाट केन्द्र सञ्चालनमा ल्याइएको हो ।

रिङनेरह, वीरकोट र सिलुवामा यसअघि नै थिए । घरमै सुत्केरी हुने नरोकिएपछि सेवा थप गरिएको हो । सुत्केरीका लागि आवश्यक सामग्री, भवन निर्माण, शौचालयलगायत छन् । गाउँपालिकाले यस्ता केन्द्रमा अनमी (स्वास्थ्यकर्मी) को व्यवस्था गरेको छ । गत चैतबाट सबै वडामा सेवा सुरु भएको हो ।

गाउँपालिका सूचना अधिकारी मोहन ढकालका अनुसार अशिक्षा, चेतना अभाव र भौगोलिक विकटताले घरमै सुत्केरी हुनेको संख्या धेरै छ । ‘नीति तथा कार्यक्रममै घरमा सुत्केरी हुनेको सख्ंयामा शून्य गराउने घोषणा गरेका थियौं,’ उनले भने, ‘सोहीअनुसार कार्यक्रम अघि बढाइएको हो ।’ गाउँपालिकाले दुई वर्षभित्र घरमै सुत्केरी हुनेको संख्या शून्यमा झार्ने योजना सफल पार्न १५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । ‘तालिमप्राप्त कर्मचारीको कमी नहोस् भनेर एक–एक अनमीको व्यवस्था गाउँपालिकाले गरेको छ,’ सूचना अधिकारी ढकालले भने, ‘त्यसपछि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका छौं ।’ २४ घण्टा नै स्वास्थ्य संस्थामा कर्मचारी बसेर सेवा दिने व्यवस्था मिलाइएको उनले बताए ।


पूर्वखोला ६ हेक्लाङको स्वास्थ्यचौकी प्रमुख अमृतविक्रम श्रेष्ठका अनुसार चालु वर्षमा १८ जना घरमै सुत्केरी भएका थिए । २३ जना नजिकका स्वास्थ्यचौकी पुगेर सुत्केरी गराए । ‘अझै पनि चेतनाको कमी छ,’ उनले भने, ‘साबिकका सबै वडामा पुगेर यस विषयमा सुत्केरीलाई जानकारी गराइएको छ । आगामी दिनमा स्वास्थ्य संस्थामै आउलान् भन्ने अपेक्षा लिएका छौं ।’


सबै वडामा घरमै सुत्केरी हुने गरेका छन् । गाउँपालिकाले सचेतना अभियानका लागि समेत केही रकम सहयोग गरेको छ । जसले गर्दा साबिकका सबै वडा पुगेर महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारीले चेतना फैलाउन सहयोग गरेका हुन् ।

प्रकाशित : असार ४, २०७५ ०९:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT