कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाको जिज्ञासा मन्त्रीसँग

अधिकांशमा अभिभावक र संरक्षकबाटै हिंसा हुन्छ

बुटवल — कानुनमा धेरै कुरा लेखिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको प्रदेश ५ का बालबालिकाले सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सुनाएका छन् ।प्रदेश ५ का ८ जिल्लाका बालसञ्जालका पदाधिकारीलाई सामाजिक विकास मन्त्रालयले बुटवलमा भेला गराएको थियो ।

बालबालिकाको जिज्ञासा मन्त्रीसँग

प्रदेशस्तरीय बालसञ्जाल गठनका लागि जुटेका उनीहरूले मन्त्रीसँग समय लिएर छलफल गरेको महिला विकास अधिकृत प्रतिभा पन्थीले बताइन् । बालबालिकाले २ घण्टासम्म मन्त्रीसँग जिज्ञासा राखे ।

गुल्मीका विकास रानाले सामुदायिक विद्यालयले शुल्क लिँदा विपन्न बालबालिकाले पढ्न नपाएको बताए । ‘आधारभूत तहसम्म नि:शुल्क भनिएको छ,’ उनले भने, ‘तर, हामीले सामुदायिक विद्यालयमै नि:शुल्क पढ्न पाएनौं ।’ अंग्रेजी माध्यम भन्दै शुल्क लिने गरेको उनको भनाइ छ । पाल्पाका बालसञ्जाल अध्यक्ष सुबोध खनालले बालबालिकाले आफ्ना कुरा आफैं राख्न र विरोध गर्न नसक्ने भएकाले बेवास्ता गरेको बताए । ‘घरदेखि विद्यालयसम्म अभिभावक र संरक्षकबाटै बढी हिंसा हुन्छ,’ उनले भने, ‘यसले धेरै न्यायबाटै वञ्चित छन् ।’

कानुनमा बालविवाहलाई अवैध माने पनि व्यवहारमा नरोकिएको कपिलवस्तुकी गायत्री गुप्ताले सुनाइन् । ‘धर्म हुने र छोरीलाई धेरै लगानी गर्नु नपर्ने विश्वासमा बाआमाले सानैमा बिहे गरिदिनुहुन्छ,’ उनले भनिन्, ‘अभिभावक नै विपक्षमा भएकाले हामीले एक्लै रोक्न सक्दैनौं ।’ विद्यालय शान्ति क्षेत्र घोषणा गरिए पनि बन्द हड्तालले सास्ती दिएको र शिक्षकले नै बन्द गर्न उक्साउने बालबालिका सुनाउँछन् ।

शिक्षक नै मादकपदार्थ, धुम्रपानलगायत लतमा फसेको, अभिभावकले रक्सी खाने, बहुविवाह गर्ने, सम्बन्धविच्छेद गर्ने कारणले बालबालिका बिचल्लीमा परेको, धारा, शौचालय, घरका चुकुलसम्म पनि बालबालिकाले भेट्ने ठाउँमा नभएको जस्ता दर्जनौं समस्या उनीहरूले मन्त्रीलाई सुनाएका थिए । चरित्रहीन शिक्षकलाई कारबाही, अभिभावकविहीन बालबालिकालाई राज्यबाटै संरक्षण, बालमैत्री संरचना निर्माण गर्न उनीहरूले आग्रह गरे ।

उनीहरूका समस्या, गुनासा र जिज्ञासापछि मन्त्री बरालले बालबालिका देशका आधार भएकाले बालहिंसा रोक्न र अधिकार संरक्षण गर्न प्रतिबद्ध रहने बताए । अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षामा पहुँच प्रदेश सरकारको प्राथमिकता भएको उनले बताए । ‘धर्म, संस्कृति र परम्पराका नाममा समेत बालहिंसा छ,’ उनले भने, ‘तपार्इंहरूका समस्या विश्लेषण गरेर समाधानको बाटो खोज्नेछु ।’

प्रकाशित : श्रावण ३, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?