कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँलेले चलाएको अस्पताल

हरि गौतम

रुकुमपूर्व — भूमे गाउँपालिका ३ मा झुम्लाबाङ सामुदायिक स्वास्थ्य केन्द्र चलाइएको छ । सात वर्षअघि स्थापना गरिएको २४ सै घण्टा उपचार सेवा दिँदै आएको उक्त केन्द्र सरकारी भने होइन । तर, सरकारीमा पाइने सबै सेवासुविधा यहाँ पाइन्छन् ।

गाउँलेले चलाएको अस्पताल

२०६९ सालमा स्थानीयको सक्रियतामा स्थापना भएको यस केन्द्रबाट झुम्लाबाङ र त्यस आसपासका सर्वसाधारणले नियमित उपचार सेवा पाइरहेका छन् । साबिक मोराबाङ गाविस ९ मा पर्ने झुम्लाबाङवासी सामान्य उपचारका लागि नै धेरै टाढा पुग्नुपथ्र्यो ।

त्यही दु:खले स्थानीय आफैं मिलेर स्वास्थ्य केन्द्र स्थापना गरेका हुन् । झुम्लाबाङ भिलेज फाउन्डेसनले सञ्चालन गर्नेगरी स्थापना गरिएको उक्त केन्द्रमा सरकारी स्वास्थ्यचौकीमा हुने सबै उपचार पाइन्छ । सरकारीसरह नै औषधि पनि नि:शुल्क छ । ‘स्थानीयलाई सजिलो होस् भनेर स्थापना गरिएको स्वास्थ्य केन्द्रमा हामीले अधिकांश औषधि नि:शुल्क दिएका छौं,’ स्वास्थ्य केन्द्र इन्चार्ज शिवकुमार बुढामगरले भने, ‘केन्द्र स्थापनापछि घाउ, चोटपटकदेखि ससाना रोगका लागि टाढा जानु पर्दैन ।’

स्वास्थ्य केन्द्र आफ्नै भवनमा छ । भवन र केन्द्रका लागि स्थानीयले श्रमदान र आर्थिक सहयोग गरेका थिए । भवन निर्माणमा फ्रान्सकी नर्स भ्यारोनिक चेनाठले पनि आर्थिक सहयोग गरिरहेकी छन् । भवन निर्माणमा ६५ लाख रुपैयाँमा खर्च भइसकेको झुम्लाबाङ भिलेज फाउन्डेसनका अध्यक्ष रामबहादुर बुढामगरले बताए । ‘अझै भवन पूरा भएको छैन,’ उनले भने, ‘अहिलेसम्म श्रमदान र आर्थिक सहयोग गरेर ६५ लाखभन्दा बढी खर्च गरिसकेका छौं ।’

गाउँदेखि स्वास्थ्यचौकी र अस्पताल दुवै टाढा भएकाले गाउँमै केन्द्र बनाइएको उनले बताए । भवन निर्माणका लागि सक्नेले नगद र नसक्नेले श्रमदान गरे । झुम्लाबाङमै घर भएर विभिन्न रोजगारीमा रहेकाले गरेको नगद सहयोगले केन्द्र व्यवस्थापन गर्न सहज भएको फाउन्डेसनले जनाएको छ । स्वास्थ्य केन्द्रबाट वर्षमा झन्डै ८ सय बिरामीले उपचार सेवा लिएका छन् ।

शिविरबाट सेवा लिने अझै धेरै छन् । वर्षको २ पटक विशेषज्ञसहितको स्वास्थ्य शिविर पनि चल्छ । अस्पतालमा ६० भन्दा बढी औषधि पाइन्छन् । अति आवश्यक औषधिको अभाव हुन नदिन पर्याप्त औषधि खरिद गरिएको इन्चार्ज बुढाले बताए । औषधि खरिद केन्द्र आफैंले गर्छ । ‘हामीसँग कुनै त्यस्तो स्रोत छैन,’ अध्यक्ष बुढाले भने, ‘हाम्रा स्रोत भनेकै दाता हुन्, विदेशतिर हुनेलाई सहयोग गर्न आग्रह गर्छौं र केही गाउँलेले नै जुटाउँछौं ।’

गाउँमै स्वास्थ्य केन्द्र आएपछि सामान्य उपचारबाट कोही वञ्चित हुन नपरेको ५८ वर्षीय केशु थापाले बताए । ‘केही वर्षअघिसम्म सानो घाउचोट सफा गर्न पनि एक दिन टाढा जानुपथ्र्यो, अहिले सजिलो छ,’ उनले भने, ‘ससाना समस्याको घरआँगनमै उपचार हुन्छ ।’ आधारभूत विद्यालय झुम्लाबाङकी शिक्षक कमला बुढामगरले गाउँलेकै सक्रियतामा स्थापना भई चल्दै आएको केन्द्रबाट सर्वसाधारणले सहज र नि:शुल्क सेवा पाएको बताइन् ।

प्रकाशित : श्रावण ३, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?