कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेजपात बेचेर मालामाल

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्लाका ६ वटै स्थानीय तहमा बाँदर र जंगली जनावरले स्थानीयलाई सताएको छ । तिनले खेतबारीमा पाक्दै गरेको अन्न खाइदिनाले सर्वसाधारण आजित छन् । बाँदरले घरभित्र पसेर भान्साका खाना खाइदिने, अन्नपात, लत्ताकपडा नोक्सान गर्ने र मान्छेमाथि जाइलाग्ने समस्याले स्थानीय हैरान बनेका हुन् ।

तेजपात बेचेर मालामाल

सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकाले गत आर्थिक वर्षमा सम्पन्न सभाबाट सबै वडामा बाँदर हेरालु राख्न १/१ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । यसपालि छुट्याएका छैनन् ।

पाणिनी गाउँपालिकाले यस वर्षदेखि बाँदरले नोक्सान नगर्ने र सर्वसाधारणलाई आम्दानी हुने तेजपात खेती गर्ने अभियान सुरु गरेको छ । तेजपात खेती विस्तारमा बिरुवा उत्पादन गर्न गाउँपालिकाले २८ लाख रुपैयाँ यस वर्षको गाउँसभाबाट बजेट विनियोजन गरेको छ । वडा २ ले पनि १ लाख रुपैयाँ छुटयाएको छ । यतिबेला वन र खरबारीमा धमाधम तेजपातका बिरुवा रोप्ने काम भइरहेको छ ।

खिदिमकी मुना गौतम पाक्दै गरेका मकै जोगाउन दिनभर बारीमा चौकीदारी गर्छिन् । तर पनि, बाँदरको ठूलो समूहबाट मकै जोगाउन सक्दिनन् । पाणिनी गाउँपालिका र वन कार्यालयले तेजपातको खेती अभियान सुरु गरेपछि उनी हर्षित छन् । बाँदरको हैरानीले बसाइँसराइ गर्ने उनको सोच बदलिएको छ । ‘घरमा ४ वटा बोट छन्, वार्षिक ५ हजार रुपैयाँभन्दा बढी नै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘बोक्रा र पात बिक्री हुन्छ । बाँदरले नोक्सान गर्दैन । अब यहीँ बसेर १० रोपनी बारी र खरबारीमा बिरुवा रोपेर आम्दानी गर्छु ।’ यसको पात प्रतिकिलो ५० र बोक्रा १ सय रुपैयाँमा बिक्री हुन्छ । रोपेको ३ वर्षमा पात बिक्री गर्न सकिन्छ । मुनाजस्तै यहाँका धेरै सर्वसाधारण तेजपात लगाएर खुसी छन ।

खरबारी, सामुदायिक वन र बारीमा तेजपातका बिरुवा रोप्न थालिएको छ । पणेनाका खुमानन्द पोखरेलले वन कार्यालयको लगानीमा २५ हजार बिरुवा उत्पादन गरे । ५ सय आफ्नै जग्गामा रोपे । बारीछेउमा आम्दानी दिने ४० रूख छन् । वर्षमा झन्डै १ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । ‘धेरै दु:ख गर्न नपर्ने, पात र बोक्रा बेचे पैसा आउँछ,’ उनले भने, ‘तेजपातको जंगलै बनाए झनै फाइदा हुन्छ । भविष्य राम्रो छ ।’

अन्न उत्पादन हुने बारीमा यही खेती गरे आम्दानी सजिलै भित्रिने उनले बताए । गाउँपालिका र वन कार्यालयको बिरुवा रोप्ने अभियानले केही वर्षभित्रमा तेजपातको पकेट क्षेत्रका रुपमा चिनिने र आम्दानी हुने उनले बताए । ‘असिनाले पात झार्दैन, रोगकीरा पनि लाग्दैन,’ रामबहादुर घर्तीले भने, ‘आम्दानी लिने सजिलो उपाय हो । जंगल र खरबारीमै यसको रूख मौलाउँछ ।’

बाँदरबाट बाली जोगाउन मुस्किल परेपछि विकल्पका रूपमा तेजपाती खेती लगाउन थालिएको हो । तेजपातका रूखमा बाँदर बसे पनि बोक्रा र पात नोक्सान गर्दैनन । ‘अन्नखेती नै गर्नुपर्छ भन्ने छैन,’ वन अधिकृत दीपक ज्ञवालीले भने, ‘एकपटक रोपेको तेजपातले वर्षौंसम्म आम्दानी दिइरहन्छ । बोक्रा र पात बेचेर वर्षमा २ लाख आम्दानी भित्रिए रोजगारीका लागि विदेश धाइरहनु पर्दैन ।’

पाणिनी गाउँपालिकाले आफना ८ वटै वडामा नर्सरी स्थापना गरेको छ । हरेक नर्सरीमा ८ हजार बिरुवा उत्पादन गरी रोप्न थालिएको उनले बताए । गत वर्ष ४० हजार बिरुवा पोखराथोक र पणेनाको सामुदायिक वनमा रोपिएको थियो । यस वर्ष दुई लाख बिरुवा बाँझा, खाली खेतबारी र खरबारीमा धमाधम रोप्ने काम भइरहेको उनले बताए ।

‘तेजपात खेतीको भविष्य उज्ज्वल छ,’ उनले भने, ‘नांगो वन र निजी जग्गामा व्यावसायिक खेती गर्न कृषक उत्साहित छन । उत्पादन धेरै भएपछि भारतमा समेत निर्यात गर्न सकिन्छ ।’यस क्षेत्रमा पहिलेदेखि नै छिटफुट रूपमा तेजपातका रूख थिए । अन्नबालीजस्तै खेती गर्दा यसबाट हुने फाइदा, माग, बजारीकरण र भविष्यबारे वन कार्यालयले प्रशिक्षण दिएपछि स्थानीय यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन ।

खिदिम, पोखराथोक, पणेना, धातीबाङ र मैदानमा छिटफुट रुपमा केही कृषकले यसअघि पनि तेजपात बिक्री गरेर आम्दानी लिँदै आएका थिए । पाणिनी गाउँपालिकाले १ घर २ सय तेजपातका बिरुवा रोप्ने अभियान नै सञ्चालन गरेको छ ।

जसमा ५० बिरुवा जोगाएमा तीन वर्षपछि १ घरमा वर्षमा २ लाख रुपैयाँ आम्दानी भित्रिने र सिंगो गाउँपालिकामा १ अर्ब रुपैयाँ भित्र्याउने योजनाका साथ अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष अच्यूत गौतमको दाबी छ । राष्ट्रिय वृक्षरोपण दिवसको दिन वडा २ को पातालेपानी वनमा अध्यक्ष गौतम, उपाध्यक्ष लक्ष्मी गौतम र वन अधिकृत ज्ञवालीले झन्डै ३ सय सर्वसाधारणको उपस्थितिमा २ हजार १ सय बिरुवा रोपेर अभियान सुरु गरेपछि सबै वडाका सर्वसाधारण आफनो खरबारी, सामुदायिक वन र बारीमा तेजपातका बिरुवा रोप्न हौसिएका छन ।

‘३ वर्षमा हरेक घरमा पात र बोक्रा बेचेर वार्षिक दुई लाख रुपैयाँ निरन्तर आम्दानी गर्ने गरी काम गरेका छौं,’ गौतमले भने, ‘हाम्रो एउटै अभियान छ, तेजपातबाट पाणिनीलाई समृद्ध बनाउने ।’ खेतबारीमा पाक्नै लागेको अन्नबाली बाँदरले सखाप पारिदिएर सताएका बेला वैकल्पिक र मनग्य आम्दानी हुने तेजपात खेती अघि सारिएको उनले बताए ।

पुरुष वैदेशिक रोजगारीमा भएकाले अधिकांश घरमा महिला छन । बिरुवा रोप्न महिला सक्रिय छन । आफनो बारीमा तेजपात खेती गरेर स्वरोजगार महिला उद्यमी बनाइने उपाध्यक्ष गौतमले बताइन ।

प्रकाशित : असार २३, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?