कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध ओसारपसार र बेचबिखन बढ्यो

चालु आवको ११ महिनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका ३४ मुद्दा दर्ता भए भने सीमाबाट ३६७ जनाको उद्धार

बुटवल — कुबेत लैजाने भनी अवैध रूपमा भारत लैजाँदै गरिएका ३ महिलालाई सोमबार रूपन्देहीको बेलहिया नाकाबाट उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले इटहरि, सुनसरी र झापाका उनीहरूको उद्धार गरेको हो । दिल्ली पुर्‍याउने कामको जिम्मा लिएका २ महिलासमेत प्रहरी फन्दामा परेका छन् ।

अवैध ओसारपसार र बेचबिखन बढ्यो

बुटवलको डिपार्टमेन्ट पसलमा काम लगाइदिने भन्दै भारतको नेटवर्किङ व्यवसायमा लैजान लागिएका २ युवतीलाई जेठ १७ मा जिल्ला प्रहरीले उद्धार गरेको थियो । फेसबुकमार्फत साथी बनाएर भारत लैजाँदै गरेका स्याङ्जाकै सुमन विकलाई प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको उजुरीमा प्रहरी हिरासतमै छन् ।


खुला सीमाको फाइदा उठाउँदै पछिल्ला वर्षमा रूपन्देहीमा अवैध ओसारपसार तथा बेचबिखनका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार राम्रो जागिर लगाइदिने र प्रशस्त पैसा कमाउन सकिने लोभ देखाएर किशोरी तथा युवतीलाई भारतको अवैध नेटवर्किङ व्यवसायमा धनेलिने गरेको छ । भारतीय बाटो हुँदै प्रतिबन्धित देशमा ओसारपसार गराउने क्रम पनि बढेको छ ।


प्रहरीको तथ्यांकअनुसार चालु आवको ११ महिनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका ३४ मुद्दा दर्ता भएका छन् । ३ सय ६७ जनाको सीमा क्षेत्रबाट उद्धार भएको छ । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष ०७३/०७४ मा २८ उजुरी दर्ता भएका थिए । सीमा कटाउँदै गरिएका ५ सय १६ जनाको सीमा क्षेत्रबाट उद्धार भएको थियो । आर्थिक वर्ष ०७२/०७३ मा जम्मा १९ उजुरी दर्ता थिए । १ सय १३ जनाको सीमा क्षेत्रबाट उद्धार भएको थियो । आर्थिक वर्ष ०७१/०७२ मा जम्मा १५ उजुरी दर्ता भएका थिए । १ सय जनालाई प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको थियो । आर्थिक वर्ष ०७०/०७१ मा ६ वटा उजुरी परेका थिए । बेचबिखनको जोखिममा रहेका १ सय ३७ जनाको उद्धार भएको थियो । यति धेरै संख्याका पीडितको उद्धार गर्दा पनि मुख्य आरोपी भने पक्राउ परेका छैनन् । अधिकांश घटनामा युवतीलाई सीमा कटाउन लगाएर अभियुक्त पहिल्यै सीमापार पुग्ने, पीडितले उसको सक्कली परिचय बताउन नसक्ने भएकाले पक्राउ गर्न र कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको प्रहरी बताउँछ ।


बेचबिखन तथा ओसारपसारमा आफन्तको संलग्नता हुने र पीडितहरूले नै आरोपीलाई लुकाउँदा पनि पक्राउ गर्न र मुद्दा प्रक्रियामा लैजान नसकेको महिला तथा बालबालिका केन्द्र प्रमुख लक्ष्मण विकले बताए । प्रहरीका अनुसार छिटो धनी र सुखी बन्ने मनोकांक्षा पालेका युवती, घरपरिवारबाट हिंसामा परेका, अभिभावक गुमाएका, एकल महिला बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा देखिन्छन्् । अरूको देखासिकी गरेर राम्रो लुगा लगाउने, मीठो खाने, छिटो धनी बन्ने, धनी केटासँग प्रेम तथा बिहे गर्ने मनोकांक्षा पालेका युवती पनि जोखिममा छन् । केही वर्षअघिसम्म भारतीय भूमिमा मात्रै बेचबिखन तथा ओसारपसार गर्ने दलालले अहिले देशभित्रै पनि होटल तथा रेस्टुराँ र खाडी मुलुकमा रोजगारीमा पठाउने नाममा ओसारपसार गरिरहेका छन् ।


रूपन्देहीमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था १३ छन् । ५ वटाले सीमा क्षेत्रमै निगरानी केन्द्र राखेका छन् । उनीहरू दिनभर शंकास्पदलाई सोधपुछ गर्ने र प्रहरी सहयोगमा नियन्त्रणमा लिने गर्छन् ।

प्रकाशित : असार ८, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?