कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थनगरद्वारा पर्यटनमा प्राथमिकता

माधव ढुंगाना

भैरहवा — सिद्धार्थनगर नगरपालिकाले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । नगरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने खालका कार्यक्रम समावेश गरी बजेट विनियोजन गरिएको हो । हालै सम्पन्न तेस्रो नगरसभाले पर्यटकीय नगरका रूपमा विकास गर्ने घोषणा गरेको थियो ।

सिद्धार्थनगरद्वारा पर्यटनमा प्राथमिकता

नगरप्रमुख हरिप्रसाद अधिकारीले सिद्धार्थनगर लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको र स्थलमार्ग हुँदै तेस्रो मुलुकका सबैभन्दा धेरै पर्यटक सिद्धार्थनगर हँुदै नेपाल भित्रिने गरेकाले पर्यटनलाई प्राथमिकतामा राखिएको बताए । ‘नगरमा पर्यटन व्यवसाय फस्टाउँदो रूपमा हुनुका साथै यसमा लगानी पनि बढ्दो छ,’ नगरप्रमुख अधिकारीले भने, ‘पर्यटकलाई आकर्षित गर्ने र व्यवसायलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम समावेश गरेका छौं ।’

नगरसभाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको डण्डा नदी क्षेत्रलाई जल पर्यटन क्षेत्र घोषणा गरेको छ । त्यहाँ पार्क निर्माण गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ । भैरहवादेखि सीमावर्ती सुनौली सडकको बीचमा रहेको डण्डा नदी किनारमा सुन्दर पार्क निर्माण गरिनेछ । नदीमा नौका विहार (बोटिङ) गराउने योजनासमेत छ । नदी किनारमा होटल तथा रेस्टुराँ निर्माणका लागि निजी लगानीलाई आकर्षित गरिनेछ ।

नेपाल प्रवेश गर्नासाथ पर्यटकलाई नेपाल र बुद्ध भूमिको चिनारी दिने उद्देश्यले सीमा क्षेत्र बेलहियामा लुम्बिनी झल्किने प्रवेशद्वार निर्माण गरिने भएको छ । बेलहियादेखि भैरहवा आउने सडकका दायाँ–बाँया बुद्धका मूर्ति राखिने र नगरका सबै घरमा बुद्धले लगाउने वस्त्रसँग मिल्दो रंगको प्रयोग गर्ने खालका योजना समावेश गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताए । ‘भारतबाट नेपाल प्रवेश गर्नासाथ पर्यटकलाई बुद्ध जन्मस्थल राष्ट्रमा आफू आइपुगेको अनुभूति गराइनेछ,’ उनले भने ।

आव ०७५/७६ का लागि नगरसभाले २ अर्ब ४९ लाख ८१ हजार रुपैयाँको बजेट प्रस्तावित गरेको छ । सरकारबाट जारी भएको भूउपयोग नीतिको कार्यान्वयन तथा निजी क्षेत्रबाट सञ्चालन गरिने जग्गा विकास कार्यलाई प्रभावकारी र व्यवस्थित गर्न आवश्यक पहल गर्ने, करेसाबारी तथा कौसी खेती, टोलटोलमा बोटबिरुवा रोप्ने नीति अवलम्बन गरिने, हाटबजारमा सामुदायिक भवनअन्तर्गत व्यवस्थित बजार निर्माण गर्नेलगायत प्रस्ताव नगरसभाले पारित गरेको छ ।

नगरमा बसोवास गरेका ८५ वर्षमाथिका ज्येष्ठ नागरिकको सम्मानका लागि घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने योजना अघि ल्याइएको छ । नगरलाई हरित नगरका रूपमा विकास गर्न वृक्षरोपणसम्बन्धी विशेष कार्यक्रम तयार पारी ५ वर्षभित्रमा सबै सडकछेउ, खाली सार्वजनिक र ऐलानी जग्गामा वृक्षरोपण गरिने, महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने, दाइजो प्रथा, महिला हिंसा, बालविवाह रोक्ने कार्यक्रम समावेश गरेको छ ।

नगरपालिकाले आगामी वर्षमा गर्ने लगानीमध्ये भौतिक पूर्वाधारमा १ अर्ब ५७ करोड ४७ लाख ९५ हजार (७८.५४ प्रतिशत) रहेको छ, जसमध्ये सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्रमा १ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ । नियमित सरसफाइतर्फ २ करोड ३० लाख, सडक बत्ती व्यवस्थापनका लागि ४० लाख रुपैयाँ स्वीकृत गरेको छ । सामाजिक विकासअन्तर्गत ३७ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : असार २३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?