कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैरकानुनी भुक्तानी गर्न दबाब

कालोपट्टी बाँधेर कर्मचारी काममा

प्यूठान — जिल्लास्थित झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ताराकिरण केसी चार दिनदेखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । जनप्रतिनिधिबाट गैरकानुनी भुक्तानीका लागि दबाब र धम्की आएपछि विरोध जनाएको केसीले बताए ।

गैरकानुनी भुक्तानी गर्न दबाब

असार मसान्तसम्म सेवाग्राहीलाई दु:ख नपुगोस् भनेर विरोधस्वरूप कालोपट्टी बाँधेर काम गरिरहेको उनले बताए । काम पूरा नभएका योजनाको भुक्तानीका लागि दबाब आएको हो ।

जनप्रतिनिधिबाट गैरकानुनी भुक्तानी दिन धम्की आएपछि गाउँपालिका प्रमुखसमक्ष त्यसबारे मौखिक जानकारी गराए पनि सुनुवाइ नभएको उनले बताए । यस्ता घटना दोहोरिएकाले यसपालि लिखित रूपमा निवेदन दिएर कार्यसम्पादन सहज बनाउन आग्रह गरेको उनले बताए । केसीले गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निवेदनको बोधार्थ पठाएको पनि दाबी गरे ।

कार्यकक्षमै आएर काजगपत्र नमिलेका योजनामा पनि भुक्तानीका लागि चेक काटन धम्की दिने गरेको उनले गुनासो गरे । जनप्रतिनिधिले कानुनविपरीत सुविधा माग्ने गरेको समेत उनले खुलाए । ‘वडाध्यक्षले महिनौंको दैनिक भ्रमण भत्ता भरेर भुक्तानी दिन दबाब दिन्छन्,’ उनले भने, ‘दिन मिल्दैन भन्दा देख्लास्, पख्लास् भन्दै धम्क्याउँछन् । सहज रूपमा काम गर्न कठिन छ ।’ कुनै/कुनै योजनामा दोहोरो रकमसमेत भुक्तानी माग्ने गरेको उनले बताए ।

असार २२ गते झिमरुक २ का वडाध्यक्ष बलबहादुर महतराले कार्यकक्षमा आएर गैरकानुनी रूपमा भुक्तानी दिन दबाब दिएपछि आफूले कालोपट्टी बाँधेर विरोध सुरु गरेको केसीले बताए । ‘नियमअनुसार भुक्तानी दिन मिल्दैन भन्दा गाली खानुपर्‍यो,’ उनले भने, ‘यस्ता घटना धेरै पटक भएका छन् । कसरी काम गर्न सकिन्छ ?’ आर्थिक वर्षको अन्त्यमा झन् तनाव भइरहेको उनले सुनाए ।

जनप्रतिनिधिले काम पूरा नभएका योजनाको भुक्तानी दिन दबाब दिन थालेपछि कर्मचारीलाई असहज हुँदै गएको छ । उनले जिल्ला प्रशासनमा सुरक्षा व्यवस्थाका लागि निवेदनसमेत दिएको बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले गुनासो जिल्ला प्रशासनमा आएको स्वीकारे । ‘गैरकानुनी तरिकाले भुक्तानी गर्न धम्की दिएको भन्ने उजुरी आएको छ,’ उनले भने, ‘सरकारी पैसा सरकारी प्रक्रियाभन्दा बाहिर गएर खर्च गर्न मिल्दैन । बुझेर आवश्यक पहल लिनेछु ।’ झिमरुक २ का वडाध्यक्ष महतराले कर्मचारीले अनावश्यक नियम कानुन भन्दै जनप्रतिनिधि र सेवाग्राहीलाई दु:ख दिइरहेको बताए ।

झिमरुक गाउँपालिकामा मात्र नभएर अन्यमा समेत असार मसान्तमा कर्मचारी र जनप्रतिनिधिबीच भुक्तानी विषयमा विवाद चर्किंदै गएको छ । जनप्रतिनिधिले रकम विनियोजित सबै उपभोक्ता समितिलाई भुक्तानी गर्न दबाब दिने गरेका छन् । तर, कर्मचारीले कागजपत्र र प्रक्रिया पूरा भएको खोज्दा विवाद भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतले मौखिक र लिखित गुनासो गरेको गाउँपालिका अध्यक्ष तिलक जीसीले बताए । कार्यव्यस्तताले गर्दा छलफल गर्न नपाएको र छिट्टै कार्यपालिका बैठकमा गुनासोबारे छलफल हुने जीसीले बताए ।

प्रकाशित : असार २८, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?