कुलतमा फस्दै किशोरकिशोरी

१०/१५ वर्षमुनिकाले पनि लागूऔषध प्रयोग गर्न थालेका छन्
ठाकुरसिंह थारू

नेपालगन्ज — नेपाल भारत सीमा जमुनाहा नाकामा लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न बालबालिका पक्राउ पर्न थालेका छन् । पक्राउ पर्ने अधिकांश २० वर्षमुनिका छन् ।

कोहलपुर नगरपालिका ११ का १६ वर्षीय पूवराज शाही लागूऔषध सेवन गरेको अवस्थामा नेपालगन्ज जमुनाहा नाकाबाट समातिए । नेपालगन्जका १३ वर्षीय मुकेश धोबीलाई पनि प्रहरीले लागूऔषध सेवन गरेकै अवस्थामा पक्राउ गर्‍यो । सुर्खेत बाबियाचौर गाउँपालिका ९ का १७ वर्षीय किरण बयकलाई प्रहरीले ६ सय ३ ट्याबलेट नाइट्रो भ्याट नामक लागूऔषधसहित नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । उनले यसअघि पनि भारतबाट लागूऔषध ल्याएर बिक्री गर्दै आएको प्रहरीले बताए ।


जमुनाहास्थित प्रहरीका अनुसार साउनमा मात्रै लागूऔषधसहित ११ पक्राउ परिसकेका छन् । तीमध्ये पनि अधिकांश २० वर्षमुनिका रहेको प्रहरीले जनाएको छ । असार महिनामा लागूऔषधसहित १७ पक्राउ परेको जमुनाहा प्रहरीले जनाएको छ । ‘दैनिक दुई/तीन जना लागूऔषध सेवनकर्ता नाकाबाट समातिन्छन् । तीमध्ये सबैजसो किशोर नै छन्,’ सीमास्थित इलाका प्रहरीका प्रमुख सई सुनील शाहले भने, ‘धेरैजसो नयाँ पुस्ताका युवाले लागूऔषध सेवन गरिरहेको पाइएको छ ।’

Yamaha


प्रहरीले सेवनकर्तालाई पक्राउ गरी अर्कोपल्ट गल्ती नदोहोर्‍याउने कागज गराएर छोड्ने गरेको छ । तर, लागूऔषधसहित पक्राउ परेकालाई भने मुद्दा नै चलाउने गरेको छ ।


कुलतमा फसेका बालबालिकाले जुत्ता, चप्पल टाल्न प्रयोग गरिने सोलुसनलाई लागू औषधका रूपमा प्रयोग गर्दै आएका छन् । उनीहरूले फालिएका प्लास्टिकका झोला वा सीसीमा सोलुसन राखेर मुखले जोडले फुकेर नशा लिने गर्छन् । सवारी साधनका पन्चर भएका ट्युब टाल्न पनि सोलुसनको प्रयोग गरिन्छ । त्यसलाई लागूऔषध नमानिने भएकाले भारतीय बजारबाट ल्याउन सजिलो छ । १० देखि १५ वर्षमुनिका बालबालिकाले पनि यसरी लागूऔषध प्रयोग गरेको पाइएको छ ।


सडक बालबालिका, अभिभावक गुमाएका र परिवारले निगरानी नगर्दा कुलतमा फस्ने गरेका छन् । लागूऔषधका रूपमा प्रयोग हुन थालेपछि सोलुसनको बिक्री पनि बढेको छ । उक्त समान भारतीय बजारबाट ल्याउँदा सीमामा खासै नरोकिने भएकाले कुलतमा फसिसकेका व्यक्ति र व्यवसायीले सजिलै यी सामान ल्याउने गरेका छन् ।


अचेल लागूऔषध गाउँमा पनि पाउन थालिएको छ । झोलमा पाइने कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर गाउँमै सहज रूपमा पाइन्छ । लागूऔषधको कुलतमा बालबालिका अत्यधिक मात्रामा फसिरहेको स्थानीयले बताए । नेपालगन्ज र कोहलपुरमा लागूऔषध प्रयोगकर्ता देखिन्थे । देखासिकीमा गाउँका युवा र बालबालिका दुव्र्यसनीमा फस्न थालेका हुन् । लागूऔषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले उनीहरू त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।


नेपालगन्ज र यस आसपासको क्षेत्र अहिले लागूऔषध कारोबार र प्रयोगकर्ता बालकालिकाको केन्द्रविन्दुजस्तै बन्न पुगेको छ । खुला सीमाका कारण यहाँको लागूऔषध तस्करी नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै गएको छ भने गिरोहको चलखेल बढदै गएको छ ।


लागूऔषध तस्करीमा प्रयोग गरिएका भरियालाई प्रहरीले दैनिकजसो पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ । लागूऔषधसहित पक्राउ पर्नेले प्रहरीमा बयान दिँदा पैसाको प्रलोभनमा परेको र तस्करी गराउनेलाई नचिनेको बताउने गरेका छन् ।

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ १०:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ढकियामा नयाँ सीप

‘नयाँ डिजाइनका ढकिया आकर्षक भएकाले माग पनि बढिरहेको छ’
कान्तिपुर संवाददाता

बाँके — कोहलपुरकी कंग्रेसनी चौधरीले नयाँ–नयाँ डिजाइनका ढकिया बनाउँछिन् । पहिले पनि उनी ढकिया बुन्थिन् तर ती पुरानो ढाँचाका मात्र हुन्थे । गत वर्ष कोहलपुर नगरपालिकाले दिएको ढकिया बुन्ने तालिमपछि चौधरीले नयाँ ढाँचाका बनाउन थालेकी हुन् ।

‘पुराना ढकिया बनाउन समय र सामग्री धेरै लाग्थ्यो,’ उनले भनिन्, ‘बनाउन पनि अप्ठ्यारो थियो ।’ परम्परागत ढकिया थारू समुदायले घरासयी कामकाजमा प्रयोग गर्थे । साथी, इष्टमित्रलाई उपहार दिन प्रयोग गरिन्थ्यो । यी बेचेर आम्दानी गर्ने चलन थिएन । सीप भए पनि त्यसलाई व्यावसायिक तुल्याउन सकिएको थिएन । तालिममा नयाँ तरिका सिकिन् । ‘नयाँ डिजाइनका बनाउन सजिलो छ । एकै दिनमा सकिन्छ,’ उनले भनिन्, ‘नयाँ डिजाइनका ढकिया आकर्षक भएकाले माग पनि बढिरहेको छ ।’ सीप पाएपछि कंग्रेसनी खुसी छन् । अहिले फूलदानी र ज्वेलरी डिजाइनको ढकिया बनाएकी छन् । ‘अब बर्खा सकियो,’ उनले भनिन्, ‘फुर्सदमा धेरै ढकिया बुन्छु । घरको काम पनि हुन्छ, आयआर्जन पनि ।’


यहाँको चपरगौडीकी सीता थारू गृहिणी हुन् । ढकिया बनाउन सिकेपछि उनी खुसी छन् । घरको काम सकेर बचेको खाली समयमा केही गर्न सकिन्छ भन्ने आशा जागेको उनले बताइन् । ‘तालिम सकिएपछि बर्खा लागेकाले खेतमै व्यस्त भएँ । दुईवटा मात्रै बनाएकी छु । अब खाली समयमा बनाउँछु,’ सीताले भनिन्, ‘घरमै बसेर काम पनि हुन्छ । पैसा पनि कमाइ भइरहेको छ ।’ आमाहरूले ढकिया बनाएको देखेकी कोहलपुर ५ की गीता चौधरी अहिले आफंै पनि बनाउन थालेकी छन् । ‘आमाहरूले एउटै डिजाइनका बनाउँँथे,’ उनले भनिन्, ‘हामीले फूलदानी, ज्वेलरी, डस्टबिन, खुत्रुकेजस्ता ८/१० डिजाइन सिकेका छौं । आकर्षक डिजाइन भएकाले बनाएपछि बेच्न समस्यै छैन ।’


अहिले धेरै बनाइनसकेकाले कति आम्दानी हुन्छ भन्न नसके पनि ढकिया बेचेर राम्रो आम्दानी हुनेमा गीता ढुक्क छिन् । गत जेठमा १० दिनसम्म चलेको आधारभूत ढकिया बुनाइ तालिम २४ जनाले लिएका थिए । तालिमपछि महिलाले बनाएका सामग्रीको बजारीकरणका लागि नगरपालिकाले यस वर्ष कोसेली घर निर्माण योजना ल्याएको छ । यसका लागि ४ लाख बजेट छुट्याइएको छ । हस्तकलाको बजारीकरण र व्यावसायिक बनाउन कोसेली घरको व्यवस्था गर्न लागेको नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले बताइन् । ‘यसले हस्तकलाको संरक्षणसँगै बजारीकरण पनि हुन्छ,’ उनले भनिन्, ‘महिलाले उत्पादन गरेका सबै सामान संकलन गरिदिँदा हौसला बढ्छ । उत्पादन बढ्छ अनि उनीहरूको आर्थिक अवस्थामा पनि सुधार आउँछ ।’


लोप हुन लागेको थारू हस्तकलाको संरक्षणमा तालिमले सहयोग गर्ने थारू अगुवा पतिरामले बताए । ‘एक त हाम्रो हस्तकलाको संरक्षण हुन्छ,’ उनले भने, ‘महिलाले सीप सिक्दा उनीहरू आर्थिक रूपमा सक्षम हुन्छन् ।’ थारू समुदायमा मात्रै उत्पादन गरिने ढकिया पछिल्लो समय लोप हुन थालेकाले ढकियाको संरक्षण र बजारीकरण गर्न तालिम एउटा राम्रो अवसर रहेको अध्यक्ष थारूले बताए । ‘थारू समुदायमा अलि पाको उमेरका महिलाले मात्रै ढकिया बनाएको देखिन्थ्यो,’ उनले भने, ‘तालिमपछि युवतीहरू पनि जुर्मुराएका छन् ।’

प्रकाशित : श्रावण १८, २०७५ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT