कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेटवर्क नहुँदा समस्या

प्यूठान — जिल्लाका दुई स्थानीय तहका केन्द्र क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्थानीयले समस्या भोगिरहेका छन् ।

नेटवर्क नहुँदा समस्या

गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकाको केन्द्र क्षेत्रमा नेटवर्क नहुँदा समस्या भएको हो ।


गौमुखी गाउँपालिकास्थित नारीकोटमा निर्माण गर्न लागिएको नेपाल टेलिकमको टावर निर्माण पूरा गर्न ढिलाइ भएका कारण यस्तो समस्या भोग्नुपरेको सेवाग्राहीको गुनासो छ ।


यस क्षेत्रकै अग्लो नारीकोट डाँडामा टेलिकमको टावर निर्माणको काम थालेको वर्षौं भए पनि पूरा हुन सकेको छैन ।


गौमुखी र झिमरुक गाउँपालिका क्षेत्रका टेलिकमका सेवाग्राही ८ हजारभन्दा बढी छन् । गाउँपालिकाकै केन्द्र रहेको क्षेत्रमा नेटवर्क नहुँदा आउने सेवाग्राहीले निकै समस्या भोग्नु परेको झिमरुक गाउँपालिका १ बाँदीकोकोट बालुवाका विमल शर्माले बताए ।


‘गाउँपालिकामा फोन गर्न खोज्यो लाग्दैन,’ उनले भने, ‘यसले गर्दा गाउँपालिकाको सेवा लिनसमेत समस्या भएको छ ।’


जिल्लाकै प्रसिद्ध धार्मिक तीर्थस्थल गौमुखी मन्दिर क्षेत्रमा मोबाइल राम्रोसँग नचल्दा गौमुखी आउने पर्यटकले समेत समस्या भोग्नु परेको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।


झिमरुक र गौमुखी क्षेत्रमा मोबाइल सेवालाई प्रभावकारी बनाउन गौमुखीको नारीकोट र मल्लरानी गाउँपालिकाको चुजा सिंदुरेलेकमा टावर निर्माण गर्ने काम भइरहेको नेपाल टेलिकम प्यूठानका प्रमुख कृष्णकुमार श्रेष्ठले बताए ।


‘नेटवर्कको समस्या समाधानका लागि दुई स्थानमा नयाँ टावर निर्माण गर्दै छौँ,’ उनले भने, ‘दुवै स्थानका टावर दसैंअगाडि नै सञ्चालन हुनेछन् ।’

प्रकाशित : असार २८, २०७५ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?